
काठमाडौं । एनआईसी एशिया क्यापिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलो पटक विदेशमा रहेका नेपालीहरूलाई लक्षित गरी ‘पर्सनल फाइनान्स एण्ड इन्भेष्टमेन्ट मास्टरक्लास’ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कतारको दोहास्थित ग्लोरिया होटल एण्ड सुइट्समा असार २६ गते यो कार्यक्रम आयोजना गरिएको हो । विशेषगरी खाडी मुलुकहरूमा वैदेशिक रोजगारीका लागि जाने नेपालीहरूको संख्या ठूलो रहेको र उनीहरूमा वित्तीय तथा पुँजी बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै क्यापिटलले यो कदम चालेको जनाएको छ ।
‘विदेशमा कमाऔं, नेपालमा सम्पत्ति बनाऔं’ भन्ने मुख्य नाराका साथ सञ्चालित यस कार्यक्रमका लागि क्यापिटलले ‘वे टु सक्सेस, इभेन्ट एण्ड ट्रेनिङ प्रोग्राम’ सँग सहकार्य गरेको थियो ।
कतारमा मात्र करिब ३ लाख ५० हजारभन्दा बढी नेपालीहरू कार्यरत रहेको तथ्याङ्कलाई मध्यनजर गर्दै उनीहरूलाई नेपाली पुँजी बजार र लगानीका अवसरहरूसँग जोड्न यो कार्यक्रम फलदायी हुने विश्वास लिइएको छ ।
कार्यक्रममा क्यापिटलका उच्च व्यवस्थापन तहका अधिकारीहरूले सहजीकरण गर्दै विभिन्न प्राविधिक तथा व्यावहारिक विषयमा जानकारी प्रदान गरेका थिए ।
मास्टरक्लासका क्रममा डायस्पोरा एकाउन्ट सोलुसन, एसआईपी, आईपीओ, सेयर बजार, डिम्याट र मेरो सेयर खाता खोल्ने प्रक्रियाका बारेमा विस्तृत छलफल गरिएको थियो । यसका साथै नेपाली पुँजी बजारमा सम्पत्ति व्यवस्थापन, विदेशमा रहेका नेपालीहरूका लागि नेपालमा उपलब्ध लगानीका अवसरहरू र ‘आइडिया टु आईपीओ’ जस्ता महत्त्वपूर्ण विषयहरूमा सहभागीहरूलाई जानकारी दिइएको थियो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले प्राथमिक सेयरमा आवेदन दिँदा ध्यान दिनुपर्ने कुराहरू र सामूहिक लगानी कोषका फाइदाहरूका बारेमा पनि कार्यक्रममा चर्चा गरिएको थियो ।
उक्त कार्यक्रममा कतारमा विभिन्न पेशा र व्यवसायमा संलग्न १४० जनाभन्दा बढी नेपालीहरूको उत्साहजनक र सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूलाई विदेशमा आर्जन गरेको धनलाई वैधानिक माध्यमबाट नेपाल पठाउने तरिका र नेपालको दोस्रो बजारमा कारोबार गर्दा अपनाउनुपर्ने सावधानीहरूका बारेमा समेत सचेत गराइएको थियो ।





प्रतिक्रिया