
विराटनगर । ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट पूर्ण रूपमा क्षति भएको भाटभटेनी सुपर मार्केटको विराटनगर शाखा शनिबारदेखि पुनः सञ्चालनमा आएको छ ।
गत वर्षको भदौ २३ र २४ गते भएको उक्त आन्दोलनका क्रममा खरानी भएको यो स्टोर करिब ११ महिनाको पुनर्निर्माणपछि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ।
शनिबार बिहान भाटभटेनीकी सञ्चालिका सावित्री गुरुङले वैदिक सनातन पद्धतिअनुसार पूजापाठ गरी स्टोरको नयाँ सुरुवात गरेकी हुन् । पुनर्निर्माणका क्रममा अहोरात्र खटिएका करिब ३०० मजदुर र कामदारलाई सञ्चालिका गुरुङले खादा ओढाएर र नगद पुरस्कारसहित सम्मानसमेत गरेकी थिइन् ।
पुनर्निर्माणका क्रममा कम्पनीले पुरानो संरचनालाई मात्र मर्मत नगरी यसलाई अझ अत्याधुनिक बनाएको जनाएको छ । स्टोरमा आधुनिक सुरक्षा प्रणाली, अत्याधुनिक विद्युतीय पूर्वाधार र ग्राहकमैत्री डिजाइन थपिएको छ । यसअघि आन्दोलनका क्रममा भवन, विद्युतीय प्रणाली, फर्निचर र करोडौँ मूल्यका सामग्री पूर्ण रूपमा नष्ट भएका थिए ।
विराटनगर शाखा पुनः सञ्चालनमा आएसँगै सस्तो सामान खोज्दै सीमावर्ती भारतीय बजार जोगवनी पुग्ने नेपाली उपभोक्ताहरूको भीड कम हुने विश्वास गरिएको छ । पछिल्लो समय स्थानीय प्रशासनले सीमाबाट सामान ल्याउन कडाइ गरेपछि मारमा परेका उपभोक्ताका लागि भाटभटेनीको पुनरागमनले सहजता थपेको छ ।
जेनजी आन्दोलनका क्रममा देशभर रहेका भाटभटेनीका २८ शाखामध्ये १२ वटा पूर्ण रूपमा ध्वस्त भएका थिए भने ९ वटामा व्यापक लुटपाट र क्षति पुगेको थियो । यसबाट कम्पनीलाई करिब १० अर्ब ८५ करोड रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
यति ठूलो आर्थिक भार परे पनि अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले कुनै पनि कर्मचारीलाई नहटाउने र बन्द रहेको समयको पनि तलब उपलब्ध गराउने घोषणा गरेका थिए । सोही प्रतिबद्धता अनुसार कर्मचारीको रोजगारी सुरक्षित राख्दै शाखा सञ्चालनमा ल्याइएको हो ।
विराटनगर शाखा पुन: सञ्चालनमा आउने आठौँ शाखा हो । यसअघि काठमाडौँको कोटेश्वर, महाराजगन्ज, बौद्ध तथा चितवन, पोखरा लगायतका शाखाहरू सञ्चालनमा आइसकेका छन् । आन्दोलनका क्रममा सुनसरीको इटहरी शाखालाई भने स्थानीयले नै सुरक्षा दिएर जोगाएका थिए ।
व्यवस्थापनका अनुसार आगामी भदौसम्ममा पूर्वको विर्तामोड र धरानसहित काठमाडौँको टंगाल शाखा सञ्चालन गर्ने तयारी छ । त्यसलगत्तै हेटौँडा र दमकका शाखाहरू पनि पुनः सञ्चालनमा ल्याइने व्यवस्थापकले जानकारी दिएका छन् ।






प्रतिक्रिया