
एजेन्सी । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दिपकेले अझै पनि अस्पतालमै रहेका अभियन्ता सोनाम वाङचुकको आग्रहपछि सोमबार बिहान आफ्नो भोक हडताल अन्त्य गरेका छन् ।
वाङचुककी पत्नी तथा शिक्षाविद् गीताञ्जली आङ्मोले जन्तर मन्तरको विरोध मञ्चबाट वाङचुकले दिपकेलाई अनशन तोड्न आग्रह गरेको घोषणा गरेपछि दिपकेले जुस पिएर अनशन तोडेका हुन् । वाङचुकले आन्दोलन जारी राख्न दिपकेलाई ऊर्जा आवश्यक पर्ने भन्दै सो आग्रह गरेका थिए ।
त्यसको लगत्तै, दिपके र आङ्मो संसद्तर्फको विरोध र्यालीमा सामेल भए । उनीहरूसँगै आत्महत्या गरेकी नीट परीक्षार्थी रिया कुमारीका पिता पनि सहभागी थिए ।
हजारौं सीजेपी समर्थकहरू सँगसँगै हिँडिरहँदा दिपके र आङ्मो संसद्तर्फ बिस्तारै गुडिरहेको एउटा सानो ट्रकमा चढे ।
लाउडस्पिकरमार्फत दिपकेले धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्छ भन्दै नारा लगाए । सीजेपीका एक प्रमुख अनुहार सौरभ दासले एक्समा एउटा पोस्ट गर्दै सरकारले वार्ताका लागि सम्पर्क गरेको बताएका छन् ।
‘अहिले बिहानको ११ः५२ बजेको छ र म र आशुतोष रंका ककरोच जनता पार्टीको तर्फबाट जेपी नड्डालाई भेट्न जाँदैछौं । सरकारले बिहान वार्ताका लागि आह्वान गरेको थियो र हाम्रा मागहरू प्रस्ट छन् भने युवाहरू पनि ठूलो संख्यामा भेला भएका छन्,’ उनले भने । दास र रंका वार्ताका लागि गएपछि र्यालीलाई केही समयका लागि रोकिएको थियो ।
दिल्ली प्रहरीले वाङचुकको स्वास्थ्य अवस्था र दिल्ली उच्च अदालतको निर्देशनलाई उद्धृत गर्दै उनलाई जन्तर मन्तरको विरोध स्थलबाट हटाएर सफदरजंग अस्पतालमा भर्ना गरेपछि दिपकेले शनिबारदेखि भोक हडताल सुरु गरेका थिए ।
नीट–यूजी लगायतका प्रतिस्पर्धी परीक्षाहरूको प्रश्नपत्र चुहावट भएको विरोधमा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै सीजेपीको आन्दोलनको हिस्सा स्वरूप वाङचुक २१ दिने भोक हडतालमा रहेका थिए । सीजेपीको आन्दोलनमा सहभागी हुन देशभरका हजारौं युवाहरू राष्ट्रिय राजधानी नयाँ दिल्ली आइपुगेका छन् ।
सोमबार बिहान आफ्ना मागहरू पूरा गराउन दबाब दिन हजारौं प्रदर्शनकारीहरू संसद्तर्फ अघि बढे । त्यहाँ मनसुन सत्र सुरु हुन लागेको छ ।
सुरक्षाका कारण दिल्ली मेट्रोका कम्तीमा पाँचवटा स्टेशनहरू बन्द गरिएका छन् । प्रदर्शनकारीहरूलाई संसद्सम्म पुग्न नदिने दृढ संकल्पका साथ दिल्ली प्रहरीले उक्त क्षेत्रलाई एउटा किल्लामा परिणत गरेको छ ।
दंगा नियन्त्रण उपकरण र अश्रुग्यासका गोलाहरूसहित करिब २ हजार सुरक्षाकर्मीहरू सम्मिलित अर्धसैनिक बलका ३२ वटा टोलीहरू मैदानमा तैनाथ छन् । यसका साथै प्रदर्शनकारीको संख्या बढेपछि घेराबन्दीलाई थप बलियो बनाउन दिल्ली प्रहरीले थप १४ सय प्रहरी जनशक्ति माग गरेको छ ।
यसअघि संसद्तर्फको र्याली सुरु हुनुभन्दा करिब चार घण्टा पहिले सीजेपीका प्रवक्ता आशुतोष रंकाले विरोध मञ्चमा चढेर प्रदर्शनकारीहरूले लगाउनुपर्ने नाराहरूको सूची सुनाएका थिए ।
‘हामी भारत माता की जय, इन्कलाब जिन्दाबाद र धर्मेन्द्र प्रधान राजीनामा देऊ भन्ने नाराहरू मात्र लगाउनेछौं । हामीसँग इतिहास लेख्न अझै चार घण्टा बाँकी छ र तपाईंहरूलाई उक्साउन खोज्ने मानिसहरू हुन सक्छन् तर हाम्रो आन्दोलन विगत ३० दिनदेखि शान्तिपूर्ण रहेको छ र र्याली पनि सोही रूपमा अगाडि बढ्नेछ,’ रंकाले चेतावनी दिएका थिए ।





प्रतिक्रिया