हवाई इन्धनको मूल्य ४० रुपैयाँले घट्दा प्लेन भाडा १७६५ सम्मले घट्यो


काठमाडौं । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाउँदा वायुसेवा कम्पनीहरूले एउटै गन्तव्यको हवाई भाडा १ हजार ७ सय ६५ रुपैयाँसम्मले घटाएका छन् ।

आयल निगमले बुधबारदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएसँगै वायुसेवा कम्पनीहरूले पनि बुधबारैदेखि लागू हुने गरी इन्धनबापतको शुल्क घटाएका हुन् ।

यस्तो शुल्क काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य धनगढीको हकमा १७६५ रुपैयाँ घटेको छ भने नजिकको गन्तव्य सिमरामा ३६० रुपैयाँ घटेको छ ।

वायुसेवा कम्पनीहरूले हवाई भाडामै जोडेर लिने यस्तो इन्धन शुल्क घटाएर लिन गरेको प्रस्तावलाई हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृति दिने गरेको छ । प्राधिकरणले स्वीकृत गरेको दरअनुसार सुगम क्षेत्रदेखि दुर्गम क्षेत्रसम्मको इन्धन शुल्क घटेको छ ।

काठमाडौंबाट हुने पर्वतीय उडानमा १३७५, भद्रपुरमा १२०५, विराटनगरमा ९६०, जनकपुरमा ५१५, भरतपुरमा ४३०, पोखरामा ६३५ रुपैयाँ इन्धन शुल्क घटेको छ ।

यस्तै काठमाडौंबाट हुने भैरहवाको उडानमा ८२५, नेपालगन्जमा १३०५, तुम्लिङटारमा ७३५, सुर्खेतमा १३८० र राजविराजमा ८१५ रुपैयाँले इन्धन शुल्क घटेको छ । यो बाहेक काठमाडौं बाहिरका विमानस्थलबाट हुने उडानमा पनि हवाई इन्धनबापतको शुल्क घटेको नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।