बालेन, रवि र गगन एउटै मञ्चमा देखिने, कुन पार्टीबाट को-को जाँदै छन् ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा चितवन जाने भएका छन् ।

यसअघि आइतबार बिहान उपसभापति पुष्पा भुसाललाई पठाउने तय भए पनि अन्तिम समयमा थापा स्वयं जाने निर्णय भएको हो । थापाले आज बिहानै सामाजिक सञ्जालमार्फत रास्वपालाई महाधिवेशनको शुभकामना समेत दिइसकेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने र कांग्रेस सभापति गगन थापा एकै मञ्चमा देखिन लागेका हुन् ।

यसैगरी, अन्य प्रमुख दलबाट भने दोस्रो तहका नेताहरू सहभागी हुँदैछन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने महाधिवेशनमा सहभागी नहुने भएका छन् । एमालेबाट केन्द्रीय सदस्य प्रदीप ज्ञवाली र माओवादीबाट उपमहासचिव वर्षमान पुनले प्रतिनिधित्व गर्ने जनाइएको छ ।

त्यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशन स्थल पुगिसकेका छन् भन् जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि चितवन प्रस्थान गरेका छन् । श्रम संस्कृति पार्टीले भने महाधिवेशनमा कोही पनि प्रतिनिधि नपठाउने जानकारी दिएको छ ।

रास्वपाको महाधिवेशन आज आइतबार उद्घाटन हुँदैछ भने असार ८ र ९ गते बन्द सत्र र निर्वाचनको कार्यक्रम तय गरिएको छ।

कार्यक्रमको उद्घाटनका लागि रास्वपा वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन शाह चितवन पुगिसकेका छन् ।