फिफा विश्वकपमा गोलको वर्षा, बन्यो कीर्तिमान


एजेन्सी । फिफा विश्वकप २०२६ मा ६८ वर्षयताकै सबभन्दा छिटो १०० गोलको कीर्तिमान बनेको छ । मात्र ३३ खेलमा यो सफलता हासिल भएको छ ।

मेक्सिकोका जुलियन क्विनोनेसले जुन १२ मा दक्षिण अफ्रिका विरुद्धको २–० को जितमा यस विश्वकपको पहिलो गोल गरेका थिए । आइतबार स्विडन विरुद्धको ५–१ को जीतमा नेदरल्यान्ड्सको तेस्रो गोल गर्दै कोडी गाक्पोले यस वर्षको प्रतियोगिताको १००औं गोल गरे ।

मात्र ३३ खेलमा १०० गोल पुग्नु ६८ वर्षयताकै उत्कृष्ट प्रतियोगिता रेकर्ड हो । यसले सन् १९८२ र २०१४ मा कायम गरिएको ३६ खेलको कीर्तिमानका साथै १९७८ र १९९४ मा १०० गोल पुग्न लागेको ३८ खेलको कीर्तिमानलाई तोडेको छ ।

अहिलेसम्मकै कीर्तिमान भने पश्चिम जर्मनीले जितेको सन् १९५४ को स्विट्जरल्यान्डमा भएको प्रतियोगिताको नाममा छ । त्यहाँ १०० गोलको आँकडा पार गर्न मात्र २० खेल लागेको थियो ।

यसका साथै नेदरल्यान्ड्स फिफा विश्वकपको इतिहासमा १०० गोलको कोशेढुंगा पार गर्ने आठौं टोली बन्दै विशिष्ट समूहमा सामेल भएको छ । खेल सुरु भएको पाँच मिनेटभित्रै, नेदरल्यान्ड्सले सपना जस्तै सुरुवात ग-यो । ब्रोबीले गाक्पोको उत्कृष्ट क्रसलाई गोलमा परिणत गरे ।

यसपछि १७औं मिनेटमा ब्रोबीले दोस्रो गोल गरे । त्यो विश्वकपमा नेदरल्यान्ड्सको १००औं गोल थियो र यो एक ऐतिहासिक प्रहार बन्यो ।

साथै, मोन्टेरे स्टेडियममा भएको समूह एफको जापान र ट्युनिसियाबीचको खेल फिफा विश्वकप इतिहासको १ हजारौं खेल बन्यो ।

‘१ हजारौं खेलले दीर्घायु र फुटबल तथा फिफा विश्वकपप्रतिको मानवताको अटुट प्रेमलाई झल्काउँछ । तर, यो फुटबलको अवरोधहरू तोड्ने र समुदाय तथा राष्ट्रहरूलाई एकताबद्ध गर्ने अनुपम क्षमताको प्रमाण पनि हो,’ फिफाले भन्यो ।

उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ मा ४८ सहभागी देशहरू छन् जसलाई १२ समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहका शीर्ष दुई टोलीहरूका साथै आठ उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीहरू नकआउट चरणमा प्रवेश गर्नेछन् ।