
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको सुरुवाती १०० दिनको कार्यसम्पादनलाई ‘पूर्ण रूपमा निराशाजनक’ भन्दै अब संसद्मा आक्रामक रूपमा प्रस्तुत हुने घोषणा गरेको छ।
शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले सरकारका कामकारबाहीको समीक्षा गर्दै सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको हो।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले सरकारले तामझामका साथ सार्वजनिक गरेको ‘सय दिनमा सय काम’ को लक्ष्य असफल भएको टिप्पणी गरे।
‘सरकारले सय दिनमा गर्ने भनेका कतिपय कामहरूमा छलफलसमेत सुरु भएको छैन,’ पौडेलले भने, ‘धेरै कामको सूची बनाउनुभन्दा थोरै तर परिणाममुखी काम तोकेको भए जनताले राहत महसुस गर्ने थिए।’
उनले कांग्रेसको भूमिका कमजोर भएको भन्ने आरोपको खण्डन गर्दै संसद् र सडकबाट सरकारका गलत कदमको निरन्तर खबरदारी भइरहेको बताए।
महामन्त्री पौडेलले पार्टीभित्रको आन्तरिक व्यवस्थापनका चुनौतीहरूलाई स्वीकार गर्दै १५औँ महाधिवेशनमार्फत विधि र पद्धतिअनुसार नेतृत्व चयन हुने र सबैले अवसर पाउने वातावरण बनाइने प्रतिबद्धता समेत व्यक्त गरे।
कांग्रेस नेता अभिषेकप्रताप साहले सरकारको ‘हनिमुन पिरियड’ सकिएकाले अब कांग्रेसले मौनता तोड्ने बताए।
सरकार लोकप्रियतावाद र सामाजिक सञ्जालमा मात्र केन्द्रित भएको आरोप लगाउँदै उनले भने, ‘हामीले सरकारलाई काम देखाउन समय दिएका थियौँ, तर यो अवधिमा जनताले राहत होइन, करको बोझ मात्र पाए।’
साहले सरकारको बजेट र कर नीतिको कडा आलोचना गर्दै थपे, ‘साधारण जनतालाई करको मारमा पारेर प्रणालीलाई नै जोखिममा पार्ने काम भएको छ। अब हाम्रा हरेक सांसदले संसद्मा जनताका जल्दाबल्दा मुद्दालाई सशक्त ढङ्गले उठाउनेछन्।’
संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको उक्त बैठकले संसदीय दल र पार्टीबीचको समन्वयलाई अझ बलियो बनाउने निर्णय गरेको छ।
कांग्रेसले अब सरकारका हरेक गतिविधिलाई सूक्ष्म रूपमा निगरानी गर्ने र जनविरोधी निर्णयहरूमा सदनभित्रै सशक्त हस्तक्षेप गर्ने चेतावनी दिएको छ।
सरकारले गठनको १०० दिनमा गरेका प्रतिबद्धता र कार्यान्वयनको अवस्थाबारे कांग्रेसले चाँडै नै आधिकारिक श्वेतपत्र वा धारणा सार्वजनिक गर्ने तयारी समेत गरेको छ।






प्रतिक्रिया