
काठमाडौं । मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल (एमब्यान) द्वारा आयोजित ‘एमब्यान स्पोर्ट्स मिट २०२६’ को आधिकारिक ड्र कार्यक्रम धुम्बाराहीस्थित धन्वन्तरी स्पोर्ट्स हबमा सम्पन्न भएको छ ।
बिहीबार सम्पन्न कार्यक्रममा एमब्यानका कार्यसमिति सदस्य सन्दीप कार्कीको उपस्थितिमा सहभागी संस्थाका टोली प्रमुख, खेलाडी, प्रतिनिधिहरू, आयोजक समितिका सदस्य तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका दौरान आयोजक समितिले स्पोर्ट्स मिटको उद्देश्य, प्रतियोगिताको ढाँचा, समयतालिका तथा व्यवस्थापनसम्बन्धी जानकारी प्रस्तुत गरेको थियो ।
साथै फुटसल, ब्याडमिन्टन तथा टेबलटेनिस प्रतियोगिताका लागि आधिकारिक ड्र सम्पन्न गरी खेल तालिका तथा प्रतिस्पर्धात्मक संरचना निर्धारण गरिएको थियो ।
पुरुष फुटसल प्रतियोगितामा १८ टोली सहभागी रहनेछन्, जसलाई ३ टोली रहने गरी ६ समूहमा विभाजन गरिएको छ । महिला फुटसलतर्फ ८ टोली सहभागी हुनेछन्, जसलाई २ समूहमा विभाजन गरिएको छ । त्यसैगरी ब्याडमिन्टनतर्फ पुरुष डबल्समा ५ टोली, महिला डबल्समा ६ टोली तथा भेट्रान्स डबल्समा २ टोली सहभागी रहनेछन् ।
टेबलटेनिसतर्फ पुरुष एकलमा १४ खेलाडी, महिला एकलमा ५ खेलाडी तथा भेट्रान्स एकलमा ५ खेलाडी सहभागी हुनेछन् ।
एमब्यान स्पोर्ट्स मिट २०२६ आगामी असार २० र २१, २०८३ (जुलाई ४ र ५, २०२६) मा धन्वन्तरी स्पोर्ट्स हब, धुम्बाराही, काठमाडौंमा आयोजना हुनेछ ।
प्रतियोगिताले मर्चेन्ट बैंकिङ क्षेत्रका सदस्य संस्थाबीच खेलकुद भावना, आपसी सद्भाव, टोलीगत कार्यसंस्कृति तथा व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।
एमब्यानले प्रतियोगिताको सफल आयोजनाका लागि सहभागी संस्था, खेलाडी, पदाधिकारी, प्रायोजक तथा सञ्चारमाध्यमप्रति हार्दिक आभार व्यक्त गर्दै प्रतियोगिताको सफलताको कामना गरेको छ ।






प्रतिक्रिया