
एजेन्सी । बेलायतका सबैभन्दा ठूला सूचीकृत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूले गत वर्ष अहिलेसम्मकै उच्च पारिश्रमिक प्राप्त गरेका छन् । त्यसले गर्दा व्यवस्थापन र सामान्य कामदारबीचको आम्दानीको अन्तर विगत आठ वर्षयताकै सबैभन्दा फराकिलो बनेको छ ।
हाई पे सेन्टरले सार्वजनिक गरेको तथ्यांक अनुसार, एफटीएसी १०० कम्पनीका सीईओहरूको औसत पारिश्रमिक गत आर्थिक वर्षमा ५० लाख ६० हजार पाउन्ड पुगेको छ । यो अघिल्लो वर्षको ४६ लाख ६० हजार पाउन्डको तुलनामा ८.६ प्रतिशतको वृद्धि हो र यो हालसम्मकै उच्च कीर्तिमान हो ।
कोरोना महामारीको समयमा लकडाउनका कारण व्यवसायिक प्रदर्शनमा परेको असरले गर्दा सीईओहरूको तलब र बोनसमा व्यापक कटौती गरिएको थियो । तर, त्यसयता कार्यकारीहरूको पारिश्रमिक निरन्तर बढिरहेको छ । विश्लेषणका अनुसार, सूचीकृत कम्पनीका प्रमुखहरूको आम्दानी अहिले बेलायतका औसत पूर्णकालीन कामदारको तुलनामा १३० गुणा बढी छ जुन अघिल्लो वर्ष १२४ गुणा मात्र थियो । सन् २०१८ मार्च अन्त्यसम्म यो अनुपात १३७ पुगेयताकै यो सबैभन्दा ठूलो खाडल हो ।
हाई पे सेन्टरका अनुसार, एफटीएसी १०० कम्पनीहरूले गत आर्थिक वर्षमा पारिश्रमिकका लागि कूल ८५ करोड ६६ लाख पाउन्ड खर्च गरेका थिए जसमध्ये ५५ करोड पाउन्ड सीईओहरूको भुक्तानीमा मात्र खर्च भएको थियो । सन् २०११ मा द गार्डियनका पूर्व व्यापार सम्पादक डेबोराह हग्र्रेभ्सद्वारा स्थापित यो संस्थाले कामदारहरूको न्यायोचित तलबका लागि १५ वर्षसम्म अभियान चलाएपछि अब बन्द हुने तयारीमा छ ।
संस्थाका अन्तरिम निर्देशक एन्ड्रयू स्पेकले कार्यकारी र कामदारको तलबबीचको बढ्दो अन्तरलाई कार्यकारीहरूको बढ्दो पारिश्रमिकप्रति आँखा चिम्लनेहरूका लागि एउटा कडा चेतावनी भएको बताएका छन् । उनले नयाँ प्रधानमन्त्रीको आगमन र आर्थिक न्यायप्रतिको नयाँ चासोले आर्थिक असमानता र कम्पनीहरूको अतिशय खर्चलाई पुनः राजनीतिक एजेन्डाको प्राथमिकतामा ल्याउने आशा व्यक्त गरेका छन् ।
सोमबार कार्यभार सम्हाल्न लागेका नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले यसअघि नै अत्यधिक र अतिशय पारिश्रमिकका बारेमा सार्वजनिक बहस हुनुपर्ने बताएका छन् । उनले बढ्दो महँगीसँग जुधिरहेका परिवारहरूलाई सकेसम्म चाँडो राहत उपलब्ध गराउने वाचा समेत गरेका छन् । बेलायतको वार्षिक सर्वेक्षण अनुसार, यहाँका पूर्णकालीन कामदारको औसत तलब ३९ हजार पाउन्ड रहेको छ ।
प्रतिवेदनका अनुसार, एफटीएसी १०० कार्यकारीहरूलाई दिइने कुल रकम अघिल्लोपटकको १ अर्ब पाउन्डबाट घटेर ८५ करोड ७० लाख पाउन्डमा झरेको छ भने औसत तलब ६० लाख ९० हजार पाउन्डबाट ५८ लाख ९० हजार पाउन्डमा ओर्लिएको छ ।
हाई पे सेन्टरका अनुसार, यो गिरावट अघिल्लो वर्ष इन्जिनियरिङ फर्म मेलरोज इन्डस्ट्रिजले आफ्ना कार्यकारीहरूलाई दिएको २१ करोड २० लाख पाउन्डको असाधारण पुरस्कारका कारण देखिएको हो । तर, विश्लेषणमा समेटिएका ९४ वटा ठूला कम्पनीहरूमध्ये ६६ वटाले आफ्ना सीईओको पारिश्रमिक अघिल्लो वर्षको तुलनामा बढाएका छन् ।
तथ्यांक अनुसार दीर्घकालीन प्रोत्साहन भुक्तानी औसतमा एक–चौथाइले बढेर २७ लाख पाउन्ड पुगेको छ भने अल्पकालीन प्रोत्साहन भुक्तानी १४ प्रतिशतले बढेर १८ लाख पाउन्ड पुगेको छ । फर्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाका सीईओ पास्कल सोरियोट गत वर्ष १ करोड ७७ लाख पाउन्ड बुझ्दै सबैभन्दा बढी कमाउने सीईओ बनेका छन् ।
उनी विगत चार वर्षमध्ये तीन वर्ष सबैभन्दा बढी पारिश्रमिक पाउने प्रमुख व्यक्ति रहेका छन् । शीर्ष १० कमाउनेहरूको सूचीमा जीएसकेकी एम्मा वाल्म्सले एक मात्र महिला हुन् । उनले आफ्नो कार्यकालको अन्तिम वर्ष झन्डै ५० प्रतिशतको वृद्धिसहित १ करोड ५६ लाख पाउन्ड बुझेकी छन् ।
त्यस्तै, बेलायती बैंकहरूका लागि बोनस सीमा सम्बन्धी ईयूको नियम खारेज भएपछि बार्कलेजका सिईओ सी.एस. वेंकटकृष्णनले १ करोड ५० लाख पाउन्ड प्राप्त गरेका छन् । शीर्ष पाँचमा सेलका प्रमुख वाएल सावान, जसले नाफामा गिरावट आए पनि ६० प्रतिशतको तलब वृद्धिसहित १ करोड ३७ लाख पाउन्ड प्राप्त गरे र स्ट्यान्डर्ड चार्टर्डका बिल विन्टर्सले १ करोड २७ लाख पाउन्ड प्राप्त गरे ।
हाई पे सेन्टरले ठूला कम्पनीहरूले सीईओहरूमा गर्ने अतिशय खर्च बाँकी कर्मचारीहरूको तलब वृद्धि रोक्ने मूल्यमा भइरहेको तर्क गरेको छ । यस संस्थाले कम्पनीहरूको पारिश्रमिक निर्धारण प्रक्रियामा सुधार ल्याउन फ्याट–क्याट ट्याक्स (धनीहरूमाथि अतिरिक्त कर), बोर्ड सदस्यमा दुईजना कामदारलाई नियुक्त गर्ने र लेबर पार्टीको रोजगारी अधिकार विधेयकको पूर्ण कार्यान्वयन जस्ता सुधारका लागि आह्वान गरेको छ ।
स्पेकले लगातार चौथो वर्ष पनि सीईओहरूको तलब बढिरहेको र यो कामदारको तलब वृद्धिको तुलनामा निकै तीव्र रहेको बताउँदै यस्तो असमानताले वर्तमान आर्थिक मोडलप्रतिको विश्वास घटाउने चेतावनी दिएका छन् ।





प्रतिक्रिया