
काठमाडौं । देशमा बढ्दो बेरोजगारी र निराशाका कारण युवाहरू आत्मदाह जस्तो कठोर निर्णय लिन बाध्य भइरहेको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ।
जनपक्षीय ट्रेड युनियन महासङ्घको आयोजनामा भएको उक्त प्रदर्शनमा सहभागीहरूले सरकार र राजनीतिक नेतृत्वको कडा आलोचना गरेका छन्।
हालै गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनालाई लिएर युवाहरू सडकमा उत्रिएका हुन्।
प्रदर्शनकारीहरूले विगत र वर्तमानका प्रमुख राजनीतिक पात्रहरूलाई ‘श्री ३’ को संज्ञा दिँदै उनीहरूकै कारण युवाहरू मर्नु पर्ने स्थिति सिर्जना भएको आरोप लगाएका छन्।
विरोध प्रदर्शनका क्रममा युवाहरूले २०७८ मा प्रेम आचार्यलाई आत्मदाहको स्थितिमा पुर्याउन शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्व जिम्मेवार रहेको बताए।
त्यस्तै, वर्तमान समयमा आशा गरिएका भनिएका बालेन शाह, रवि लामिछाने र स्वर्णिम वाग्ले लक्षित गर्दै उनीहरूले अहिलेको परिस्थितिमा यी नेतृत्वले पनि युवाका समस्या समाधान गर्न नसकेको आरोप लगाए।
प्रदर्शनकारीले बोकेका प्लेकार्डहरूमा भनिएको थियो, ‘विगतमा देउवा-ओली-प्रचण्डले युवालाई निराश बनाए, आज बालेन-रवि-स्वर्णिमको समयमा पनि युवाले आत्मदाह नै रोज्नुपर्ने अवस्था किन ?’
महासंघले युवाहरूलाई आत्मदाह गर्न बाध्य पार्ने खालको वातावरण अन्त्य गर्न र देशमै मर्यादित रोजगारीको अवसर सिर्जना गर्न सरकारसँग जोडदार माग गरेको छ।
प्रदर्शनमा सहभागी एक युवाले भने, ‘हामीलाई आत्मदाह गर्ने परिस्थिति होइन, बाँच्ने आधार र काम गर्ने वातावरण चाहिन्छ। सरकारले युवाको रगतमा राजनीति गर्न बन्द गरोस्।’
देशमा पछिल्लो समय आर्थिक संकट र चरम बेरोजगारीका कारण युवाहरूमा मानसिक तनाव र निराशा बढ्दै गएको छ। यस्ता घटनाहरू दोहोरिनु राज्यको असफलता भएको प्रदर्शनकारीहरूको ठहर छ।






प्रतिक्रिया