साउनमा पनि घटाए बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर

0
Shares

काठमाडौं । वाणिज्य बैंकहरूले साउन महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् ।

कर्जाको तुलनामा निक्षेपको वृद्धिदर लगातार उच्च हुँदा बैंकहरूमा अधिक तरलताको चाप छ । जसले गर्दा कोषको लागत घटाउन बैंकहरूले निरन्तर ब्याजदर घटाउँदै लगेका हुन् ।

चालुआर्थिक वर्षमा बैंकहरूको निक्षेप करिब १० खर्ब रुपैयाँले वृद्धि हुँदा कर्जा भने करिब ४ खर्ब रुपैयाँले मात्रै बढेको हो । कर्जाको मागमा सुधार नहुने र निक्षेप लगातार बढ्दा बैंकहरूमा अधिक तरलताको चाप बढ्दै गएको छ । जसले गर्दा निक्षेपको लागत घटाउन बैंकहरूले लगातार ब्याजदर घटाउँदै लगेका हुन् ।

नयाँ आर्थिक वर्षका लागि प्रकाशित गरिएको ब्याजदरमा तुलनात्मक रूपमा न्यून ब्याजदर प्रस्ताव गर्ने बैंकहरूले यथावत् राख्दा उच्च ब्याजदर दिँदै आएका राष्ट्रिय वाणिज्य, एनएमबि, ग्लोबल आईएमई लगायत बैंकले भने ब्याजदर घटाएका हुन् ।

नेपाल राष्ट्र बैंकले बचतको ब्याजदरमा एउटा न्यूनतम क्याप लगाएको छ । केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा उपलब्ध गराउँदै आएको छ । मौद्रिक नीतिमा निक्षेप संकलन दर २.७५ प्रतिशत तोकिएको छ । बचतको न्यूनतम ब्याजदर निक्षेप संकलन दरभन्दा कम भएका बैंकहरूले स्थायी निक्षेप सुविधा नपाउने व्यवस्था छ ।

सोही कारण बैंकहरूले बचतको ब्याजदर घटाउन सकेका छैनन् । जसले गर्दा लागत कम गर्न मुद्दती निक्षेपको अधिकतम ब्याजदर नै घटाएर ४ प्रतिशतभन्दा पनि तल झारेका हुन् ।

साउनका लागि २० मध्ये २ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा पनि तल झारेका थिए । साउनमा सिटिजन्स बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएर ४.९५ प्रतिशतमा झारेको छ ।

२० मध्ये साउनका लागि १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो ब्याजदर यथावत् राख्दा ६ बैंकले भने घटाएका छन् । कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन् ।

ब्याजदर घटाउने बैंकमा एनएमबि, कुमारी, स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स, ग्लोबल आईएमई र राष्ट्रिय वाणिज्य बैंक छन् ।

असारमा सर्वाधिक ४.७५ प्रतिशत ब्याजदर रहेको राष्ट्रिय वाणिज्य बैंकले साउनमा भने घटाएर ४ प्रतिशतमा झारेको छ । बैंकले साउनमा असारको भन्दा ०.७५ प्रतिशत बिन्दुले ब्याजदर घटाएर व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४ प्रतिशत ब्याजदर दिने भएको हो ।

साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा पनि कम हुनेमा सिटिजन्स, कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन् ।

कुमारी बैंकले ब्याजदर ३.९१ प्रतिशतबाट ३.८५ प्रतिशतमा घटाएको छ । त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.९५ प्रतिशतबाट ३.८५ प्रतिशतमा घटाएको छ । सिटिजन्स बैंकले पनि १.१ प्रतिशतबाट ३.९५ प्रतिशतमा घटाएको छ ।

हिमालयन, प्राइम, एनआईसी एशिया र लक्ष्मी सनराइज बैंकले भने साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर असारकै ४ प्रतिशतलाई निरन्तरता दिँदा राष्ट्रिय वाणिज्य बैंकले भने ४.७५ प्रतिशतबाट ४ प्रतिशतमा घटाएको हो ।

ग्लोबल आईएमई बैंकले पनि ४.५ प्रतिशतबाट ४ प्रतिशतमा घटाएको छ । एभरेष्ट र सिद्धार्थ बैंकले भने असारको ४.०५ प्रतिशत ब्याजदरलाई नै साउनमा पनि निरन्तरता दिएका छन् ।

नेपाल एसबिआई बैंकले ४.१ प्रतिशत, कृषि विकास बैंकले ४.१५ प्रतिशत, नेपाल बैंकले ४.२५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा र माछापुच्छ्रे बैंकले पनि ४.५ प्रतिशत ब्याजदरलाई नै साउनमा निरन्तरता दिएका हुन् ।

एनएमबि बैंकले भने ४.७५ प्रतिशतबाट ०.२५ प्रतिशत बिन्दुले घटाएर ४.५ प्रतिशत बनाएको हो । प्रभु र नबिल बैंकले पनि ४.५५ प्रतिशत ब्याजदरलाई नै साउनमा निरन्तरता दिएका छन् ।

बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाका लागि निक्षेपमा दिने ब्याजदर प्रकाशित गर्नुपर्छ । बिहीबार साउनका लागि दिने निक्षेपको ब्याजदर सार्वजनिक गर्दा असारको तुलनामा साउनका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.०९ प्रतिशत बिन्दुले घटाएका हुन् ।

असारमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.२६ प्रतिशत रहेकोमा साउनमा ४.१७ प्रतिशतमा झरेको छ ।

बचतको न्यूनतम ब्याजदर २.७५ प्रतिशतभन्दा कम गर्न नसक्ने भएपछि लागत घटाउन मुद्दती निक्षेपको ब्याजदर पनि घटाउँदै लगेका हुन् । मुद्दती निक्षेपमा २ वर्षदेखि १० वर्षका लागि बैंकहरूले ४ प्रतिशत वा सोभन्दा माथिको ब्याजदर प्रस्ताव गरे पनि छोटो अवधिको मुद्दती निक्षेपमा भने सबैजसो बैंकको ब्याजदर ४ प्रतिशतभन्दा तल छ ।

निक्षेप लगातार बढ्ने र सोही अनुसार कर्जा बढ्न नसक्दा राष्ट्र बैंकले निरन्तर तरलता खिचिरहेको छ । बैंकहरूले १३ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी तरलता राष्ट्र बैंकमा पार्क गरेका छन् ।