अब कर्मचारीको सरुवा निवेदन अनलाइनबाटै मात्र, कागजी निवेदन नचल्ने

0
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा प्रविधिमैत्री र व्यवस्थित बनाउन नयाँ कदम चालेको छ । मन्त्रालयले अबदेखि कर्मचारी सरुवाको निवेदन अनलाइन प्रणालीमार्फत मात्र लिने व्यवस्था गरेको हो ।

मन्त्रालयले जारी गरेको जारी सूचना अनुसार सरुवा प्रक्रियालाई आधुनिक, पूर्वानुमानयोग्य र पारदर्शी बनाउने उद्देश्यले ‘अनलाइन सरुवा सफ्टवेयर’ विकास गरिएको छ । अबदेखि सरुवा हुन चाहने इच्छुक कर्मचारीहरूले अनिवार्य रूपमा उक्त प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गरी निवेदन पेश गर्नुपर्नेछ ।

मन्त्रालयले स्पष्ट पारेको छ कि अनलाइन प्रणालीबाहेक अन्य कुनै पनि माध्यम (कागजी पत्र वा इमेल) बाट प्राप्त हुने सरुवा सम्बन्धी निवेदनउपर कुनै पनि कारवाही गरिने छैन । यसले गर्दा अब सरुवाका लागि मन्त्रालयमा भौतिक रूपमा धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।

कर्मचारीहरूले मन्त्रालयको आधिकारिक पोर्टल सरूवा डटमोफागा गट जीओभी डट एनपीमा गएर आफ्नो विवरण दर्ता गरी निवेदन दिन सक्नेछन् । उक्त प्रणाली प्रयोग गर्ने तरिकाबारे जानकारी दिन वेबसाइटमै युजर म्यानुअल समेत उपलब्ध गराइएको छ ।

मन्त्रालयले यो प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै कर्मचारी र निकायहरूबाट सहयोगको अपेक्षा समेत गरेको छ । सरुवा प्रणालीलाई व्यवस्थित बनाउन यो प्रविधिको प्रयोग कोशेढुंगा सावित हुने मन्त्रालयको विश्वास छ ।