इरानले गर्यो सात गुणा बढी ऊर्जा उत्पादन गर्ने ‘ब्लेडबिहीन’ वायु टर्बाइनको विकास

126
Shares

एजेन्सी । इरानले वायु ऊर्जाको क्षेत्रमा क्रान्तिकारी प्रविधिको विकास गरेको छ । यसले परम्परागत पंखा वा ब्लेडहरू बिना नै ऊर्जा उत्पादन गर्न सक्छ ।

यस नयाँ डिजाइनले परम्परागत ब्लेडहरूको सट्टा म्याग्नेटिक–लेभिटेसन रोटर (चुम्बकीय शक्तिले चल्ने) र एउटा बुद्धिमानी ३६०–डिग्री हावा मार्गनिर्देशन प्रणाली प्रयोग गर्छ । यस प्रविधिको मुख्य विशेषता भनेको जटिल य मेकानिजम (हावाको दिशा अनुसार टर्बाइन घुमाउने संयन्त्र) बिना नै हावाको ऊर्जालाई कुशलतापूर्वक ग्रहण गर्न सक्नु हो ।

अनुसन्धाताहरूका अनुसार, यस नयाँ टर्बाइनले परम्परागत डिजाइनको तुलनामा सात गुणा बढी ऊर्जा संकलन गर्न सक्छ ।
यस टर्बाइनको बनावट निकै लचिलो र प्रभावशाली छ जसमा एउटै टावरमा ठाडो रूपमा १० वटासम्म युनिटहरू एकमाथि अर्को खप्ट्याएर राख्न सकिन्छ । ब्लेडविहीन भएकाले यो टर्बाइन सञ्चालन हुँदा निकै शान्त हुन्छ र यसले परम्परागत टर्बाइनको तुलनामा निकै कम ठाउँ ओगट्छ ।

साथै, यसमा घुम्ने ब्लेडहरू नहुने भएकाले मर्मतसम्भारको खर्च कम हुनुका साथै ठूला ब्लेडहरूबाट हुन सक्ने सुरक्षा जोखिम पनि उल्लेख्य रूपमा घट्छ । यो प्रणाली निकै कम गतिको हावा अर्थात् प्रति सेकेन्ड २.५ देखि ३ मिटरको बहावमा पनि सञ्चालन हुन सक्छ जसले गर्दा हावा कम चल्ने क्षेत्रहरूमा पनि यसको प्रयोग सहज हुन्छ ।

यस नयाँ प्रविधिलाई नवीकरणीय ऊर्जाको ‘हाइब्रिड’ सेटअपका लागि सौर्य प्यानलहरूसँग पनि सजिलै जोड्न सकिन्छ जसले गर्दा घाम लागेको समयमा सोलार र हावा चलेको समयमा टर्बाइन दुवैबाट बिजुली निकाल्न सकिन्छ ।

हाल यो प्रविधि प्रोटोटाइप अर्थात् परीक्षणको चरणमा प्रवेश गरेको छ । यो परीक्षण सफल भएमा यसले विश्वव्यापी रूपमा स्वच्छ ऊर्जा उत्पादनको लागत घटाउन र दक्षता बढाउन एउटा कोसेढुंगा साबित गर्ने अपेक्षा गरिएको छ ।