एआई सुशासनका चीनले थाल्यो पहल, अमेरिकाले थालेको व्यापार युद्धको आलोचना


एजेन्सी । चीनका वरिष्ठ अधिकारीहरूले बेइजिङको कृत्रिम बुद्धिमत्ता (एआई) लाई विश्वव्यापी रूपमा र सुरक्षित रूपमा साझा गर्ने योजनाहरूमा जोड दिएका छन् । त्यो अमेरिका र चीनले यस प्रविधिलाई लिएर कसरी फरक दृष्टिकोणहरू प्रवर्धन गरिरहेका छन् भन्ने पछिल्लो संकेत हो ।

चीनका विदेशमन्त्री वाङ यीले पत्रकारहरूलाई भने, ‘चीनले विश्वव्यापी एआई सहयोग संगठनको स्थापनालाई तीव्रता दिइरहेको छ र यसमा सामेल हुन सबै पक्षहरूलाई स्वागत गर्छ ।’ यस प्रविधिले मानिसका आवश्यकताहरू पूरा गर्नुपर्नेमा उनले जोड दिए ।

वाङ चीनको ग्लोबल गभर्नेन्स (विश्वव्यापी सुशासन) सम्बन्धी श्वेतपत्र सार्वजनिक गर्ने क्रममा बोलिरहेका थिए । त्यसमा व्यापार युद्धको आलोचना गरिएको छ र ग्लोबल साउथलाई समर्थन गर्ने कुरामा जोड दिइएको छ ।

वाङको यो टिप्पणी यस्तो समयमा आएको हो जब ट्रम्प प्रशासनले अमेरिकामा विकसित प्रमुख एआई मोडेलहरूमा विदेशी पहुँचलाई सीमित गर्ने प्रयासहरूलाई तीव्र पारिरहेको छ ।

रोयटर्सले मंगलबार तीन कूटनीतिक स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेअनुसार, यसै साता फ्रान्समा भएको शिखर सम्मेलनको क्रममा धनी राष्ट्रहरूको समूह जी–७ (अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, क्यानडा, इटली र जापान) ले भरोसायोग्य साझेदारहरूलाई अमेरिकी एआई मोडलहरूमा पहुँच दिने योजनाबारे छलफल गरेका थिए ।

अमेरिकी एआई मोडलहरू प्रायः शुल्क तिरेर मात्र चलाउन मिल्ने (सब्स्क्रिप्सन–ओन्ली) खालका हुन्छन् जबकि चीनका प्रयासहरू सस्तो वा निःशुल्क एआई मोडलहरूमा केन्द्रित छन् जसलाई प्रायः पूर्ण रूपमा डाउनलोड गर्न सकिन्छ ।

बुधबार वाङसँगै बोल्दै चीनको शीर्ष आर्थिक निकायका उपाध्यक्ष चाओ हाइबिङले प्रविधि विकासका लागि अपनाइने बन्द, विशेष र एकाधिकारवादी दृष्टिकोणको विरोध गरे ।

यसको साटो चाओले ब्रिक्स र शाङ्हाई सहयोग संगठन (एससीओ) मार्फत अन्तर्राष्ट्रिय एआई सहयोगलाई गहिरो बनाउने चीनको प्रयासमा जोड दिए । त्यो सुरक्षामा केन्द्रित रुस र इरान लगायतका देशहरूको वार्षिक भेला हो ।

चाओले चीनको सबैका लागि एआई क्षमता निर्माण पहल, विश्वव्यापी एआई सुशासनको नेतृत्व गर्न संयुक्त राष्ट्रसंघलाई दिइने समर्थन र विकासोन्मुख देशहरूलाई प्रविधि र प्रतिभामा सहयोग गर्ने प्रयासहरूको पनि चर्चा गरे ।

अमेरिका र चीनले गत महिना छुट्टाछुट्टै रूपमा दुवै पक्षले एआईका लागि सुरक्षा घेरा (गार्डरेल्स) निर्माणमा काम गर्ने बताएका थिए । तर, यसबारे थोरै विवरण मात्र बाहिर आएका छन् ।

बेइजिङले पछिल्लो १२ महिनामा विश्वव्यापी सहयोगका लागि व्यापक प्रस्तावहरू अघि सारेको छ ।

चीनका राष्ट्रपति सी चिनपिङले गत ग्रीष्मकालको अन्त्यमा चीनद्वारा आयोजित एससीओको बैठकमा ग्लोबल गभर्नेन्स इनिसिएटिभ (विश्वव्यापी सुशासन पहल) प्रस्ताव गरेका थिए ।

त्यसको केही हप्ताअघि शाङ्हाईमा भएको वार्षिक एआई सम्मेलनमा चिनियाँ प्रधानमन्त्री ली छ्याङले चिनियाँ सरकारले विश्वव्यापी एआई सहयोग संगठन स्थापनाको प्रस्ताव गरेको घोषणा गरेका थिए । लीको यो भनाइ ट्रम्प प्रशासनले विदेशमा अमेरिकी प्रविधि विकासका लागि सहयोग समावेश गरिएको एआई कार्ययोजना घोषणा गरेको केही दिनपछि आएको हो ।