
एजेन्सी । भेनेजुएलाको राजधानी काराकास आसपास गएको शक्तिशाली दुई भूकम्पमा परी मृत्यु हुनेको संख्या २३५ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ४ हजार ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् भने सयौं अझै भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
बुधबार स्थानीय समयअनुसार साँझ ६ः०४ बजे ७.२ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो । त्यसको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । दुवै भूकम्प जमिनको सतह नजिक भएकाले ठूलो जनधनको क्षति भएको हो ।
भूकम्प राष्ट्रिय बिदाको दिन परेकाले धेरै नागरिक घरमै रहेका थिए । त्यसका कारण मानवीय क्षति अझ बढी भएको अनुमान गरिएको छ ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर आपत्काल घोषणा गरेकी छन् । राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजका अनुसार हालसम्म करिब २५० वटा भवन पूर्ण रूपमा भत्किएका वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् । सबैभन्दा बढी क्षति राजधानी नजिकको तटीय सहर ला ग्वाइरामा भएको छ ।
राजधानी काराकास र ला ग्वाइरामा उद्धारकर्मीहरू भग्नावशेष हटाएर जीवित व्यक्तिको खोजीमा जुटेका छन् । धेरै स्थानबाट भग्नावशेषमुनि फसेकाहरूले उद्धारका लागि गुहार मागिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
काराकास महानगरअन्तर्गत चाकाओ नगरपालिकाका मेयर गुस्ताभो डुकेका अनुसार एउटा भत्किएको भवनबाट मात्रै ११ जनाको शव निकालिएको छ भने २३ जनालाई जीवितै उद्धार गरिएको छ । उनले अझै धेरै मानिस फसेको आशंका गर्दै उद्धार कार्यलाई तीव्र बनाइएको बताएका छन् ।
भूकम्पका कारण हजारौं परिवार घरबारविहीन भएका छन् । क्षतिग्रस्त भवनमा बस्न असुरक्षित भएपछि धेरै नागरिक सडकमै रात बिताउन बाध्य भएका छन् ।
राजधानी नजिक रहेको माइकेतिया अन्तर्राष्ट्रिय विमानस्थलमा समेत गम्भीर क्षति पुगेपछि विमानस्थल बन्द गरिएको छ । विमानस्थलको छतबाट धुलो र भग्नावशेष खसेको भिडियो सार्वजनिक भएको छ ।
भूकम्पपछि हालसम्म कम्तीमा ३० वटा पराकम्प ९आफ्टरशक० रेकर्ड गरिएको छ । यसले उद्धार कार्यलाई थप चुनौतीपूर्ण बनाएको छ ।
यूएसजीएसले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने चेतावनी दिएको छ । संस्थाका अनुसार भूकम्पबाट व्यापक क्षति भएको र अझै धेरै मानिस भग्नावशेषमा फसेको हुन सक्ने अनुमान गरिएको छ ।
भेनेजुएलामा दुई टेक्टोनिक प्लेटको संगम क्षेत्र रहेकाले प्लेटबीचको दबाब अचानक मुक्त हुँदा यस्तो शक्तिशाली भूकम्प गएको विज्ञहरूले बताएका छन् ।
उद्धार तथा राहत कार्यमा सहयोग गर्न विभिन्न देशहरूले सहायता घोषणा गरेका छन् । अमेरिकाले १५ करोड अमेरिकी डलर बराबरको राहत सहयोग उपलब्ध गराउने घोषणा गर्दै खोज तथा उद्धारका लागि सैनिक जहाज र विमानसमेत परिचालन गर्ने जनाएको छ ।
यूएसजीएसका अनुसार सन् १९०० यता भेनेजुएलामा गएको यो दोस्रो सबैभन्दा शक्तिशाली भूकम्प हो । यसअघि सन् १९६७ मा राजधानी काराकासमा आएको ठूलो भूकम्पमा करिब २०० जनाको मृत्यु भएको थियो ।






प्रतिक्रिया