के बाल्यकालमा खान नपाउँदा बर्गर दिने महिलालाई रोनाल्डोले साँच्चिकै रेस्टुरेन्ट गिफ्ट गरेका हुन् ?

0
Shares

एजेन्सी । संसारकै सफल फुटबल खेलाडीमध्ये एक क्रिस्टियानो रोनाल्डो आज धन, प्रसिद्धि र सफलताको शिखरमा छन् । तर उनले आफ्नो बाल्यकालका ती कठिन दिन र आफूलाई भोकै हुँदा निःस्वार्थ रूपमा सहयोग गर्ने एक साधारण महिलालाई भने कहिल्यै बिर्सन सकेनन् ।

वर्षौंपछि ती महिलालाई खोज्दै मडेइरासम्म पुगेको कथा रोनाल्डोले सुनाउँदा लाखौं मानिसलाई भावुक बनाउँछ।

उनी एक साधारण महिलालाई वर्षौंदेखि खोजिरहेका थिए । तर, पोर्चुगलको लिस्बनमा ओर्लिएर ती महिलालाई भेट्दा रोनाल्डो एकाएक भावुक बने ।

किन खोजिरहेका थिए रोनाल्डोले ती महिलालाई? को थिइन् उनी? आज हामी प्रस्तुत गर्दैछौं रोनाल्डोको जीवनसँग जोडिएको एउटा प्रेरणादायी र भावुक कथा ।

यतिबेला फिफा विश्वकपका खेलहरू भइरहेका छन् । यसपाली विश्वकपको खेलसँगै पोर्चुगलका कप्तान तथा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो विश्वकपका ६ फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने ४१ वर्षीय रोनाल्डो विश्वकप इतिहासका दोस्रो सबैभन्दा पाका गोलकर्ता पनि बनेका छन् ।

फुटबल क्षेत्रमा ठूलो योगदान पुर्‍याएका क्रिस्टियानो रोनाल्डोको बाल्यकाल निकै गरिबी र संघर्षमा बितेको थियो । मडेइराको गल्लीमा भौतारिँदा उनीसँग खाने पैसा हुँदैनथ्यो । कसैले केही दिन्छ कि भनेर साथीसँग उनी रेस्टुरेन्टका ढोकाढोका चाहार्थे । बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तर्वार्तामा रोनाल्डोले आफ्नो बाल्यकालको अनुभव साझा गरेका छन्, जसले सबैलाई भावुक बनाएको छ ।

समय बित्दै गयो । रोनाल्डो विश्वकै चर्चित र धनाढ्य फुटबल स्टार बने । धन, सम्पत्ति र नाम सबै पाए पनि उनी आफ्नो विगत र ती दयालु महिलालाई कहिल्यै बिर्सन सकेनन् । पहिलो अन्तर्वार्तामा उनले ती महिलालाई आफूले भट्ने चाहेको बताएका छन् । अन्तर्वार्ताको एक अंशमा रोनाल्डोले ती महिलाको बारेमा कुरा गरेका छन्, जसलाई उनले मडेइरामा खोजेका थिए ।

ती महिला कुनै धनाढ्य वा प्रतिष्ठित व्यक्ति थिइनन् । उनी एक साधारण रेस्टुरेन्टमा काम गर्थिन् । उनले ती महिलालाई खोज्नुको पछाडि केही कारण छन् ।

ती महिला म्याकडोनाल्डमा काम गर्थिन् ।

पोर्चुगलको मडेइरा टापुमा रोनाल्डो हुर्केका थिए । फुटबल एकेडेमीमा अभ्यास गर्दा गरिबीमा हुर्केका उनी र उनका साथीहरूसँग धेरै पैसा हुँदैनथ्यो । कतिपय रात उनीहरू भोको पेट नै सुत्नुपर्ने अवस्था थियो ।

भोका रहेका उनी र उनका साथीहरू म्याकडोनाल्ड्स रेस्टुरेन्टको पछाडि जान्थे र बस्थे । यो आशामा कि त्यहाँ बचेखुचेका केही खानेकुरा पाइनेछ । यसबारे त्यहाँ काम गर्ने एक महिलालाई थाहा थियो । ती महिलाले रोनाल्डो र उनका साथीहरूलाई खाना ल्याएर दिन्थिन् । रोनाल्डो र उनका साथीलाई कहिल्यै खाली हात फर्काइनन् । रेस्टुरेन्ट बन्द हुने बेला उनी पछाडिको ढोकाबाट बाहिर आउँथिन् र बिक्री नभएको बर्गरहरू फाल्नुको सट्टा उनीहरूलाई दिन्थिन् । रोनाल्डोले अन्तर्वार्तामा भनेका छन्, ‘हामीलाई मद्दत गर्नुपर्ने उहाँको कुनै बाध्यता वा स्वार्थ थिएन, तैपनि उहाँले हामीलाई आफ्नै छोरालाई जस्तै माया गर्नुभयो । यदि यो अन्तर्वार्ता ती महिलासम्म पुग्यो भने म उनलाई भेट्न चाहन्छु । उनलाई डिनरमा निमन्त्रणा गर्न चाहन्छु, किनभने मैले उनलाई कहिल्यै धन्यवाद भन्न सकिनँ ।’

मोर्गनसँगको पहिलो अन्तर्वार्तापछि पोर्चुगलका सञ्चारमाध्यमले ती महिलाको खोजी गरेका थिए । केही महिलाले आफूहरू त्यही रेस्टुरेन्टमा काम गरेको पनि बताए ।

एक दिन लिस्बन विमानस्थलमा ओर्लिएपछि रोनाल्डोका सहयोगीले ‘हामी तपाईंलाई एक विशेष व्यक्तिसँग भेटाउँछौं’ भने । करिब ३ दशकपछि पनि रोनाल्डोले ती महिलालाई चिने । ती महिला पाउला लेका थिइन् । उनले अन्तर्वार्तापछि आफू रोनाल्डोलाई बर्गर दिनेमध्ये एक भएको पुष्टि गरेकी थिइन् । मोर्गनले दोस्रो अन्तर्वार्तामा उनीसँग ती महिलाबारे सोध्दा रोनाल्डोले भनेका छन्, ‘कोही कसैले तपाईंलाई अप्ठेरा दिनमा सहयोग गरेको छ, उसलाई तपाईं कसरी भुल्न सक्नु हुन्छ ?’

जब ती महिलाले टाउको उठाइन्, रोनाल्डोले तुरुन्तै चिनिहाले—उनी तिनै बाल्यकालकी ती महिला थिइन् ।

रोनाल्डोले भावुक हुँदै उनलाई अँगालो हाले र भने, ‘म तपाईंलाई वर्षौँदेखि खोजिरहेको थिएँ ।’

अन्तर्वार्ताका क्रममा आफूलाई सहयोग गर्ने महिलालाई विशेष सम्मानसहित केही न केही विशेष गर्ने उद्घोष गरे ।

रोनाल्डोको त्यही घोषणाले संसारभरका फुटबल समर्थकलाई भावुक बनायो । करोडौं डलर कमाउने खेलाडी बनेपछि पनि रोनाल्डोले आफ्नो भोक मेटाउने ती साधारण महिलालाई बिर्सन सकेनन् ।

त्यसपछि रोनाल्डोले ती महिलालाई आदरपूर्वक आफ्नो घरमा डिनरका लागि निमन्त्रणा गरेको, टेबलमा बसेर उनीहरूले पुराना दिनहरू सम्झिएको, हाँसेर सुख–दुःखका कुरा गरेको भन्ने जानकारी सामाजिक सञ्जालमा भाइरल भएका छन् । कुराकानीकै क्रममा रोनाल्डोले उनको हालको जीवनबारे सोधेको र ती महिलाले अब आफू धेरै वृद्ध भइसकेको र आफ्नो दैनिक खर्च चलाउन पनि निकै धौधौ परिरहेको कुरा सुनाएको बताइएको छ ।

यो सुनेर रोनाल्डोको मन रोएको र तुरुन्तै आफ्नो म्यानेजरलाई फोन गरे र आफ्नो एउटा रेस्टुरेन्ट ती महिलाको नाममा नामसारी गरिदिने आदेश दिएको चर्चा छ ।

यो सुनेर ती महिला पूर्ण रूपमा स्तब्ध भइन् । त्यसबेला रोनाल्डोले उनको हात समातेर भनेका थिए, ‘कृपया, मडेइराको त्यो सानो केटोबाट यो उपहार स्वीकार गर्नुहोस्, जो कहिलेकाहीँ खानेकुराको आशमा तपाईंको रेस्टुरेन्ट बाहिर पर्खेर बस्थ्यो । जब कसैले नभन्दा पनि तपाईंले मलाई खुवाउनुभयो, आज मेरो पालो हो ।’

त्यो क्षण ती महिलाका आँखाबाट आँसु थामिएनन् र रोनाल्डो स्वयं पनि आफ्ना आँसु रोक्न सकेनन् । यद्यपि रोनाल्डोले कुनै रेस्टुरेन्ट उपहार दिएको भन्ने जानकारीलाई विश्वसनीय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पुष्टि गरेका छैनन् ।

रोनाल्डोले सार्वजनिक रूपमा सुनाएको यो कथा उनको जीवनका सबैभन्दा भावुक अनुभवमध्ये एक मानिन्छ । रोनाल्डोको यो कथाले एउटा गहिरो सन्देश दिन्छ । त्यो हो, सानो सहयोगले कसैको जीवन बदल्न सक्छ । कुनै समय भोकै फुटबल खेल्ने बालक आज विश्वकै महान् खेलाडीमध्ये एक बनेका छन् । तर उनले आफ्नो संघर्ष, आफ्नो विगत र आफूलाई कठिन समयमा साथ दिने मानिसहरूलाई कहिल्यै बिर्सेका छैनन् ।

सायद यही कारण क्रिस्टियानो रोनाल्डो केवल उत्कृष्ट फुटबलर मात्र होइन, कृतज्ञता र संघर्षको प्रेरणादायी उदाहरणका रूपमा पनि विश्वभर सम्झिने गरिन्छ । रोनाल्डो सबैभन्दा धेरै परोपकारी कार्यमा खर्च गर्ने खेलाडीका रूपमा परिचित छन् । उनले भूकम्पको बेलामा सेभ द चिल्ड्रेनमार्फत् नेपालमा पनि बालबालिकाको हितमा खर्च गरेका थिए ।