महिला उद्यमीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल गर्दै छन् ।

अबको केही बेरमा सुरू हुने उक्त बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिहरूबीच महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

​छलफलमा महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुँदैछन् ।

सरकारको सय दिन पूरा भएपछि प्रधानमन्त्री बालेनले निजी क्षेत्रका उद्यमी व्यवसायीसँग छलफललाई तीव्रता दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर्स अफ कमर्श नेपालका पदाधिकारी, निर्माण व्यवसायी, होटल तथा पर्यटन व्यवसायी लगायतसँग उनले छलफल गरिसकेका छन् ।

सरकार निजी क्षेत्रमैत्री रहेको र ढुक्कले लगानी गर्ने वातावरण सिर्जना गर्न लागिएकाले अगाडि बढ्न निजी क्षेत्रलाई उनले ढाडस दिँदै आएका छन् ।