माइक्रोसफ्टले एकैदिन हटायो ४८०० कर्मचारी, एक्सबक्सबाट मात्र १६०० जनाले गुमाए जागिर !

189
Shares

एजेन्सी । माइक्रोसफ्टले सोमबार आफ्ना कुल विश्वव्यापी कर्मचारीहरूको २.१ प्रतिशत अर्थात् करिब ४८०० कर्मचारीहरूलाई हटाएको छ ।

यो पछिल्लो समय प्रविधि क्षेत्रमा भइरहेको कर्मचारी कटौतीको शृङ्खलाको एउटा महत्वपूर्ण कदम भएको विश्लेषण गरिएको छ ।

कर्मचारी कटौतीको मुख्य मार माइक्रोसफ्टको ‘एक्सबक्स’ र ‘कमर्सियल सेल्स’ विभागमा परेको छ । माइक्रोसफ्टका अनुसार एक्सबक्सबाट मात्र १६०० कर्मचारीहरूले सोमबार जागिर गुमाएका छन् ।

माइक्रोसफ्टकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख मानव संसाधन अधिकृत एमी कोलम्यानले लेखेकी छिन्,’हाम्रो व्यवसाय परिवर्तन भइरहेको छ किनभने हाम्रो वरपरको संसार बदलिरहेको छ । प्रविधिको निर्माण र प्रयोग गर्ने तरिका मेरो यहाँको कार्यकालमा कहिल्यै नभएको गतिमा रूपान्तरण भइरहेको छ । हाम्रा ग्राहकका आवश्यकता र व्यापारिक मोडेलहरू परिवर्तन भइरहेका छन्, जसको अर्थ हाम्रो काम गर्ने शैली र संगठन पनि परिवर्तन हुनुपर्छ ।’

कोलम्यानले एआईले काम गर्ने तरिका भने बदलिरहेको बताएकी छन् ।

माइक्रोसफ्टले हालै ‘फ्रन्टियर कम्पनी’ नामक नयाँ बिजनेस युनिट स्थापना गरेको छ, जसमा २.५ बिलियन डलर लगानी गरिएको छ ।

यो युनिटले एआई प्रविधिको प्रयोग र विकासमा ध्यान दिनेछ । धेरै विश्लेषकहरूका अनुसार, रोजगारी कटौती र एआईमा लगानी बढ्नुबीच सीधा सम्बन्ध देखिएको छ ।

एक्सबक्सकी सीईओ आशा शर्माले यसलाई एक्सबक्सको इतिहासकै सबैभन्दा ठूलो पुनर्संरचना भनेकी छिन् ।

उनका अनुसार एक्सबक्सको हालको व्यवसाय स्वस्थ छैन र यसको मुनाफा दर अन्य प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा ३ देखि १० गुणा कम छ ।

गेम पास जस्ता सेवाहरूले अपेक्षित गति लिन नसकेको र गेमिङ उद्योगले इतिहासकै गम्भीर ‘हार्डवेयर संकट’ झेलिरहेको उनले उल्लेख गरिन् ।

सन् २०२६ को पहिलो ६ महिनामा मात्रै टेक उद्योगमा करिब १ लाख ५४ हजार मानिसले जागिर गुमाएका छन् । मेटा, ओराकल, अमेजन र कग्निजेन्ट जस्ता ठूला कम्पनीहरूले पनि हजारौँको संख्यामा कर्मचारी कटौती गरेका छन् ।

माइक्रोसफ्टले भने कर्मचारीहरूलाई नयाँ सीप सिकाएर अन्य भूमिकाहरूमा व्यवस्थापन गर्ने प्रयास गरिरहेको बताएको छ । कोलम्यानका अनुसार, गत वर्ष ४,००० भन्दा बढी कर्मचारीहरूलाई कम्पनीभित्रै नयाँ भूमिकाहरूमा स्थानान्तरण गरिएको छ ।