
काठमाडौं । नेपाल सरकारले परिकल्पना गरेको ‘डिजिटल नेपाल फ्रेमवर्क’ यतिबेला कार्यान्वयनको महत्त्वपूर्ण चरणमा छ ।
सूचना र प्रविधिको उच्चतम प्रयोग गरी मुलुकको अर्थतन्त्रलाई आधुनिक, पारदर्शी र सुदृढ बनाउने लक्ष्यका साथ अघि सारिएको यो फ्रेमवर्कले सरकारी सेवादेखि वित्तीय कारोबारसम्मलाई डिजिटल बनाउने मार्गचित्र कोरेको छ ।
इन्टरनेट सेवाको पहुँच विस्तारसँगै डिजिटल बैंकिङ सेवा पनि सर्वसुलभ हुँदै गएको छ । अब डिजिटल बैंकिङ मात्रै नभएर नागरिकका दैनिक जीवनसँग जोडिएका सेवाहरू समेत नागरिकको हात हातमा पुगेका छन् ।
पछिल्लो समय सरकारी कारोबारहरू पनि क्रमशः डिजिटल प्रणालीमा आबद्ध हुँदै गएका छन् । जसले सरकारी राजस्व संकलन र भुक्तानी प्रक्रियालाई छिटो मात्र बनाएको छैन, भ्रष्टाचार न्यूनीकरण र सुशासनमा समेत ठूलो टेवा पुर्याएको छ ।
यही सरकारी नीति र आधुनिक बैंकिङको आवश्यकतालाई मध्यनजर गर्दै नबिल बैंकले सञ्चालनमा ल्याएको ‘एनबैंक’ नेपालको डिजिटल अर्थतन्त्र निर्माणमा एउटा बलियो खम्बाका रूपमा उभिएको छ ।
निजी क्षेत्रको पहिलो बैंकका रूपमा ४२ वर्षअघि स्थापना भएको नबिल बैंक डिजिटल अर्थतन्त्र निर्माणमा पुर्याएको योगदानमा समेत अग्रणी बैंकको रूपमा देखा परेको छ ।
विगत ४२ वर्षदेखि नबिल बैंकको मुटुमा धड्किरहेको केवल एउटा कुरा मात्र ‘विश्वास’ भएको र त्यही विश्वास नै अहिलेको नबिल रहेको बैंकका अध्यक्ष निर्वाण चौधरीको तर्क छ ।
‘आज नबिल बैंक ४२ वर्षको उत्कृष्ट यात्राको साक्षी बनिरहँदा म सम्पूर्ण ग्राहक, सेयरधनी, नियामक निकाय, साझेदार र हाम्रा समर्पित कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्दछु । यो विश्वास नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो र यो नै हाम्रो भविष्यको बलियो जग बन्नेछ,’ वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष चौधरीले भनेका थिए ।
नबिल अब विश्वास मात्रै नभएर नबिलको ‘एनबैंक’ नेपालको डिजिटल अर्थतन्त्रको एउटा महत्त्वपूर्ण खम्बाको रूपमा अगाडि बढेको छ । २२ डिसेम्बर २०२२ मा औपचारिक रूपमा सार्वजनिक गरिएको ‘एनबैंक’ एक मोबाइल बैंकिङ एप मात्र नभई नेपालको पहिलो पूर्ण डिजिटल बैंकिङ प्लेटफर्म हो ।
यसले बैंकिङ सेवालाई भौतिक शाखाको घेराबाट बाहिर निकालेर ग्राहकको हातमा पुर्याएको छ । आजको युगमा ‘सुविधा नै बैंकिङको नयाँ मुद्रा’ हो भन्ने मान्यता स्थापित भएको छ ।
अन्तर्राष्ट्रिय वित्तीय पहुँचको सन्दर्भमा एनबैंकले नेपाललाई विश्व बजारसँग जोडेको छ । एनबैंकको एनरेमिटमार्फत विश्वका १८८ देशमा रहेका नेपालीहरूले सुरक्षित रूपमा स्वदेशमा पैसा पठाउन सक्ने बैंकले जनाएको छ
मानिसहरू अब बैंक जान समय खर्चिनुको सट्टा आफ्नै कार्यस्थल वा घरमा बसेर सुरक्षित वित्तीय कारोबार गर्न चाहन्छन् । एनबैंकले यही सुविधालाई आफ्नो मूल मन्त्र बनाएको छ ।
यस प्लेटफर्ममार्फत ग्राहकले २४सै घण्टा, वर्षको ३६५ दिन नै खाता खोल्ने, केवाइसी अपडेट गर्ने, ऋण आवेदन दिने र अन्तर्राष्ट्रिय स्तरको भुक्तानी गर्ने जस्ता सेवाहरू प्राप्त गरिरहेका छन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली एनबैंकलाई एआई सञ्चालित सुपर एपको रूपमा विकास गर्ने बताउँछन् ।
‘एनबैंक सुरु गर्दा हाम्रो उद्देश्य ग्राहकलाई एउटै एकीकृत डिजिटल प्लेटफर्ममार्फत सरल, सहज र आधुनिक नियोबैंकिङ अनुभव प्रदान गर्नु थियो,’ ज्ञवाली भन्छन्, ‘अब हामी एनबैंकलाई बचत, कर्जा, रेमिट्यान्स, भुक्तानी, किनमेल र लगानीलगायत पैसासँग सम्बन्धित सम्पूर्ण आवश्यकता व्यक्तिगत रूपमा सम्बोधन गर्ने एआई–सञ्चालित सुपर एपका रूपमा विकास गर्दैछौँ ।’
डिजिटल भुक्तानी प्रणालीको सबैभन्दा ठूलो फाइदा भनेको आर्थिक कारोबारमा आउने पारदर्शिता हो । जब कुनै पनि कारोबार डिजिटल माध्यमबाट हुन्छ, त्यसको स्पष्ट अभिलेख रहने हुनाले कर छली रोक्न र औपचारिक अर्थतन्त्रको दायरा फराकिलो बनाउन मद्दत पुग्छ । एनबैंकले प्रवर्द्धन गरिरहेको नगदरहित कारोबारले समाजमा वित्तीय अनुशासन कायम गर्न र नोट छपाइमा हुने राज्यको खर्च घटाउन समेत योगदान पुर्याएको छ ।
बैंकका अध्यक्ष निर्वाण चौधरी विगत चार दशकमा नेपालको आर्थिक र औद्योगिक परिदृश्यमा ठूलो परिवर्तन भएको र नबिल बैंकले कहिल्यै पनि परिवर्तनको प्रतीक्षा नगरेको बरु सधैँ त्यसको नेतृत्व गरेको बताउँछन् ।
एनबैंक पनि आधुनिक बैंकिङको नेतृत्व गर्ने नबिलको पहल भएको उनले बताए । ‘हामीले आधुनिक बैंकिङको जग बसाल्यौँ । ‘एनबैंक’ एपमार्फत नेपालको पहिलो डिजिटल बैंकका रूपमा आफूलाई स्थापित गर्दै ग्राहकको बैंकिङ अनुभवलाई पूर्ण रूपमा बदल्यौँ,’ वार्षिकोत्सवको अवसरमा अध्यक्ष चौधरीले भनेका थिए, ‘नेपालकै पहिलो निजी वाणिज्य बैंक स्थापना गर्दै हामीले उद्योग र लगानीकर्ताका लागि नयाँ ढोका खोल्यौँ । आज नबिल बैंक नेपालको एकमात्र यस्तो वित्तीय समूह हो, जसले एउटै छानामुनि वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङसहितको पूर्ण वित्तीय इकोसिस्टम प्रदान गरिरहेको छ । हामीले नवप्रवर्तन केवल अपनाउने मात्र गरेका छैनौँ, यो नबिलको डीएनए मै छ ।’
सरकारले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने नीति लिएसँगै एनबैंकले आफ्ना ग्राहकलाई क्यूआर कोड भुक्तानी, अनलाइन बिल भुक्तानी र मोबाइल टप–अप जस्ता सुविधाहरू अत्यन्तै सरल ढंगले उपलब्ध गराएको छ । विशेष गरी एनबैंकको ‘ट्याप मी’ फिचरले त भुक्तानीको अनुभवलाई झन् सहज बनाएको छ, जहाँ ग्राहकले एपभित्र लगइन नै नगरी सुरुवाती प्रक्रिया पूरा गर्न सक्छन् र अन्तिममा सुरक्षा प्रमाणीकरण गरेर तुरुन्तै बिल तिर्न सक्छन् ।

डिजिटल माध्यमबाटै लगानीमा पहुँच पुर्याउँदै एनबैंक
एनबैंकले नेपाली नागरिकलाई लगानीको क्षेत्रमा पनि डिजिटल रूपमा जोडेको छ । सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) मा सहभागी हुन अब कुनै म्युचुअल फण्डको कार्यालय वा बैंक धाउनु पर्दैन । ग्राहकले एनबैंकमार्फत नै डिजिटल रूपमा एसआईपी दर्ता गर्न, विवरणहरू बुझाउन र नियमित किस्ता भुक्तानी गर्न सक्छन् । यसले मध्यम र न्यून आय भएका सर्वसाधारणलाई समेत पुँजी बजारमा सुरक्षित लगानी गर्न प्रोत्साहित गरेको छ ।
सेयर बजारमा सक्रिय लगानीकर्ताका लागि एनबैंकले नबिल स्टक डिलर (ब्रोकर नम्बर ७७) सँगको सहकार्यमा टीएमएस खाता खोल्ने र टीएमएस पोर्टलमा सिधै पहुँच पुर्याउने सुविधा दिएको छ । यसका साथै डिम्याट खाता र मेरोसेयरको नवीकरण शुल्क पनि एक क्लिकमै तिर्न सकिने व्यवस्थाले लगानीकर्ताको समय र लागत दुवै बचत गरेको छ ।
विश्वभरका नेपालीलाई जोड्न एनबैंकमै रेमिट सुविधा
अन्तर्राष्ट्रिय वित्तीय पहुँचको सन्दर्भमा एनबैंकले नेपाललाई विश्व बजारसँग जोडेको छ । एनबैंकको एनरेमिटमार्फत विश्वका १८८ देशमा रहेका नेपालीहरूले सुरक्षित रूपमा स्वदेशमा पैसा पठाउन सक्ने बैंकले जनाएको छ ।
यो सुविधाले हुण्डी जस्ता गैरकानुनी माध्यमलाई निरुत्साहित गरी रेमिट्यान्सलाई औपचारिक बैंकिङ प्रणालीमा ल्याउन मद्दत पुर्याएको छ । त्यस्तै, नेपाल र भारतबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई मध्यनजर गर्दै एनबैंकले क्रस–बोर्डर ट्रान्सफरको सुविधा पनि उपलब्ध गराएको छ, जसले दुई देशबीचको रकम स्थानान्तरणलाई सहज र पारदर्शी बनाएको छ ।
विदेश भ्रमणमा जाने नेपालीहरूका लागि लक्षित गरी १९० देशमा चल्ने ग्लोबल ई–सिम खरिद गर्ने सुविधा र अन्तर्राष्ट्रिय सपिङका लागि ५०० डलरसम्मको सीमा भएको भर्चुअल आईकार्ड (डलर कार्ड) को सुविधाले एनबैंक वास्तविक रूपमै एक ‘सुपर एप’ बनेको छ ।
एनबैंकको इकोसिस्टमलाई बचत, खर्च, कर्जा र रेमिट्यान्स गरी चार मुख्य भागमा बाँडिएको छ । बचत अन्तर्गत अनलाइन मुद्दती निक्षेप र खर्च अन्तर्गत विभिन्न युटिलिटी बिल भुक्तानीका सुविधाहरू छन् ।
कर्जाको क्षेत्रमा पनि एनबैंकले छिटो र छरितो सेवालाई प्राथमिकता दिएको छ । मुद्दती निक्षेपको धितोमा तुरुन्तै ऋण लिन सकिने देखि डिजिटल कर्जा र क्रेडिट कार्डका लागि अनलाइन आवेदन दिने सुविधाले ग्राहकको वित्तीय आवश्यकतालाई तत्कालै सम्बोधन गर्ने माध्यम एनबैंक बनेको छ । यसले नागरिकको हातमा बैंकिङ मात्रै होइन, सबै सुविधा नै प्रदान गरेको छ । नबिल इन्स्टलमेन्ट सेवामार्फत सामान खरिद गर्दा किस्ताबन्दीमा भुक्तानी गर्न सकिने सुविधा पनि एनबैंकमा छ ।
डिजिटल नेपाल फ्रेमवर्कको सफलताका लागि बैंकिङ क्षेत्रको डिजिटलाइजेसन अपरिहार्य छ । सरकारी निकायहरूले आफ्नो कर, दस्तुर र सेवा शुल्क डिजिटल माध्यमबाट लिन थालेसँगै एनबैंक जस्ता प्लेटफर्मले आम जनता र सरकारबीचको वित्तीय पुलको काम गरेका छन् ।
डिजिटल भुक्तानीले अर्थतन्त्रका हरेक इकाईलाई ट्रयाक गर्न सकिने बनाउँछ, जसले राष्ट्रिय आयको गणनामा शुद्धता ल्याउँछ र आर्थिक अनियमितताको जोखिम घटाउँछ । एनबैंकले आर्टिफिसियल इन्टेलिजेन्स र अत्याधुनिक सुरक्षा प्रणालीको प्रयोग गरेर ग्राहकको विवरण र धनराशिको सुरक्षालाई प्रत्याभूत गरेको दाबी नबिल बैंकको छ । हाल एनबैंक प्रयोगकर्ताको संख्या १० लाखभन्दा बढी पुगेको छ ।
एनबैंक प्रविधि र बैंकिङको फ्युजनले नेपाललाई एक आधुनिक र समृद्ध राष्ट्र बनाउने दिशामा अग्रसर गराएको छ । नबिल बैंकको एनबैंकले ‘सुविधा नै नयाँ मुद्रा हो’ भन्ने कुरालाई व्यवहारमा उतार्दै नगदरहित समाज निर्माणको लक्ष्यलाई मूर्तरूप दिइरहेको छ । अबको बैंकिङ भनेको केवल भवन र काउन्टर मात्र होइन, यो त नागरिकको हातमा रहेको मोबाइल र त्यसभित्रको एनबैंक जस्तै शक्तिशाली र सुरक्षित सफ्टवेयर हो, जुन कुराको पुष्टि एनबैंकले गरेको छ ।
बैंकका अध्यक्ष चौधरी पनि बैंकिङ इतिहासकै सबैभन्दा ठूलो रूपान्तरणकारी युग अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को युगमा बैंक प्रवेश गरेको बताउँछन् । ‘एआई केवल एउटा सामान्य प्रविधि मात्र नभई यसले निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन, व्यवसाय सञ्चालन र ग्राहकको वित्तीय अनुभवलाई नै पुनः परिभाषित गरिरहेको छ,’ चौधरी भन्छन्, ‘नबिल बैंकले यस परिवर्तनमा केवल सहभागी मात्र नभई यसको नेतृत्व गर्ने तयारी गरिसकेको छ । एनबैंकको अबको विकासमा एआईलाई केन्द्रविन्दुमा राखिनेछ । यसले बैंकिङ सेवालाई अझ स्मार्ट र व्यक्तिगत बनाउनेछ । यसबाट द्रुत कर्जा प्रवाह, उत्कृष्ट जोखिम व्यवस्थापन, बौद्धिक ग्राहक अनुभव, व्यापक वित्तीय समावेशीकरण र मजबुत सुरक्षा प्रणालीको विकास हुनेछ ।’
प्रविधि जतिसुकै बौद्धिक बने पनि नबिलको मूल उद्देश्य सधैँ मानवीय भावना र मूल्यमान्यतासँगै जोडिने उनले स्पष्ट पारे । बैंकिङ केवल वित्तीय कारोबार मात्र होइन, यो सपनाहरू साकार पार्ने, उद्यमीहरूलाई सघाउने, परिवारको भविष्य निर्माण गर्ने र नेपालको समृद्धिमा योगदान दिने माध्यम रहेको उनको तर्क छ ।






प्रतिक्रिया