जापानले येनलाई बलियो बनाउन ११७ खर्ब खर्च गरे पनि अझै कमजोर

91
Shares

एजेन्सी । जापानकी अर्थमन्त्री सात्सुकी कातायामा वैदेशिक मुद्रा विनिमयको क्षेत्रमा झन्–झन् असहज स्थितिमा पर्दै गएकी छन् ।

अप्रिलदेखि मेसम्म मुद्रालाई बलियो बनाउन विदेशी विनिमय सञ्चितिबाट ११७ खर्ब येन भन्दा बढी परिचालन गरेपछि र बैंक अफ जापानले नीतिगत दरलाई तीन दशकभन्दा बढी समयपछिकै उच्च विन्दुमा पुर्याए पनि डलरको तुलनामा येन अझै १६० को स्तरमा कमजोर छ ।

स्टेट स्ट्रिट इन्भेस्टमेन्ट म्यानेजमेन्टका वरिष्ठ फिक्स्ड इन्कम रणनीतिकार मासाहिको लुले ब्याजदर वृद्धि व्यापक रूपमा अपेक्षित भएको र यो येनका लागि गोली लागेको घाउमा सानो पट्टी लगाए सरह मात्र भएको बताए ।

यसबाहेक, कातायामा लगायत जापानी अधिकारीहरूले जुनको सुरुमा येनको अत्यधिक उतारचढावविरुद्ध जापान निर्णायक कदम चाल्न तयार रहेको पटक–पटक संकेत दिएका थिए । तर, विडम्बना के भयो भने त्यही संकेतले गर्दा बजारलाई आश्चर्यचकित पार्ने पक्ष कम भयो र फलस्वरूप कुनै पनि हस्तक्षेपको प्रभावकारिता घट्न पुग्यो ।

लुले भने, ‘नीतिनिर्माताहरूले आफ्नो चेतावनी स्पष्ट रूपमा दिएकाले कुनै पनि अग्रिम हस्तक्षेपले क्षणिक राहत मात्र दिन सक्छ ।’

अप्रिल ३० मा डलरको तुलनामा येन १६०.३९ बाट तीव्र रूपमा बढेर १५६.६ मा पुगेको थियो । टोकियोले बजारमा हस्तक्षेप गरेको हुन सक्ने अनुमानलाई त्यसले बल दियो । यो मुद्रा भोलिपल्ट १५५ को आसपास पुगेर बलियो भयो तर त्यसपछि फेरि कमजोर हुन थाल्यो ।

येनको गिरावट रोक्नका लागि मे महिनाको सुरुमा जापानको गोल्डन विक बिदाको समयमा येन १५८ को आसपास हुँदा जापानले फेरि हस्तक्षेप गरेको हुन सक्ने विज्ञहरूले सीएनबीसीलाई बताएका छन् । तर, त्यसले मुद्रालाई फेरि १६० को स्तरतिर झर्नबाट रोक्न सकेन ।

बजार हस्तक्षेप र ब्याजदर वृद्धिले पनि येनको गिरावट नियन्त्रण गर्न नसक्नुको कारण यस मुद्रालाई सताइरहेका संरचनागत कारकहरू हुन् ।

बैंक अफ जापानले आफ्नो नीति कसिलो बनाउँदै लगे पनि अमेरिकी बोन्डको प्रतिफल अझै उच्च रहेको र यसले तथाकथित क्यारी ट्रेडलाई अझै आकर्षक बनाएको नोमुराका बजार रणनीति अनुसन्धानका मुख्य रणनीतिकार नाका मात्सुजावाले बुधबार एक नोटमा उल्लेख गरेका छन् ।

क्यारी ट्रेड भन्नाले लगानीकर्ताहरूले जापानी येन जस्तो कम ब्याजदर भएको मुद्रामा ऋण लिएर अन्यत्र बढी प्रतिफल दिने सम्पत्तिमा लगानी गर्नुलाई बुझिन्छ ।

हाल १० वर्षे जापानी सरकारी बोन्डको प्रतिफल २.६४ प्रतिशत छ भने १० वर्षे अमेरिकी ट्रेजरी बन्डको प्रतिफल ४.४५१ प्रतिशत छ । यो अन्तर क्यारी ट्रेडलाई निरन्तरता दिन पर्याप्त छ ।

अर्को कारक राजनीति पनि हो । मात्सुजावाका अनुसार, प्रधानमन्त्री सानाए ताकाइचीको प्रशासनको अडान रिफ्लेसनरी (आर्थिक गतिविधि बढाउन मुद्रास्फीतिलाई प्रोत्साहन गर्ने) छ । त्यसले जापानको आर्थिक वृद्धिका लागि खुकुलो मौद्रिक नीतिलाई प्राथमिकता दिन्छ । र यसले नीतिगत दृष्टिकोणलाई अस्पष्ट बनाउँदै जापानमा हुने पुँजी प्रवाहलाई सीमित पारेको छ ।

जापानकी प्रधानमन्त्रीले फेब्रुअरीमा बैंक अफ जापानको बोर्डमा दुईजना प्राज्ञिक व्यक्तिहरूलाई नियुक्तिको लागि सिफारिस गरेकी थिइन् जसलाई खुकुलो नीतिका पक्षपाती मानिन्छ । रोयटर्सका अनुसार, तोइचिरो असादा र अयानो सातो विस्तारकारी वित्तीय र मौद्रिक नीतिहरूको वकालत गर्ने रिफ्लेसनरिस्ट समूहका सदस्य हुन् ।

असादा अहिले बैंक अफ जापानको बोर्डमा छन् र मंगलबार केन्द्रीय बैंकले ब्याजदर बढाउँदा उनले मात्र विपक्षमा मतदान गरेका थिए । सातोले जुनको अन्त्यमा बोर्ड सदस्य जुन्को नाकागावालाई प्रतिस्थापन गर्नेछिन् ।

इरान युद्धका कारण ऊर्जाको मूल्य उच्च रहेको समयमा आयातित ऊर्जामा जापानको भारी निर्भरताले पनि येनलाई दबाबमा पारेको छ किनकि जापानले ऊर्जा खरिदका लागि डलर किन्नुपर्ने हुन्छ ।

सुमितोमो मित्सुई बैंकिङ कर्पोरेसनका अनुसन्धान प्रमुख हिरोफुमी सुजुकीले सीएनबीसीलाई भने, ‘मुद्रा बजारमा हुने अत्यधिक उतारचढाव रोक्न र लगानीकर्ताहरूलाई अनुमानका आधारमा येन बिक्री गर्नबाट निरुत्साहित गर्न वैदेशिक विनिमय हस्तक्षेप गरिन्छ । अहिलेका लागि अधिकारीहरू मूल्यको चाललाई नजिकबाट नियाल्ने अवस्थामै रहेका हुन सक्छन् ।’

तर, छोटो अवधिमा हस्तक्षेपको सम्भावना अझै उच्च छ । नोमुराका मात्सुजावाले भने, ‘बजारमा येनको गिरावटमा गरिने सट्टाबाजी (सर्ट पोजिसनिङ) गोल्डेन विक हस्तक्षेपअघि देखिएको स्तरभन्दा पनि माथि पुगेको छ ।’

अमेरिका र इरानबीचको सम्झौतापछि पश्चिम एसियाको युद्ध अन्त्य हुनु र हर्मुज जलयोजकबाट ढुवानी पुनः सुचारु हुनुले जापानजस्ता देशहरूको ऊर्जा आयात खर्च घटाउन र मुद्रामाथिको दबाब घटाउन मद्दत गर्नेछ ।

स्टेट स्ट्रिटका लुले एआई–सम्बन्धित लगानी, जापानी सेयर बजारमा विदेशीहरूको चासो र प्रविधिमा आधारित निक्केईको उछालले जापानमा पुँजी आकर्षित गर्ने भएकाले दीर्घकालीन पुँजी प्रवाह येनका लागि थप सहयोगी बन्न सक्छ ।

Skip This