अटोमोबाइल क्षेत्रमा तामाको सट्टा आल्मुनियमको प्रयोग बढ्दो

112
Shares

एजेन्सी । अटोमोबाइल क्षेत्रका हस्तीहरू फरारी र बीएमडब्लूले आफ्ना नयाँ मोडलहरूमा हलुका र कम लागतको आल्मुनियम वायरिङ प्रयोग गर्न थालेका छन् ।

यस कदमसँगै करिब दुई शताब्दीअघि विद्युतीय ब्याट्रीको आविष्कार भएदेखि नै वायरिङका लागि प्रमुख सामग्रीका रूपमा प्रयोग हुँदै आएको तामाको एकाधिकार तोडिने संकेत देखिएको छ ।

टेस्ला र चिनियाँ विद्युतीय सवारी (ईभी) निर्माताहरूले यसअघि नै सुरु गरेको यो ट्रेन्ड अहिले विश्वभर विस्तार हुँदैछ । जेपी मोर्गनका अनुसार, यो वर्ष विश्वभर तामाको मागमा करिब २ प्रतिशतको गिरावट आउन सक्छ ।

आगामी वर्षहरूमा तामाको सट्टा आल्मुनियमको प्रयोग झनै बढ्ने प्रक्षेपण गरिएको छ । हरित ऊर्जा क्षेत्र र डेटा सेन्टरहरूबाट तामाको माग बढ्दा यसको मूल्यमा हुने वृद्धि र आपूर्तिको अभावले कम्पनीहरूलाई आल्मुनियमतर्फ आकर्षित गरेको हो ।

विभिन्न १८ वटा कार निर्माता र मेटल कन्सल्टेन्टहरूसँग गरिएको कुराकानीका अनुसार, आल्मुनियमको मूल्य निकै कम हुनु र यसको कार्यक्षमता तामाको हाराहारीमा हुनु यसको मुख्य कारण हो । फरारी र बीएमडब्लूले भने लागतसँगै यसको हलुका वजनलाई प्राथमिकता दिएको बताएका छन् ।

विगत दुई दशकमा तामाको सट्टा आल्मुनियम प्रयोग गर्ने लहर पटक–पटक आए पनि गत जनवरीमा तामाको मूल्य प्रति मेट्रिक टन १५ हजार डलरको रेकर्ड स्तरमा पुगेपछि यस परिवर्तनले थप गति लिएको हो । हाल तामाको तुलनामा आल्मुनियमको मूल्य करिब एक चौथाइ मात्रै अर्थात् प्रति टन ३१ सय डलरको हाराहारीमा रहेको छ ।

फरारीले गत वर्ष आफ्नो २९६ हाइब्रिड स्पोर्ट्स कारमा आल्मुनियम केबल प्रयोग गर्न सुरु गरेको थियो भने हालै सार्वजनिक गरिएको आफ्नो पहिलो ईभी लुसमा पनि यसैलाई निरन्तरता दिएको छ । फरारीका अनुसार, यसबाट वायरिङको कुल तौलमा २० प्रतिशतसम्म बचत हुन्छ ।

कम्पनीका सञ्चार कार्यकारी डारियो एस्पोसिटोले आल्मुनियम सस्तो भएर मात्र नभई यसको कार्यक्षमता राम्रो भएकाले रोजिएको बताएका छन् । त्यस्तै, बीएमडब्लूले सन् २०११ देखि नै साना कारहरूमा आल्मुनियम कन्डक्टर प्रयोग गर्दै आएकोमा अहिले आफ्ना नवीनतम ई–ड्राइभ प्रविधिका उच्च र न्यून भोल्टेज प्रणालीमा यसको व्यापक प्रयोग गरिरहेको छ ।

विश्वको चौथो ठूलो कार निर्माता स्टेलेन्टिसले पनि तामाको सट्टा आल्मुनियम वायरिङ सुरु गरेको बताइएको छ ।

यस परिवर्तनको असर पाटपुर्जा आपूर्ति गर्ने कम्पनीहरूमा पनि देखिएको छ । चिनियाँ आपूर्तिकर्ता जोन्भरका अनुसार, अघिल्लो वर्ष २० प्रतिशत रहेको आल्मुनियम वायरिङको बिक्री यस वर्ष ३० प्रतिशत पुगेको छ ।

नर्वेको आल्मुनियम उत्पादक हाइड्रोले पनि एयर कन्डिसनिङ र हिटिङ ट्युबहरूमा तामाको सट्टा आल्मुनियमको प्रयोग बढिरहेको बताएको छ । विश्वको दोस्रो ठूलो केबल उत्पादक नेक्सान्सका अनुसार, तामाको मूल्य आल्मुनियमको भन्दा ३.५ गुणा बढी हुँदा निर्माताहरूले आल्मुनियम रोज्न थाल्छन् ।

हाल तामाको मूल्य आल्मुनियमको भन्दा ४.२ गुणा बढी छ । तर, आल्मुनियम उत्पादनमा लाग्ने ठूलो ऊर्जा र हरितगृह ग्यास उत्सर्जन जस्ता चुनौतीहरू अझै कायमै छन् । जेपी मोर्गनका अनुसार, सन् २०३० सम्ममा तामाको वार्षिक मागको करिब ६ प्रतिशत हिस्सा आल्मुनियमले ओगट्न सक्छ ।

विश्वकै सबैभन्दा ठूलो धातु उपभोक्ता चीनले आफ्नो सरकारी नीति मार्फत नै कम्पनीहरूलाई आल्मुनियम प्रयोग गर्न प्रोत्साहित गरिरहेको छ । चिनियाँ ईभी निर्माताहरू एक्सपेङ, साओमी र अवतारले यसअघि नै आल्मुनियम वायरिङ अपनाइसकेका छन् ।
सवारीको तौल कम हुँदा यसले ईभीको रेन्ज बढाउन मद्दत गर्ने भएकाले यो प्रविधि अझ बढी आकर्षक बनेको छ । चीनमा जारी मूल्य युद्धका कारण नाफा कमाउन संघर्ष गरिरहेका कम्पनीहरूका लागि यो लागत बचत गर्ने उत्तम उपाय हो ।

सन् २०१९ मा टेस्लाले आफ्नो मोडल वाई र हालै साइबरट्रकमा आल्मुनियम वायरिङ प्रयोग गरेपछि अन्य कम्पनीहरूले पनि त्यसैलाई पछ्याइरहेका छन् ।