
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नम्बर ८ मा पर्ने कुइनेखानीलाई ‘अर्गानिक गाउँ’ घोषणा गरेको छ।
गाउँपालिकाको २१औँ गाउँसभाले छन्त्याल समुदायको बाहुल्य रहेको यस बस्तीलाई प्राङ्गारिक उत्पादनको नमूना क्षेत्रका रूपमा विकास गर्ने निर्णय गरेको हो।
गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमार्फत कुइनेखानीमा परीक्षण योजना (पाइलट प्रोजेक्ट) का रूपमा अर्गानिक अभियान सुरु गर्ने तयारी गरेको छ।
स्थानीय स्तरमा रासायनिक मल र विषादीको प्रयोग नियन्त्रण गरी सर्वसाधारणको स्वास्थ्य रक्षा गर्ने र रैथाने बालीको संरक्षण गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो।
यो अभियानको सुरुवातका लागि पहिलो वर्ष १ लाख रुपैयाँ विनियोजन गरिएको छ। यस बजेटबाट कृषकहरूले आफ्नै गाउँघरमा उत्पादन गर्ने प्राङ्गारिक मलमा गाउँपालिकाले शतप्रतिशत अनुदान उपलब्ध गराउनेछ।
कुइनेखानीमा मुख्यगरी आलु, जौ, मकै र कोदो जस्ता बालीको खेती हुँदै आएको छ। प्राङ्गारिक प्रमाणीकरणसँगै स्थानीय उत्पादनको गुणस्तर वृद्धि हुने र कृषकहरूको आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै कुइनेखानीलाई अर्गानिक बनाउने मात्र नभई ‘एक वडा, एक उत्पादन’ कार्यक्रमलाई पनि अघि सारेको छ।
प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलका अनुसार, वडाको विशिष्टता अनुसार कृषि उत्पादन बढाउन यस कार्यक्रमका लागि १६ लाख रुपैयाँ विनियोजन गरिएको छ।
समग्रमा आगामी आर्थिक वर्षका लागि रघुगंगा गाउँपालिकाले कृषि क्षेत्रमा मात्रै ५५ लाख ७५ हजार रुपैयाँ बजेट छुट्याएको छ।
यस बजेटबाट माटोको स्वास्थ्य सुधार, कृषकलाई तालिम, र कृषि अनुदानका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछन्। स्थानीय रैथाने बालीको उत्पादन, प्रवर्द्धन र बजारीकरणलाई गाउँपालिकाले विशेष प्राथमिकतामा राखेको छ।






प्रतिक्रिया