गोंगबु-माछापोखरी क्षेत्रमा बन्ने भयो चक्रपथकै दोस्रो फ्लाइओभर: यस्तो छ गुरुयोजना


काठमाडौं । संघीय राजधानीको सवारी आवागमनलाई सहज बनाउन चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत माछापोखरी–गोंगबु क्षेत्रमा नयाँ फ्लाइओभर निर्माण गरिने भएको छ।

ललितपुरको ग्वार्कोमा पहिलो फ्लाइओभर सञ्चालनमा आएको एक वर्ष पुग्नै लाग्दा उत्तरतर्फको खण्डमा दोस्रो फ्लाइओभर बनाउने तयारीले पूर्णता पाएको हो।

चिनियाँ सरकारको आर्थिक र प्राविधिक अनुदानमा विस्तार हुन लागेको कलंकी–बसुन्धरा खण्डलाई आधुनिक स्वरुप दिइने योजना छ।

अत्यधिक सवारी चाप र पैदलयात्रीको भिड हुने गोंगबु क्षेत्रमा ट्राफिक जाम कम गर्न यो फ्लाइओभर कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ। यो खण्ड ८ लेनको हुनेछ।

नेपाल र चीनबीच सन् २०१८ मै सडक विस्तारका लागि प्रारम्भिक सहमति भएको थियो।

सन् २०२४ मा दुई देशबीच भएको पछिल्लो समझदारी अनुसार चीनले करिब ५६७.१३ मिलियन आरएमबी (साढे १२ अर्ब रुपैयाँ बराबर) यो आयोजनामा खर्च गर्नेछ।

परियोजनाको व्यवस्थापनका लागि ‘फोरसी फर्स्ट हाइवे’ र ‘सियाङ फाङजु’ इन्जिनियरिङ कन्सल्ट्यान्टहरूले प्राविधिक समन्वय गरिरहेका छन्।

सडक विभागमा बुझाइएको प्रस्तावित डिजाइन अनुसार, गोंगबुको पुरानो गंगा हल नजिकबाट फ्लाइओभर सुरु हुनेछ र बीजी मलको छेउमा पुगेर टुङ्गिनेछ। अर्को व्यस्त चोक बालाजुमा भने फ्लाइओभरको सट्टा ट्राफिक लाइटबाटै सवारी व्यवस्थापन गर्ने योजना बनाइएको छ।

कलंकीको अन्डरपासदेखि बसुन्धरासम्मको ८.२ किलोमिटर सडक खण्डमा व्यापक सुधार गरिनेछ। नयाँ डिजाइन अनुसार सडकको कुल ८ लेन रहने र ३ मिटरको मेडियन (बिचको भाग) हुनेछ।

यस्तै पैदलयात्रीका लागि २.७५ मिटर चौडा फुटपाथ रहनेछ। सडकमा सवारीको गति प्रतिघण्टा ५० किलोमिटर तोकिएको छ। विष्णुमति नदीमा ५६० मिटरको भायडक्ट (लामो पुल जस्तो संरचना) र मनमती खोलामा २३ मिटरको नयाँ पुल निर्माण हुनेछ।

सडक खण्डभर १३ वटा कल्भर्ट, ४ वटा नयाँ आकाशे पुल र ११ वटा बस स्टपहरू रहनेछन्।

पूर्वाधार विकास मन्त्रालयका विकास सहायता समन्वय महाशाखा प्रमुख सुशीलबाबु ढकालका अनुसार चिनियाँ पक्षले पेश गरेको डिजाइन स्वीकृत हुनासाथ भौतिक निर्माणको कामले गति लिनेछ।

हालै पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत झाङ माओमिङबीच भएको औपचारिक सम्झौताले काम अघि बढाउन मार्गप्रशस्त गरेको छ। मन्त्री लम्सालले निर्माणका क्रममा आउने अवरोध एक दिनमै समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

केही महिनाअघि काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह (बालेन) ले चक्रपथ विस्तारमा भएको ढिलाइलाई लिएर चिनियाँ कार्यशैलीमाथि कडा प्रश्न उठाएका थिए।

उनले २४ घण्टामा भौतिक पूर्वाधार बनाउने क्षमता भएको चीनले नेपालमा किन ढिलाइ गरेको भन्दै आक्रोश पोखेका थिए।

संयोगवश, हाल बालेन्द्र शाह नै देशको प्रधानमन्त्री छन् र उनकै कार्यकालमा यो आयोजनाले गति लिएको छ। यतिबेला परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा छन्, जहाँ चक्रपथ विस्तारको यो आयोजनालाई प्राथमिकताका साथ छलफल गरिने बताइएको छ।

सरकारले सडक किनारका रुख कटान गर्ने, विद्युतीय पोल सार्ने र अस्थायी संरचना हटाउने काम (साइट क्लियरेन्स) धेरै अघि नै सकिसकेको छ।

सडकको दुवैतर्फ सर्भिस लेन समेत निर्माण भइसकेकाले अब मुख्य सडक विस्तारमा कुनै अवरोध बाँकी छैन। महाराजगञ्ज खण्डमा ७ सय मिटर सडक नेपाली कम्पनीले नै विस्तार गरिसकेको छ । अब बाँकी खण्डको काम द्रुत गतिमा अघि बढ्ने देखिएको छ।