हर्मुज भएर जाने जहाजहरूबाट शुल्क उठाउने इरानको अडान, मित्रराष्ट्रहरूलाई छुट दिने


एजेन्सी । चीनका लागि इरानका राजदूतले शनिबार हर्मुज जलयोजक भएर जाने जहाजहरूलाई नयाँ शुल्क लगाइने कुरामा जोड दिएका छन् । यसलाई वाशिङटनले अस्वीकार गरेको छ । साथै, मित्रराष्ट्रहरूले विशेष सहुलियत पाउने आश्वासन समेत उनले दिए ।

युद्ध अन्त्य गर्न इरान र अमेरिकाबीच भएको प्रारम्भिक सम्झौतामा व्यापारिक जहाजहरू ६० दिनसम्म निःशुल्क रूपमा सो जलयोजक पार गर्ने व्यवस्था गरिएको थियो तर त्यस अवधिपछि के व्यवस्था लागू हुनेछ भन्ने कुरा अझै अस्पष्ट छ ।

इरानका राजदूत अब्दोलरेजा रहमानी फाज्लीले बेइजिङमा आयोजित वर्ल्ड पीस फोरम (विश्व शान्ति मञ्च) लाई सम्बोधन गर्दै महत्त्वपूर्ण जलमार्गका लागि आफ्नो देशले ओमानसँग सहकार्य र सहयोगमा नयाँ व्यवस्थाबारे काम गरिरहेको बताए ।

‘हर्मुज हाम्रो क्षेत्रीय जलक्षेत्रको हिस्सा भएको देशको नाताले हामी निश्चित रूपमा सेवा शुल्क लिनेछौं,’ फाज्लीले अनुवादित टिप्पणीमा भने । तर, उनले यस्तो शुल्क टोल (सडक दस्तुर) नहुने कुरामा जोड दिए ।

‘यी नयाँ व्यवस्थाहरू हर्मुज जलयोजक भएर जाने बाटोको सुरक्षा सुनिश्चित गर्ने जहाजहरूको आवतजावतको अनुगमन गर्ने र ठूलो संख्यामा चल्ने जहाजहरूका कारण हुने वातावरणीय परिणामहरूको ग्यारेन्टी र व्यवस्थापन गर्ने बारे हुनेछन्,’ उनले भने ।
‘हामी हाम्रा लागि मित्रवत रहेका र विशेषगरी कठिन समयमा हाम्रो साथमा उभिएका देशहरूका लागि विशेष सहुलियतको बारेमा निश्चित रूपमा विचार गर्नेछौं,’ उनले थपे ।

सामान्यतया यस जलयोजकबाट विश्वको २० प्रतिशत कच्चा तेल र तरल प्राकृतिक ग्यास ढुवानी हुन्छ तर पश्चिम एसिया युद्धको समयमा इरानले यसलाई लगभग पूर्ण रूपमा बन्द गरिदिएको थियो जसले गर्दा ऊर्जाको मूल्य आकाशिएको थियो ।

पश्चिम एसिया युद्ध अन्त्य गर्न अमेरिकासँग प्रारम्भिक सम्झौता भएपछि इरानले हर्मुजको नाकाबन्दी हटाएको थियो र द्वन्द्वको स्थायी समाधानका लागि वार्ताहरू अहिले पनि जारी छन् ।