
काठमाडौं । मारुती सिमेन्टले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा पौने ४ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ३ अर्ब ८७ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो।
कम्पनीले सन् २०२५ मा ५ अर्ब ९३ करोड ४० लाख रुपैयाँ र सन् २०२४ मा ४ अर्ब ७५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको कारोबार गत आवमा २५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीअनुसार गत आवमा उच्च परिमाणमा बिक्री भएको र मूल्यमा पनि वृद्धि हुँदा कारोबारमा वृद्धि भएको उल्लेख छ ।
कम्पनीले गत आवमा ७० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२४ मा १७ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको कुल नगद सञ्चय पनि वृद्धि भएको छ ।
सन् २०२४ मा ३३ करोड ८० लाख रुपैयाँ कुल नगद सञ्चय रहेकोमा गत आवमा बढेर ९६ करोड ३० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, चालु आवको ९ महिनाको अवधिमा कम्पनीको ३१.१७ प्रतिशत सञ्चालन नाफा मार्जिन छ ।
कम्पनीको चालु आवको ९ महिनाको अवधिमा ऋण–इक्विटी अनुपात ०.४८ गुणा रहेको छ भने समग्र गियरिङ अनुपात ०.६३ गुणा रहेको छ । साथै, कम्पनीको ब्याज कवरेज अनुपात ५.०३ गुणा रहेको छ ।
साथै, कम्पनीको कुल ऋण/कुल नगद सञ्चय अनुपात गत आवको ५.६८ गुणाबाट सुधार भई चालु आवको ९ महिनाको अवधिमा ३.८७ गुणामा पुगेको छ ।
कम्पनीले आगामी दिनमा प्रस्तावित प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्पन्न भएपछि कम्पनीको गियरिङ स्तरमा थप सुधार आउने अपेक्षा गरेको छ ।
सन् १९९४ मा स्थापना भएको कम्पनीमा राठी ग्रुप र गोयल ग्रुप अफ कम्पनीजको संयुक्त लगानी छ । कम्पनीले दैनिक ३ हजार ३ सय मेट्रिक टन क्षमतामा क्लिङ्कर र ४ हजार मेट्रिक टन क्षमतामा ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ ।
कम्पनीले उत्पादन गरेको सिमेन्ट विशेषगरी नेपालको पूर्वी क्षेत्रमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको मुख्य बजार नारायणघाटदेखि काँकडभिट्टासम्म फैलिएको छ । कम्पनीको देशभर २ सय डिलर छन् ।
कम्पनीले हालै मात्रै आफ्नो उद्योगको क्षमता विस्तार सम्पन्न गरी व्यवसायिक कारोबार सुरु गरेको छ । कम्पनीले पीपीसी र ओपीसी सिमेन्ट मारुती ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । अनुज राठी अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब ३२ करोड ५९ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब ५१ करोड ४० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ८१ करोड १९ लाख रुपैयाँको रेटिङ गराएको हो । कम्पनीले एथ्री रेटिङसहित निरन्तर क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेशनको संज्ञा दिएको छ ।








प्रतिक्रिया