डलरको भविष्य र रोबोटिक्समा अमेरिका–चीन युद्ध

49
Shares

एजेन्सी । केही महिनाअघि विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कले डरलाग्दो कुरा भनेका थिए, ‘कृत्रिम बुद्धिमत्ता (एआई) र रोबोटहरू आएनन् भने अमेरिका हजारपटक टाट पल्टिनेछ । यो ऋण समाधान गर्ने अरू कुनै उपाय छैन ।’

विश्वकै शक्तिशाली राष्ट्रको बारेमा यस्तो टिप्पणी आउनु सामान्य कुरा होइन । अमेरिकाको राष्ट्रिय ऋण अहिले ३९० खर्ब डलर पुगिसकेको छ । अवस्था यस्तो छ कि अमेरिकाले आफ्नो सैन्य शक्तिमा गर्ने खर्चभन्दा बढी ऋणको ब्याज तिर्नमा खर्च गरिरहेको छ । यति ठूलो ऋण कहिल्यै तिरेर सकिँदैन । यसबाट उम्किन मात्र सकिन्छ ।

अमेरिकाले यो ऋणको जालबाट उम्किन पुरानै चाल फेरि चल्न खोज्दैछ जुन उसले ४० वर्षअघि जापानसँग खेलेको थियो । सन् १९८५ मा विपक्षी जापान थियो, यसपटक चीन छ । यो ऋणबाट उम्किने एउटै उपाय छ— डलरको अवमूल्यन ।

ऋण डलरमा छ । त्यसैले डलरको मूल्य जति घट्छ, ऋणको वास्तविक भार पनि त्यति नै कम हुँदै जान्छ । त्यसैले ट्रम्प भन्छन्, ‘मलाई बलियो डलरको वास्ता छैन ।’

तर, डलरको मूल्य घटाउँदा महँगी बढ्छ र मानिसहरू गरिब हुन्छन् । इतिहासले देखाउँछ, अमेरिकाले यो खेल पहिले पनि खेलिसकेको छ ।

सन् १९८५ मा जापान विश्वको कारखाना थियो । कार, इलेक्ट्रोनिक्स र चिप्समा जापानले अमेरिकालाई उछिनेको थियो । अमेरिकी कम्पनीहरू जापानी उत्पादनसँग प्रतिस्पर्धा गर्न असमर्थ थिए । त्यसपछि अमेरिकाले न्युयोर्कको प्लाजा होटलमा जापानलाई एउटा कुनामा उभ्याएर भन्यो, ‘कि त आफ्नो मुद्राको मूल्य बढाऊ, कि भारी भन्सार शुल्क भोग्न तयार होऊ ।’

जापान डरायो र सहमत भयो । परिणामस्वरूप, जापानी येन महँगो भयो र उसको निर्यात ध्वस्त भयो । जापानले आफ्नो अर्थतन्त्र बचाउन ब्याजदर शून्यमा झार्यो जसले घरजग्गा र सेयर बजारमा ठूलो फोका बनायो । त्यो फोका फुटेपछि जापानको हराएको ३० वर्ष सुरु भयो र ऊ कहिल्यै पुरानो चमकमा फर्कन सकेन ।

अहिले डोनल्ड ट्रम्प ठ्याक्कै त्यही कदम चाल्दैछन् । उनको उद्देश्य पनि डलरको मूल्य घटाउनु र प्रतिस्पर्धीको मुद्राको मूल्य बढाउन बाध्य पार्नु हो । ट्रम्पको हतियार पनि उही भन्सार शुल्क नै हो ।

सन् २०२५ मा उनले ‘स्वतन्त्रता दिवस’ भन्सार शुल्क लागू गरेर अमेरिका भित्रिने लगभग हरेक सामानमा कर लगाए । उनको सन्देश प्रस्ट छ, ‘कि त अमेरिकामा आएर सामान बनाऊ, कि त कर तिर ।’

यसपटकको सम्झौतालाई ट्रम्पको टोलीले मार–ए–लागो एकर्डको नाम दिएको छ । त्यसले सिधै सन् १९८५ को प्लजा एकर्डलाई स्मरण गराउँछ ।

यो दबाबले काम गर्न थालिसकेको छ । हालै टोयोटाले मेक्सिकोमा बनाउने भनिएको आफ्नो चर्चित ट्रक अब टेक्ससमा बनाउने घोषणा गरेको छ । त्यसमा ३.६ अर्ब डलरको लगानी हुनेछ । मेक्सिकोमा बनाउँदा २५ प्रतिशत कर लाग्ने भएकाले टोयोटा पछि हट्न बाध्य भयो ।

त्यसैगरी स्टेलान्टिसले अमेरिकामा १३ अर्ब डलरको लगानी गर्ने भएको छ भने फर्मा क्षेत्रका दिग्गज कम्पनीहरू पनि आफ्ना कारखाना अमेरिका सार्दैछन् ।

तर सन् १९८५ र अहिलेमा एउटा ठूलो भिन्नता छ । त्यसबेला जापान अमेरिकाको सुरक्षामा निर्भर थियो र नाइँ भन्न सक्ने अवस्थामा थिएन ।

अहिलेको चीन अमेरिकाको अगाडि घुँडा टेक्ने पक्षमा छैन । उससँग बदला लिन सक्ने आफ्नै ठूलो बजार र शक्ति छ ।

यहीँनेर इलोन मस्कको रोबोट सिद्धान्त आउँछ । डलरको मूल्य घटाउँदा महँगीले जनतालाई थिच्छ । यसबाट बच्न मस्कको समाधान रोबोटिक्स हो । रोबोटहरूले दिनरात नथाकी उत्पादन गर्दा बजारमा सामानको थुप्रो लाग्नेछ र जति पैसा छापे पनि महँगी बढ्ने छैन ।

मुद्राको मूल्य घटे पनि सामान सस्तो हुने भएकाले जीवनयापन महँगो हुने छैन । त्यसैले मस्क भन्छन्, ‘रोबोट बिना हामी डुब्नेछौं ।’

ट्रम्पले पनि यही योजना अनुसार केभिन वार्शलाई फेडरल रिजर्भको जिम्मा दिएका छन् । उनले एआईको आगमनले पैसा छापे पनि महँगी नबढ्ने तर्क गरिरहेका छन् ।

ट्रम्पले डलरको मूल्य घटाउने, वार्शले पैसा छाप्ने र मस्कले रोबोट बनाउने— यो योजना पूर्ण देखिन्छ । तर, यसका दुईवटा ठूला कमजोरी छन् । पहिलो, चीन जापान जस्तो लाचार छैन । दोस्रो, यो योजनाको मेरुदण्ड मानिएको रोबोटिक्समा चीन धेरै अगाडि छ । हाल विश्वका ९० प्रतिशत ह्युमनोइड रोबोट चीनले बनाउँछ ।

कसैले सामाजिक सञ्जालमा चीनको यो वर्चस्वको बारेमा लेखेपछि मस्कले एउटै जवाफ दिए, ‘अहिलेका लागि मात्र ।’

मस्कको यो छोटो जवाफमा अमेरिकाको अन्तिम आशा लुकेको छ । अमेरिकाले रोबोटिक्सको दौडमा चीनलाई उछिन्न सकेन भने उसको यो सम्पूर्ण आर्थिक योजना तासको महल जस्तै ढल्नेछ ।

४० वर्षअघि अमेरिकाले जापानलाई हराएको थियो तर यसपटक उसले यस्तो प्रतिद्वन्द्वीसँग खेल्दैछ जसले अमेरिकालाई आवश्यक पर्ने रोबोटहरू आफैं बनाइरहेको छ । ट्रम्पले पुरानै चलचित्रको रिमेक त बनाउँदैछन्, तर यसपटक पटकथा उनले मात्र लेखिरहेका छैनन् ।