
एजेन्सी । ग्रीसबाट जर्मनीका लागि उडेको रायनएयरको एउटा विमानमा मध्य आकाशमै झ्यालको सिसा फुटेर बाहिरिएपछि एक यात्रु झण्डै विमान बाहिर तानिएका छन् ।
प्रत्यक्षदर्शी र अधिकारीहरूका अनुसार, झ्याल बाहिर आधा शरीर पुगिसकेका ती यात्रुलाई अन्य सहयात्रीहरूले भित्र तानेर ज्यान जोगाएका थिए ।
समाचार एजेन्सी एएफपीका अनुसार, सर्बियाका ती यात्रु ग्रीसको थेसालोनिकीबाट जर्मनीको मेमिन्जेनका लागि उडेका थिए । झ्यालबाट बाहिर तानिँदा घर्षणका कारण शरीरमा घाउ लागेपछि उनलाई अस्पताल भर्ना गरिएको छ यद्यपि उनको अवस्था अहिले सामान्य रहेको अधिकारीहरूले बताएका छन् ।
रायनएयरले यस घटनालाई झ्याल छुट्टिएको संज्ञा दिँदै विमानलाई उडेको केही समयमै थेसालोनिकी फर्काइएको जानकारी दिएको छ ।
घटनापछि सार्वजनिक भएका तस्बिर र भिडियोहरूमा विमानको छतबाट अक्सिजन मास्कहरू झुण्डिएका र झ्यालको एउटा भाग क्षतविक्षत भएको देखिएको छ । रेडियो थेसालोनिकीसँग कुरा गर्दै एक सहयात्रीले अधिकांश यात्रुहरू निदाइरहेको बेला अचानक बम विस्फोट भएको जस्तो ठूलो आवाज आएको बताइन् ।
‘हामीमध्ये धेरैजना आँखा चिम्लेर सुतिरहेका थियौं । अचानक टायर पड्किएको जस्तो ठूलो आवाज आयो,’ ती यात्रुले भनिन् ।
‘हामीले तुरुन्तै थाहा पायौं, विमानमा हावाको चाप कम भयो । मानिसहरू चिच्याउन थाले… एक क्षणका लागि मलाई कसैले आकस्मिक ढोका त खोलिदिने होइन भन्ने डर लाग्यो,’ उनले थपिन् । ती प्रत्यक्षदर्शीका अनुसार, अचानक हावाको चाप घटेपछि विमानको छतबाट अक्सिजन मास्कहरू खसेका थिए र क्याबिनमा एउटा कडा गन्ध फैलिएको थियो ।
‘एकजना यात्रुको टाउको र काँध झ्याल बाहिर पुगिसकेको थियो । भाग्यवश उनले सिट बेल्ट खोलेका थिएनन्,’ ती यात्रुले भनिन् । नजिकै बसेका अन्य यात्रुहरू तुरुन्तै उनको सहयोगका लागि पुगे र उनलाई तानेर विमानभित्र ल्याए ।
ग्रीक सञ्चारमाध्यमहरूका अनुसार, यो घटना उत्तर म्यासेडोनियाको आकाशमाथि भएको थियो । विमानको इन्जिनबाट निस्किएको कुनै टुक्राले झ्यालमा लागेर क्षति पुगेको हुन सक्ने अनुमान गरिएको छ ।
रायनएयरले विमान सफलतापूर्वक ग्रीस फर्किएको पुष्टि गरेको छ । एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उडानका क्रममा झ्याल छुट्टिएपछि विमान थेसालोनिकी फर्किएको थियो । विमान सामान्य रूपमा अवतरण भयो र यात्रुहरूलाई टर्मिनलमा लगियो ।’
एयरलाइन्सले बाँकी यात्रुहरूलाई मेमिन्जेन पुर्याउन अर्को वैकल्पिक विमानको व्यवस्था गरेको पनि जानकारी दिएको छ । यो विमान बोइङ ७३७ रहेको बताइएको छ ।
अधिकारीहरूले अहिले झ्याल कसरी उप्कियो र यसमा इन्जिनको खराबी वा बाह्य वस्तुको प्रभाव थियो कि थिएन भन्ने बारेमा अनुसन्धान गरिरहेका छन् ।






प्रतिक्रिया