
काठमाडौं । पर्यटन प्रवद्र्धनमा विशेष चासो देखाउँदै आएका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पूर्वी नेपालको एक लुकेको स्वर्ग मानिने ‘मकालु बेस क्याम्प’ ट्रेकको विशेष भिडियो र विस्तृत जानकारी सार्वजनिक गरेका छन्।
यसअघि सुदूरपश्चिमको अपी हिमाल बेस क्याम्पको भिडियो सार्वजनिक गरेर सो क्षेत्रलाई चर्चामा ल्याएका शाहले यसपटक मकालु बरुण उपत्यकाको साहसिक पदयात्रालाई सामाजिक सञ्जालमार्फत विश्वमाझ चिनाउन पहल गरेका हुन्।
उनले सार्वजनिक गरेको भिडियोमा मकालु क्षेत्रको लोभलाग्दो प्राकृतिक सौन्दर्य, जैविक विविधता र चुनौतीपूर्ण पदयात्रा मार्गलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।
मकालु बरुण उपत्यका नेपालको दुर्गम तर अत्यन्तै सुन्दर हिमाली क्षेत्र मानिन्छ। ४,८७० मिटरको उचाइमा रहेको मकालु बेस क्याम्प पुग्न १७ देखि १८ दिनको समय लाग्छ। विशेषगरी वसन्त ऋतु (मार्च-मे) र शरद ऋतु (सेप्टेम्बर-नोभेम्बर) यो पदयात्राका लागि उत्तम मानिन्छ।
प्रधानमन्त्री बालेन शाहले पछिल्लो समय नेपालका ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूलाई आफ्नै शैलीमा प्रवर्द्धन गरिरहेका छन्।
‘मकालु बरुण उपत्यकाको यो यात्रा केवल हिँडाइ मात्र नभएर प्रकृतिको अनुपम उपहारलाई महसुस गर्ने अवसर पनि हो,’ उनले भिडियोमार्फत सन्देश दिएका छन्।
यो पहलले पूर्वी नेपालको पर्यटन विकासमा टेवा पुग्ने र आन्तरिक तथा बाह्य पर्यटकहरूलाई मकालु क्षेत्रतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

यस्तो छ प्रधानमन्त्री शाहको भिडियोमा आधारित १७ दिने यात्रा मार्ग:
प्रधानमन्त्रीले साझा गरेको विवरण अनुसार, यात्राको सुरुवात काठमाडौंबाट तुम्लिङटारसम्मको उडान वा लामो गाडी यात्रा (१४-१६ घण्टा) बाट हुन्छ।
पहिलो चरण (सुरुवात) : तुम्लिङटारबाट नुम हुँदै सेदुवा र ताशिगाउँसम्मको पदयात्रा, जहाँबाट मकालु बरुण राष्ट्रिय निकुञ्जको सीमा सुरु हुन्छ।
दोस्रो चरण (उकालो यात्रा): ताशिगाउँबाट खोंग्मा डाँडा ९३,५०० मि र दोबाटो हुँदै याङ्ग्ले खर्कको रमणीय उपत्यकामा प्रवेश गरिन्छ।
विशेष आकर्षण (शिव धारा): यात्राको आठौँ दिन याङ्ग्ले खर्कबाट पवित्र ‘शिव धारा’ को दर्शन गर्ने व्यवस्था मिलाइएको छ, जुन यस क्षेत्रको धार्मिक र प्राकृतिक दुवै दृष्टिकोणले महत्त्वपूर्ण छ।
लक्ष्य (बेस क्याम्प): लाङमाले खर्क हुँदै दशौँ दिनमा मकालु बेस क्याम्प पुगिन्छ, जहाँबाट हिमालको विशाल दृश्य अवलोकन गर्न सकिन्छ।
फिर्ती यात्रा: बेस क्याम्पमा एक दिनको अन्वेषणपछि पुन: याङ्ग्ले खर्क, दोबाटो, सेदुवा र तुम्लिङटार हुँदै काठमाडौं फर्कने तालिका छ।







प्रतिक्रिया