‘सेयर बजार बढेन, उद्योगी खुसी छैनन्, यो बजेटबाट उत्साहित भएको चाहिँ को हो ?’

469
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक एवम् सांसद खुश्बु ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले कुनै पनि क्षेत्रलाई उत्साहित बनाउन नसकेको टिप्पणी गरेकी छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले बजेट सार्वजनिक भएदेखि नै सेयर बजारमा तीव्र गिरावट आएको भन्दै सरकारको आलोचना गरिन् ।

बजेटले अर्थतन्त्रमा सकारात्मक संकेत दिनुपर्नेमा उल्टो प्रभाव पारेको उनले बताइन् ।

‘बजेट वक्तव्य सार्वजनिक हुनेसाथ सेयर बजारमा तीव्र गिरावट देखियो, जुन आजका दिनसम्म कायम नै छ । बजार थप घट्दैछ,’ उनले भनिन्, ‘सामान्यतया बजेटले बजारलाई केही न केही सकारात्मक संकेत दिनुपर्थ्यो, तर यसपटक त्यस्तो देखिएन ।’

सांसद ओलीले बजेटको प्रत्यक्ष प्रभाव पुँजी बजारमा देखिने भए पनि अहिले लगानीकर्ताहरू निरास बनेको उल्लेख गरिन् । उनले थपिन्, ‘आज उद्योग क्षेत्र उत्साहित छैन, सेयर बजार र निजी क्षेत्रमा पनि उत्साह छैन । लगानीकर्तामा आत्मविश्वासको ठूलो कमी देखिएको छ ।’

मुलुकको आर्थिक अवस्था र बजेटको प्रभावकारितामाथि प्रश्न उठाउँदै उनले अर्थमन्त्री र प्रधानमन्त्रीलाई समेत प्रश्न गरिन् । ‘यस्तो अवस्थामा मेरो सरकारसँग, विशेषगरी अर्थमन्त्रीज्यू र प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष प्रश्न छ, आखिर यो बजेटबाट उत्साहित भएको चाहिँ को हो ?’

Skip This