प्रधानमन्त्री बनेपछि पहिलोपटक उद्योगी-व्यवसायीहरूसँग छलफल गर्दै बालेन


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज उद्योगी-व्यवसायीसँग छलफल गर्दैछन् ।

छलफलका लागि उद्योगी-व्यवसायीलाई बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ ।

निजी क्षेत्रका प्रतिनिधिसँगको यो उच्चस्तरीय बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकार–निजी क्षेत्रबीचको सहकार्यका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर्स अफ कमर्सका पदाधिकारीहरूलाई प्रधानमन्त्रीको कार्यालयमा बोलाइएको हो ।

बैठकमा निजी क्षेत्रको नेतृत्व गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई)का अध्यक्ष अन्जन श्रेष्ठ र महासङ्घकोे उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घ सङ्घ (सिएनआई)का निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्स (एनसिसी)का अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी हुने कार्यक्रम छ ।

बजेट तथा मौद्रिक नीति सार्वजनिक गरिसकेपछि प्रधानमन्त्रीले निजी क्षेत्रसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री भएपछि बालेनले पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले आफूहरुका दुखेसो नसुनेको भन्दै उद्योगी व्यवसायीहरुले गुनासो गर्दै आएका थिए ।

अहिले बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था र न्यून ब्याजदर हुँदा समेत निजी क्षेत्रले कर्जाको माग गर्न सकेको छैन । जसले गर्दा चालु आर्थिक वर्षको मौद्रिक नीतिले १२ प्रतिशत कर्जा निजी क्षेत्रतर्फ बढाउने लक्ष्य लिएकोमा त्यसको आधामात्रै कर्जा प्रवाह भएको छ ।

अर्कोतर्फ, निजी क्षेत्रले २०८२ भदौ २३ र २४ को आन्दोलनमा क्षतिग्रस्त भएपछि मनोबल कमजोर भएको बताउँदै आएको छ । सुरक्षाको प्रत्याभूति गर्नुपर्ने, व्यवसायीहरूमाथि विभिन्न छानबिन गर्दा पहिले सुन्ने अनि दोषी देखिए थुन्ने नीति लिनुपर्ने लगायतका माग निजी क्षेत्रको छ ।