मेस्सीका पिताको मृत्युको झूटो खबर फैलाउने अर्जेन्टिनाकी टीभी प्रस्तोताले दिइन् राजीनामा

679
Shares

एजेन्सी । अर्जेन्टिनाकी टीभी प्रस्तोता फ्लोरेन्सिया पेनियाले फुटबल विश्वकपका दौरान अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका पिता जोर्ज मेस्सीको मृत्यु भएको गलत समाचार प्रसारण गरेपछि लुजु टिभीबाट राजीनामा दिएकी छन् ।

मेस्सीले ह्याट्रिक गरेको अल्जेरियाविरुद्धको खेलमा अर्जेन्टिना ३–० ले विजयी भएपछि यो दाबी प्रसारण गरिएको थियो । मेस्सी परिवारले पछि ६८ वर्षीय जर्ज मेस्सीले उपचार गराइरहेको र स्वास्थ्यमा सुधार भइरहेको पुष्टि गरेको छ ।

त्रुटि गरेकोमा पेनियाले सार्वजनिक रूपमा माफी मागिन् भने लुजु टिभीले कर्मचारीलाई बर्खास्त गरिएको घोषणा गर्दै आफ्ना समाचार प्रमाणीकरणका मापदण्डहरूलाई पुनः जोड दियो ।

लुजु टिभीको कार्यक्रम एल शो डेल भेरानोमा प्रसारित यो दाबी मेस्सी परिवारले सार्वजनिक रूपमा खण्डन गर्नुअघि इन्टरनेटमा द्रुत रूपमा फैलिएको थियो । एक दिनभित्रै पेनियाले माफी मागेर आफ्नो भूमिकाबाट बिदा लिइन् र प्रसारण संस्थाले यस घटनासँग सम्बन्धित कर्मचारी हटाएको परिवर्तनको घोषणा गर्यो ।

यो विवाद विश्वकपमा अर्जेन्टिनाको पहिलो खेलपछिको रिपोर्टिङका क्रममा सुरु भएको थियो । ३८ वर्षीय मेस्सीले अल्जेरियाविरुद्ध तीन गोल गरेका थिए र गोल गरेपछि उनी निकै भावुक देखिएका थिए ।

कार्यक्रमको प्रत्यक्ष प्रसारणका क्रममा पेनियाले दर्शकहरूलाई भनिन्, ‘म नराम्रो समाचार सुनाउन त चाहन्नँ तर मेस्सीका पिताको भर्खरै मृत्यु भएको छ ।’

उनले थपिन्, ‘विश्वकपको ठीक बीचमा उनले (मेस्सीले) फर्कनुपर्नेछ ।’

तर, उक्त जानकारी गलत साबित भयो । आलोचना बढ्दै गएपछि पेनियाले एक विज्ञप्ति जारी गर्दै अप्रमाणित जानकारी दोहो¥याएकोमा जिम्मेवारी स्वीकार गरिन् । उक्त जानकारी उनलाई प्रत्यक्ष प्रसारणको क्रममा दिइएको उनले बताएकी थिइन् ।

‘म मेस्सी परिवारसँग उनीहरूले सामना गरिरहेको पीडादायी क्षणका लागि माफी चाहन्छु । यो पीडा पुर्याउने माध्यम बनेकोमा म निकै लज्जित छु,’ उनले भनिन् ।

उनले थपिन्, ‘तैपनि यो गल्तीको हिस्सा बनेकोमा म जिम्मेवारी लिन्छु र त्यसैले मैले लुजुबाट अलग हुने र आफ्नो सहभागिता अन्त्य गर्ने निर्णय गरेकी छु । म फेरि हृदयदेखि नै माफी माग्छु । म गलत थिएँ ।’

लुजु टिभीले पनि यस घटनालाई सम्बोधन गर्दै प्रमाणविना संवेदनशील जानकारी प्रसारण गर्नु अस्वीकार्य भएको बताएको छ र संस्थाभित्र परिवर्तनको पुष्टि गरेको छ ।

मेस्सी परिवारले जोर्ज मेस्सीको अवस्था स्पष्ट पार्दै विस्तृत विज्ञप्ति जारी गरेको छ । स्वास्थ्य समस्या रहेको स्वीकार गर्दै उनीहरूले मृत्युको खबर पूर्णतया गलत भएको कुरामा जोड दिएका छन् ।

‘मेस्सी परिवारले जर्जको स्वास्थ्य अवस्था अहिले केही खराब रहेको जानकारी गराउँछ । यस समयमा उनी चिकित्सकको निगरानीमा छन्, स्वास्थ्यमा सुधार भइरहेको छ र उनको अवस्था सकारात्मक रूपमा अघि बढिरहेको छ,’ उनीहरूले भनेका छन् ।

परिवारले यस विषयमा भइरहेका अडकलबाजीहरूको पनि आलोचना गरेको छ र सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई संयम अपनाउन आग्रह गरेको छ ।

जर्ज मेस्सी लामो समयदेखि आफ्ना छोराको करियरमा सबैभन्दा प्रभावशाली व्यक्तित्वका रूपमा रहँदै आएका छन् । पिताको भूमिकाका साथै उनले लियोनल मेस्सीको व्यावसायिक यात्राभरि मुख्य व्यावसायिक निर्णयहरू, सम्झौता वार्ता, इमेज राइट्स र प्रमुख ट्रान्सफरहरूको व्यवस्थापन गरेका छन् ।

मेस्सीले अल्जेरियाविरुद्धको खेलमा देखाएको भावुक प्रतिक्रियाको पछाडि केही व्यक्तिगत कारणहरू रहेका बेला यो घटना घटेको थियो । खेलपछि इन्टर मायामीका यी स्टारले स्पष्ट पारे । ‘म किन रोएँ ? त्यो फुटबलसँग पूर्णतया असम्बन्धित कुरा थियो,’ उनले भने ।

अर्जेन्टिना अहिले विश्वकपमा केन्द्रित छ । समूह चरणको अर्को खेलमा उसले अस्ट्रियासँग भिड्ने तालिका छ ।

Skip This