वायुसेवा निगमले मनायो वार्षिकोत्सव, जिम्मेवारी राम्ररी निभाउन कर्मचारीलाई मन्त्रीको निर्देशन


काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो स्थापनाको ६८ वर्ष पूरा गरी आजबाट ६९औं वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवको अवसरमा निगमले बुधबार विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

न्युरोडस्थित निगमको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल (गनेस) मुख्य अतिथिको रूपमा उपस्थित थिए ।

वार्षिकोत्सवको अवसरमा बिहान प्रभातफेरी कार्यक्रम गरिएको थियो । निगम परिसरबाट सुरू भएको प्रभातफेरी न्युरोडका विभिन्न भाग परिक्रमा गरी पुनः निगमको प्राङ्गणमा आएर टुंगिएको छ ।

उक्त कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला र सहसचिव जयनारायण आचार्य विशिष्ट अतिथिको रूपमा सहभागी थिए ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निगमको प्रगतिको शुभकामना दिए । उनले निगमको प्रगति र सुधारका लागि मन्त्रालयले पूर्ण सहयोग गर्ने बताउँदै कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी राम्ररी निभाउन निर्देशन दिए ।

कार्यक्रममा सचिव मुकुन्दप्रसाद निरौलाले निगमको अवस्थाको समीक्षा गरे भने उनले निगमलाई बलियो बनाउन सबैले ध्यान दिनुपर्ने कुरामा समेत जोड दिए ।

निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले संस्थाको हालको अवस्थाबारे जानकारी दिए । उनले धेरै चुनौतीका बीच पनि निगमको आम्दानी बढेको र यात्रुको सङ्ख्यामा वृद्धि भएको दाबी गरे । निगमले विगतका अनुभवबाट पाठ सिक्दै अघि बढ्ने उनले बताए ।

यसै अवसरमा निगमले आफ्नो विशेष स्मारिका आकाशभैरव लोकार्पण गरेको छ । यस्तै रक्तदान कार्यक्रममा निगमका कर्मचारीसहित २६४ जनाले रक्तदान गरे ।