ब्राउन सुगरसहित दुई जना पक्राउ


विराटनगर । कोशी प्रदेश प्रहरीको लागुऔषध विरुद्धको महाअभियानअन्तर्गत आज दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूका साथबाट प्रहरीले चार ग्राम ११० मिलिग्राम ब्राउन सुगर र बेवारिसे अवस्थामा १२० किलो गाँजा बरामद गरेको छ ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इलाम चुलाचुली गाउँपालिका-३ का २६ वर्षीय विवेक राईलाई दुई ग्राम ८२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

यस्तै इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इटहरी उपमहानगरपालिका-१७ कान्छीचोकका २५ वर्षीय निशान कार्कीलाई एक ग्राम २९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोली र अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान उपमहानगरपालिका-२० च्यानडाँडा सिरान सामुदायिक वन क्षेत्रबाट बेवारिसे अवस्थामा कालो प्लास्टिकमा प्याक गरिएको १२० केजी गाँजा बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए ।