
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्रको सुदृढीकरण र संविधानको रक्षाका लागि आफ्नो पार्टी सदैव प्रतिबद्ध रहने बताएका छन्।
चितवनमा आयोजित पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै लामिछानेले मुलुकको परिवर्तनका लागि भएका विगतका संघर्ष र बलिदानको सम्मान गर्दै रास्वपा अघि बढ्ने स्पष्ट पारे।
‘हामी संघीय लोकतान्त्रिक गणतन्त्र र विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिका जगमा उभिएका छौँ,’ सभापति लामिछानेले भने, ‘हिजोका ती महान त्याग र बलिदानकै कारण आज हामी यहाँसम्म आइपुगेका हौँ। त्यसैले लोकतन्त्रको मूल्य-मान्यता र प्रतिबद्धताबाट हामी कहिल्यै विमुख हुने छैनौँ।’
आगामी महाधिवेशनको सन्दर्भ जोड्दै लामिछानेले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप मजबुत बनाउन आफू क्रियाशील रहेको बताए। संस्थापक सभापतिको हैसियतमा आफूले निष्ठाको राजनीति र आन्तरिक लोकतन्त्रमा कहिल्यै सम्झौता नगरेको दाबी गर्दै उनले यसको मूल्यांकन आम कार्यकर्ताले गर्ने विश्वास व्यक्त गरे।
सभापति लामिछानेले अबको बाटो चुनौतीपूर्ण रहेको औंल्याउँदै पार्टीले नागरिकको चाहना अनुसार नयाँ कार्यदिशा तय गर्नुपर्नेमा जोड दिए।
‘हाम्रो जिम्मेवारी अब फेरिएको छ। जनताले हाम्रै हुटहुटी र अभिव्यक्तिमार्फत समृद्धिको सपना देख्न थालेका छन्,’ उनले अगाडि भने, ‘सुशासन, समृद्धि र सामाजिक न्यायको यो सपना पूरा गर्न महाधिवेशनपछि हामी जो जुन भूमिकामा रहे पनि एक जिम्मेवार नागरिकका रूपमा उभिनुपर्नेछ।’
पार्टी स्थापनादेखि हालसम्मको यात्रा स्मरण गर्दै लामिछाने केही भावुक समेत देखिए। निर्वाचन आयोगमा दल दर्ता गर्न जाँदाको क्षणदेखि प्रहरीले कार्यकक्षमै छिरेर गिरफ्तार गर्दासम्मका उतारचढावलाई उनले स्मरण गरे।
‘पार्टी दर्ताका क्रममा हामी २१–२२ जना मात्र थियौँ। यही कार्यकक्षमा बसेर कयौँ महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर भए, यहीँबाटै म पक्राउ पनि परेँ,’ विगत सम्झँदै उनले भने, ‘मान्छेको जीवनमा जस्तै पार्टीको जीवनमा पनि उतारचढाव आउँदा रहेछन्। तर, यो चार वर्षको अवधिमा हामीले आम नागरिकको मन जित्न सफल भएका छौँ। नागरिकको खबरदारी नै हाम्रा लागि मुख्य मार्गदर्शन हो।’
बैठकमा रास्वपाको आगामी रणनीति, संगठन विस्तार र आसन्न महाधिवेशनका विषयमा विस्तृत छलफल भइरहेको छ।






प्रतिक्रिया