
काठमाडौं । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको विनाशकारी युद्ध ३९ दिन चलेर युद्धविराम हुँदा विश्वले थोरै भए पनि राहतको सास फेर्न पाएको थियो । त्यसपछि गत जुन महिनामा हस्ताक्षर गरिएको समझदारीपत्रले स्याथी युद्धविरामको बाटो खोल्ने संसारले अपेक्षा गरेको थियो ।
तर, जुलाई ९ को बिहानैदेखि इरान र अमेरिकाबीच फेरि सुरु भएको प्रत्यक्ष सैन्य हमलाले उक्त समझदारीलाई कागजको खोस्टोमा परिणत गरिदिएको छ । अमेरिकाले इरानका करिब ९० वटा सैन्य लक्ष्यहरूमा बमवर्षा गरेपछि प्रत्युत्तरमा इरानले बहराइन, कुवेत र कतारमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको छ । त्यसले पश्चिम एसियालाई फेरि एकपटक ठूलो रक्तपातको संघारमा उभ्याएको छ ।
यस नयाँ द्वन्द्वको केन्द्रविन्दुमा हर्मुज जलयोजक रहेको छ । त्यो विश्व व्यापार र ऊर्जा आपूर्तिको मेरुदण्ड मानिन्छ । फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि गरेको प्रारम्भिक आक्रमणको प्रतिक्रियास्वरूप इरानले यो जलमार्ग अवरुद्ध गरेको थियो । अहिले पुनः आक्रमणको सिलसिलापछि इरानले हर्मुज जलयोजक बन्द गरिदिएको छ ।
जुनमा भएको समझदारी वास्तवमा अमेरिकाको एक किसिमको निराशाको उपज थियो किनकि जलमार्ग बन्द हुँदा विश्व बजारमा तेलको मूल्य अचाक्ली बढेको थियो र अमेरिकी अर्थतन्त्रमा समेत दबाब परेको थियो । उक्त समझदारीमा इरानले व्यावसायिक जहाजहरूको सुरक्षित मार्गका लागि प्रबन्ध मिलाउने अस्पष्ट प्रतिबद्धता जनाएको थियो । तर, त्यो प्रबन्ध कस्तो हुनेछ भन्ने स्पष्ट थिएन ।
इरानले हर्मुजमा आफ्नो सार्वभौम नियन्त्रण कायम राख्न र त्यहाँबाट गुड्ने जहाजहरूबाट शुल्क उठाउन पाउनुपर्ने अडान राख्दै आएको थियो ।
अर्कोतर्फ, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भने इरानले पूर्ण रूपमा आत्मसमर्पण गरेको र जलमार्ग युद्धपूर्वको अवस्थामा फर्किएको भन्दै प्रचारप्रसार गरिरहेका थिए । ट्रम्पको स्वैरकल्पना र वास्तविक यथार्थबीचको खाडल नै अहिलेको विस्फोटको मुख्य कारण बनेको देखिन्छ ।
जुलाई ९ को बिहानीपख अमेरिकी सेनाको सेन्ट्रल कमान्डले इरानका विभिन्न सैन्य अखडा, बन्दरगाह र सञ्चार केन्द्रहरूमा भीषण आक्रमण गरेको थियो ।
अमेरिकाले हर्मुज जलयोजकमा आफ्नो हस्तक्षेप बन्द नगरेमा खाडी क्षेत्रका कुनै पनि अमेरिकी सैन्य अखडाहरू सुरक्षित नरहने इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले स्पष्ट रूपमा भनेको छ
यो आक्रमण ओमानको तटमा इरानले केही व्यापारिक जहाजहरूलाई निशाना बनाएको बदलामा गरिएको अमेरिकाको दाबी छ । अमेरिकाको बमवर्षामा बुशहरस्थित आणविक ऊर्जा केन्द्र परिसर, चाबहार, बन्दर अब्बास र सिरिक जस्ता महत्त्वपूर्ण बन्दरगाह शहरहरू परेका छन् ।
इरानको स्वास्थ्य मन्त्रालयका अनुसार, दुई दिनको आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन् ।
तर, यो आक्रमण सैन्य अखडाहरूमा मात्र सीमित रहेन । अमेरिकाले पहिलोपटक इरानका रणनीतिक पुल र रेलमार्गहरूलाई समेत निशाना बनायो । त्यसले इरानको आन्तरिक यातायात र रुस तथा चीनसँगको व्यापारिक सम्पर्कलाई प्रत्यक्ष असर पारेको छ । गोलिस्तान प्रान्तको रेलवे पुलमा गरिएको प्रहारले अमेरिकाको दबाब रणनीति अब सैन्य मात्र नभएर पूर्ण आर्थिक नाकाबन्दीतर्फ लक्षित रहेको संकेत गर्छ ।
इरानको तर्फबाट भएको प्रतिक्रिया उत्तिकै आक्रामक र रणनीतिक देखिन्छ । इरानले अमेरिकाका क्षेत्रीय साझेदारहरू बहराइन, कुवेत र कतारलाई निशाना बनाएर यो युद्ध अब क्षेत्रीय स्तरमा फैलिन सक्ने चेतावनी दिएको छ । बहराइनमा अमेरिकी जलसेनाको फिफ्थ फ्लीटको मुख्यालय रहेको छ । त्यहाँ कम्तीमा दुईपटक हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेका थिए ।
अमेरिकाले हर्मुज जलयोजकमा आफ्नो हस्तक्षेप बन्द नगरेमा खाडी क्षेत्रका कुनै पनि अमेरिकी सैन्य अखडाहरू सुरक्षित नरहने इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले स्पष्ट रूपमा भनेको छ । इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धम्की दिनु र वाचा तोड्नुको मूल्य चुकाउनुपर्छ भन्ने कुरा अमेरिकाले अझै पनि बुझेको छैन । तिमीहरूले प्रहार गर्छौ भने चोट पनि पाउनेछौ ।’ यो भनाइले इरानी नेतृत्वमा रहेको प्रतिरोधको भावनालाई उजागर गर्छ ।
यस द्वन्द्वको अर्को गम्भीर पाटो भनेको इरानको आन्तरिक राजनीतिक संक्रमण र नेतृत्व परिवर्तन हो । फेब्रुअरी २८ को युद्धमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएपछि इरान अहिले शोक र नयाँ नेतृत्वको उदयको बीचमा छ ।जुलाई ९ मै मशहदमा खामेनेईको अन्त्येष्टि भइरहँदा अमेरिकाले बमवर्षा गर्नुलाई इरानीहरूले ठूलो अपमानका रूपमा लिएका छन् ।
नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेईले आफ्नो पहिलो सार्वजनिक सन्देशमा प्रतिशोध नै राष्ट्रको इच्छा भएको घोषणा गरेका छन् । मोज्तबाको उदयले इरानमा कट्टरपन्थीहरूको पकड अझ बलियो भएको देखाउँछ ।
इरान र अमेरिकाबीच अहिले भइरहेको द्वन्द्व विश्व व्यवस्थाको भविष्य र ऊर्जा सुरक्षाको परीक्षा पनि हो
इरानभित्रको एउटा तप्का (व्यावहारिकवादीहरू) अमेरिकासँग सम्झौता गरी अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाएर आर्थिक राहत प्राप्त गर्न चाहन्छ । तर, आईआरजीसी जस्ता कट्टरपन्थी समूहहरू हर्मुज जलयोजकमाथि स्थायी नियन्त्रण कायम गरी पश्चिमलाई घुँडा टेकाउन चाहन्छन् । अहिलेको आक्रमणले कट्टरपन्थीहरूलाई आफ्नो एजेन्डा स्थापित गर्न थप बल पुर्याएको छ।
ट्रम्पको भूमिका र उनको सञ्चार शैलीले यस संकटलाई झनै जटिल बनाएको छ । ट्रम्पले नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा इरानमा भएका विस्फोटका भिडियोहरू पोस्ट गर्दै ‘फेरि यस्तो भयो भने अवस्था अझ खराब हुनेछ’ भन्दै चेतावनी दिएका छन् । उनले इरानको बिजुली घर र पानी प्रशोधन केन्द्र लगायतका नागरिक पूर्वाधारमा आक्रमण गर्ने र इरानको मुख्य तेल उत्पादन केन्द्र खार्ग टापु कब्जा गर्ने धम्की समेत दिएका छन् ।
विश्लेषकहरूका अनुसार, ट्रम्पको यो रणनीति ‘शक्तिमार्फत शान्ति’ (पिस थ्रु स्ट्रेन्थ) स्थापना गर्ने उद्देश्यले प्रेरित देखिए पनि यसले इरानलाई वार्ताको टेबुलमा ल्याउनुको साटो झनै आक्रामक बनाइरहेको छ ।
हर्मुज जलयोजकमा जारी यस तनावले विश्व बजारमा तेलको मूल्यमा ठूलो उतारचढाव ल्याएको छ । युद्धअघि विश्वको कुल व्यापारिक तेल र ग्यासको २० प्रतिशत कारोबार यही साँघुरो जलमार्गबाट हुने गर्थ्यो । इरानले आफ्नो प्रस्तावित मार्ग प्रयोग नगर्ने जहाजहरूमाथि कारबाही गर्ने र अमेरिकाले इरानको उक्त कदमलाई स्वतन्त्र जलमार्गको उल्लंघन मान्ने अवस्थाले गर्दा कुनै पनि बेला ठूलो समुद्री युद्ध हुन सक्ने जोखिम बढेको छ ।
इरानले हर्मुजलाई ‘बन्द’ गर्ने घोषणा गरिसकेको छ र यसलाई अमेरिकाको क्षेत्रीय हस्तक्षेप अन्त्य नभएसम्म नखोलिने अडान लिएको छ । यस्तो अवस्थामा ओमान, पाकिस्तान र कतार जस्ता मध्यस्थकर्ता मुलुकहरूको प्रयास पनि फितलो साबित भइरहेको छ ।
प्रश्न उठ्छ– यो तनाव अझै बढ्दै जाने हो कि वा कुनै नयाँ समझदारी हुने हो ? यसको उत्तर दुवै पक्षको आन्तरिक आवश्यकता र रणनीतिक स्वार्थमा लुकेको छ । अमेरिकामा आगामी मध्यावधि चुनाव नजिकिँदै गर्दा ट्रम्पले आफूलाई बलियो नेताका रूपमा प्रस्तुत गर्न खोजिरहेका छन् । त्यसले गर्दा उनी तुरुन्तै पछि हट्ने पक्षमा देखिँदैनन् ।
तत्काल युद्धविराम र एकअर्काको सार्वभौमसत्ता तथा व्यापारिक अधिकारको सम्मान गर्दै नयाँ समझदारीमा पुग्नु नै अहिलेको आवश्यकता हो । कतार, पाकिस्तान र ओमान जस्ता मध्यस्थकर्ताहरूको भूमिका फेरि पनि महत्त्वपूर्ण छ
अर्कोतर्फ, इरानको अर्थतन्त्र प्रतिबन्ध र युद्धका कारण थिलथिलो भएको छ । इरानी जनतामा चरम बेरोजगारी र महँगीका कारण आक्रोश छ तर विदेशी आक्रमणले उनीहरूलाई राष्ट्रवादको नाममा पुनः सरकारको पछि उभिन बाध्य पारेको छ । अमेरिकाले इरानको तेल निर्यातको मुख्य स्रोत खार्ग टापुमा आक्रमण गरेमा इरानले पनि साउदी अरब र यूएईका तेल क्षेत्रहरूमा आक्रमण गरेर विश्व ऊर्जा संकट निम्त्याउन सक्छ ।
दुवै पक्षले एकअर्काको शक्ति परीक्षण गरिसकेपछि पुनः पर्दा पछाडिबाट वार्ता सुरु गर्न सक्ने सम्भावना पनि छ । इरानी अधिकारीहरूले केही आक्रमणहरूलाई भूलवश भएको भन्दै वार्ताको ढोका खुला राखेको संकेत पनि दिएका छन् ।
तर, ट्रम्पको अनिश्चित स्वभाव र इरानको नयाँ नेतृत्वमा रहेको बदलाको भावनाले गर्दा कुनै पनि समझदारी दिगो हुनेमा आशंका छ । ट्रम्पले विगतमा ओबामाकालीन आणविक सम्झौताबाट पछि हटेर विश्वासको संकट पैदा गरेका थिए । त्यसले गर्दा इरानले अब कुनै पनि लिखित सम्झौतालाई सजिलै पत्याउने अवस्था छैन ।
इरान र अमेरिकाबीच अहिले भइरहेको द्वन्द्व विश्व व्यवस्थाको भविष्य र ऊर्जा सुरक्षाको परीक्षा पनि हो । अमेरिकाले सैन्य बलको प्रयोग गरेर इरानमा सत्तापरिवर्तन वा पूर्ण आत्मसमर्पण गराउने लक्ष्य राखेको भए पनि त्यो अहिलेसम्म सफल हुन सकेको देखिँदैन । बरु, त्यसले पश्चिम एसियामा अमेरिकाका मित्र राष्ट्रहरूलाई जोखिममा पारेको छ र विश्व अर्थतन्त्रलाई अनिश्चिततातर्फ धकेलेको छ ।
ट्रम्प प्रशासनले इरानलाई पूर्ण रूपमा झुकाउन सकिने भ्रम त्यागेर ठोस कूटनीतिक पहल नगर्ने हो भने अहिलेको सानो सैन्य कारबाहीले क्षेत्रीय स्वरूप ग्रहण गर्ने सम्भावना पनि छ । इरानले पनि हर्मुज जलयोजकलाई बन्धक बनाएर विश्वलाई धम्काउनुको परिणाम अन्ततः आफ्नै विनाश हुन सक्ने कुरा बुझ्नु जरुरी छ ।
त्यसैले तत्काल युद्धविराम र एकअर्काको सार्वभौमसत्ता तथा व्यापारिक अधिकारको सम्मान गर्दै नयाँ समझदारीमा पुग्नु नै अहिलेको आवश्यकता हो । कतार, पाकिस्तान र ओमान जस्ता मध्यस्थकर्ताहरूको भूमिका फेरि पनि महत्त्वपूर्ण छ ।






प्रतिक्रिया