राराताल अवलोकन गर्ने ठाउँ मुर्माटपमा पनि चल्न थाल्यो नेपाल टेलिकमको फोरजी

56
Shares

काठमाडौं । नेपाल टेलिकमले मुगु जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल मुर्माटपमा फोरजी सेवाको औपचारिक शुभारम्भ गरेको छ । रारातालको मनोरम दृश्यावलोकनका लागि निकै चर्चित यस क्षेत्रमा असार १५ गतेदेखि फोरजी सेवा सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।

रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने मुर्माटप रारातालबाट केही घण्टाको पदयात्रापछि पुगिने आकर्षक गन्तव्य हो । यहाँबाट रारातालका साथै विभिन्न हिमशृङ्खलाहरू र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका मनमोहक दृश्यहरू देख्न सकिन्छ ।

फोरजी सेवा विस्तारसँगै अब मुर्माटप पुग्ने पर्यटक, स्थानीय बासिन्दा तथा पदयात्रीहरूले उच्च गतिको मोबाइल इन्टरनेट प्रयोग गर्न पाउनेछन् । यसबाट पर्यटकहरूले आफ्नो यात्राका अनुभव, तस्बिर र भिडियोहरू तत्कालै सामाजिक सञ्जालमार्फत साझा गर्न सक्नेछन् । टेलिकमका अनुसार यसले मुर्माटप क्षेत्रका साथै पदयात्रा मार्ग (ट्रेकिङ रुट) मा पनि भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउनेछ ।

मुर्माटपमा जडान गरिएको उक्त टावरले सो क्षेत्रमा मात्र नभई हुम्ला र बाजुरा जस्ता दुर्गम हिमाली जिल्लाहरूमा दूरसञ्चार सेवा विस्तारका लागि ‘रिपिटर स्टेशन’ का रूपमा समेत काम गर्नेछ । यसबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम क्षेत्रमा टेलिकमको मोबाइल तथा डाटा सेवाको गुणस्तर र पहुँच थप सुदृढ हुने विश्वास लिइएको छ ।

आधुनिक दूरसञ्चार सेवाको पहुँचसँगै रारा क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने टेलिकमको अपेक्षा छ । स्थानीय होटल, होमस्टे र व्यवसायीहरूले विभिन्न डिजिटल सेवाको उपयोग गर्न पाउने भएकाले यसले स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा उल्लेख छ ।

‘राष्ट्रको सञ्चार’ को दायित्वलाई आत्मसात् गर्दै आगामी दिनमा पनि देशका अति दुर्गम क्षेत्रसम्म अत्याधुनिक सेवा पुर्‍याएर ‘डिजिटल नेपाल’ को परिकल्पनालाई साकार बनाउन कम्पनी प्रतिबद्ध रहेको प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए ।

यसअघि नेपाल टेलिकमले २०७६ साल मंसिर १९ गतेदेखि नै राराताल क्षेत्रमा पूर्ण क्षमतामा फोरजी सेवा सञ्चालन गरिसकेको छ ।