पर्यटन बोर्डले गर्यो निजी क्षेत्रका ५ प्रतिनिधिको स्वागत, बोर्डको भूमिका र प्रवद्धनबारे जानकारी

84
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नवनियुक्त बोर्ड सदस्यहरूलाई सोमबार एक कार्यक्रमका बीच स्वागत गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १ गते नियुक्त गरेका निजी क्षेत्रतर्फका पाँच जना कार्यकारी समितिका सदस्यहरूलाई बोर्डमा औपचारिक स्वागत गरिएको हो ।

स्वागतका क्रममा निमित्त कार्यकारी प्रमुख ऐरले बोर्ड स्थापनाको उद्देश्य, नीति तथा कार्यक्रम र हालसम्मका प्रमुख उपलब्धिबारे विस्तृत जानकारी गराएका थिए ।

उनले गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रम, बोर्डको वर्तमान संरचना, पर्यटन क्षेत्रका अवसर र चुनौतीबारे प्रकाश पार्दै नेपाल आरोग्य वर्ष २०२७ लाई सफल बनाउन बोर्डले गरिरहेको कार्यबारे पनि सदस्यहरूलाई अवगत गराए । सो अवसरमा बोर्ड र निजी क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै पर्यटन प्रवर्द्धनलाई परिणाममुखी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरियो ।

नवनियुक्त सदस्य सन्तोष पोखरेलले आगामी दिनमा नेपालको पर्यटन प्रवर्द्धनका लागि सबै पक्षसँग सहकार्य गर्दै नयाँ सोच र कार्यशैलीका साथ अघि बढ्ने बताए । उनले पर्यटन क्षेत्रमा निजी क्षेत्र महत्वपूर्ण कडी रहेको उल्लेख गर्दै हाल देखिएका अवरोध हटाएर उपलब्ध स्रोत–साधानको प्रभावकारी परिचालनमा जोड दिए ।

बोर्ड सदस्य सिर्जना केसीले सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत पर्यटन क्षेत्रलाई थप प्रतिस्पर्धी बनाउनुपर्ने बताउँदै निजी क्षेत्रका समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच सेतुको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले तथ्यमा आधारित नीति निर्माणका लागि अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।

बोर्ड सदस्य सहदेव धमलाले निजी क्षेत्रका समस्या समाधानमा बोर्डले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी आर्थिक वर्षको बजेट पर्यटन क्षेत्रको संरक्षण (प्रोटेक्सन), संवर्द्धन (प्रिजर्भेसन) र प्रवर्द्धन (प्रमोसन) अर्थात् तीन ‘पी’ मा केन्द्रित हुनुपर्ने धारणा राखे ।

अर्का सदस्य पेम्बा शेर्पाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्ति प्रक्रिया तत्काल अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै बोर्डका प्राथमिकताका कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

सदस्य डा. सोविता श्रेष्ठ ढकालले दिगो पर्यटन विकासका लागि गुणस्तर, अनुसन्धान र सुशासनलाई केन्द्रमा राखेर नीति तर्जुमा गर्नुपर्ने बताइन् । उनले पर्यटनको गुणस्तर अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रतिस्पर्धात्मक क्षमता मजबुत बनाउन बोर्डले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखिन् ।

स्वागत कार्यक्रमको समापनमा बोर्डका पदाधिकारी र नवनियुक्त सदस्यहरूले निजी क्षेत्रसँगको सहकार्यमार्फत नेपालको पर्यटन क्षेत्रलाई थप सुदृढ र प्रतिस्पर्धी बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।