अमृत लगायतका तेल बेच्ने अन्नपूर्ण भेजिटेबलले एकै वर्ष गर्‍यो १३ अर्बको व्यापार


काठमाडौं । अन्नपूर्ण भेजिटेबल प्रोडक्टले एकै वर्ष करिब १३ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आवमा १२ अर्ब ९० करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२४ मा ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ र सन् २०२४ मा ६ अर्ब ९८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको कारोबार गत आवमा २४४ प्रतिशतले वृद्धि भएको छ । गत आवमा उच्च मात्रामा कारोबार हुँदा आम्दानी बढेको उल्लेख छ ।

कम्पनीअनुसार गत आवमा भारत सरकारले कच्चा तेलमा बढाएको भन्सार दरले गर्दा नेपाली तेल उद्योगलाई फाइदा गरेको जनाएको छ । त्यसैगरी, कम्पनीले चालु आवको ११ महिनाको अवधिमा १२ अर्ब ५३ करोड रुपैयाँको कारोबार गरिसकेको छ । कम्पनीले गत आवमा ५.८५ प्रतिशत नाफा मार्जिन कायम गरेको छ । सन् २०२४ र २०२३ मा नाफा मार्जिन नकारात्मक थियो ।

कम्पनीको कुल नगद सञ्चयमा पनि सुधार आएको छ । सन् २०२४ मा नकारात्मक रहेको कुल नगद सञ्चय गत आवमा ३७ करोड ६० करोड रुपैयाँ पुगेको छ । कम्पनीको पुँजी संरचना अझै पनि अत्यधिक ऋणमा निर्भर रहेको छ । कम्पनीको समग्र गियरिङ अनुपात १३.८६ गुणा रहेको छ । सन् २०२४ मा गियरिङ अनुपात ऋणात्मक थियो ।

कम्पनीको गत आवमा ८ करोड रुपैयाँ इक्विटी थप भएकाले ट्यान्जिबल नेटवर्थमा सुधार आएको छ । तर, कम्पनीको समग्र ऋणभार अझै पनि निकै उच्च रहेको छ । कम्पनीको सञ्चालन नाफा मार्जिनमा सुधार आएकाले ब्याज कभरेज अनुपात २.०१ गुणा पुगेको छ ।

त्यस्तै, कम्पनीको कुल बाह्य दायित्व/ट्यान्जिबल नेटवर्थ १३.८६ गुणा पुगेको छ । सन् २०२४ मा ऋणात्मक थियो । त्यसैगरी, कम्पनीको कुल ऋण/कुल नगद सञ्चिती अनुपात ११.३७ गुणा पुगेको छ । जसले गर्दा कम्पनीको ऋण चुक्ता गर्ने क्षमता अझै कमजोर रहेको छ ।

सन् १९९८ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका कच्चा तेल आयात गरी प्रशोधन गर्दै नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । साथै, कम्पनीले प्रशोधन गरेको तेल भारतमा पनि निर्यात गर्दै आएको छ । कम्पनीले वार्षिक ६० हजार मेट्रिक टन क्षमतामा भटमास, पामोलिन, सन्फ्‌लावर प्रशोधन गर्दै आएको छ । त्यस्तै, कम्पनीले ७ हजार मेट्रिक टन क्षमतामा वनस्पति घ्यू र १० हजार मेट्रिक टन क्षमतामा तोरीको तेल प्रशोधन गर्दै आएको छ ।

कम्पनीले प्रशोधन गरेको तेल अमृत, सनस्टार र रानी ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । संघाई परिवारद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब ६ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९६ करोड ३० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब १० करोड रुपैयाँको रेटिङ गराएको हो ।