आफ्नै कर्मचारीलाई कम्पनी सुम्पिँदै अमेरिकी उद्यमी: ‘सिल्भर सुनामी’ पछिको नयाँ अभ्यास


ओरेगनस्थित सफ्टस्टार सुजका कर्मचारीहरू अब यो व्यवसायका मालिक बनेका छन्

एजेन्सी । ओरेगनस्थित सफ्टस्टार सुजका कर्मचारीहरूमा स्रोतसाधनको सदुपयोग गर्ने र नाफा बढाउने नयाँ उत्साह जागेको छ।

यो जनवरीदेखि सुरु भयो जब ३० जना कर्मचारी भएको यो जुत्ता निर्माता कम्पनी यसका कर्मचारीहरूको स्वामित्वमा गयो ।

पूर्व एकल मालिक र मुख्य कार्यकारी ट्रिसिया साल्सिडोले यो व्यवसाय कर्मचारीहरूलाई बेच्ने निर्णय गरेकी थिइन्, किनभने ५६ वर्षको उमेरमा उनले आफ्नो भविष्यको अवकाशको योजना बनाउन थालेकी छिन् ।

आगामी केही वर्षका लागि मुख्य वित्तीय अधिकृतको रूपमा रहने साल्सिडोसहकर्मीहरूले अहिले व्यवसायका पक्षहरू कसरी राम्रोसँग चलाउने भन्ने बारे धेरै सुझावहरू दिइरहेका बताउँछिन् ।

‘मैले कर्मचारीहरूबाट व्यक्तिगत इमेलहरू पाइरहेको छु जसमा लेखिएको हुन्छ, ‘के तपाईंले यो विचारको बारेमा सोच्नुभएको छ?’उनी भन्छिन्, ‘यी यस्ता व्यावसायिक अन्तर्दृष्टिहरू हुन् जुन पहिले आउँदैनथे !’

साल्सिडो अमेरिकाका ती साना तर बढ्दो संख्याका व्यवसाय मालिकहरूमध्ये एक हुन् जसले बाह्य खरिदकर्तालाई बेच्नुको सट्टा आफ्ना उद्यमहरू कर्मचारीहरूलाई सुम्पिने विकल्प रोजिरहेका छन् ।

सन् २०२५ को एउटा अध्ययनले बताए अनुसार वार्षिक ६०० सम्म अमेरिकी फर्महरू आफ्ना कामदारहरूलाई बेचिने गरेका छन्, जसमा यी सम्झौताहरूलाई वित्तपोषण गर्न मद्दत गर्ने लगानी कोषहरू सन् २०२४ मा ५०० मिलियन डलरबाट ७८% ले बढेर गत वर्ष ८६५ मिलियन डलर पुगेका छन्, जसले थप व्यवसायहरू हस्तान्तरण भइरहेको संकेत गर्दछ ।

कर्मचारीहरूलाई उत्प्रेरित गर्नुका साथै-जसले स्वामित्वको जोखिम र प्रतिफल दुवै बाँड्छन्-अनुसन्धानले देखाउँछ कि कर्मचारी-स्वामित्व भएका कम्पनीहरू बढी उत्पादक हुन सक्छन्, कर्मचारी कटौती गर्ने सम्भावना कम हुन्छ र उनीहरूले बढी पारिश्रमिक दिन्छन् ।

साल्सिडोका लागि यो स्थानीय रोजगारी जोगाउने र उनको फर्मको कलाकारितापूर्ण जुत्ता निर्माणलाई अमेरिकाबाहिर जानबाट रोक्ने एउटा माध्यम थियो । जुन लागत कटौती गर्ने कर्पोरेट खरिदकर्ताको स्वामित्वमा हुँदा हुनेछ भन्नेमा उनी विश्वस्त थिइन् ।

‘यो यस्तो चिज हो जसमा तपाईंले आफ्नो जीवनभरको मेहनत लगाउनुभएको हुन्छ । धेरैजसो साना व्यवसाय मालिकहरूले साँच्चै माया गर्छन्,’ उनी भन्छिन्।

साल्सिडो जस्तै ठूलो संख्यामा अन्य अमेरिकी उद्यमीहरू पनि उस्तै अवस्थामा छन् । उनीहरू अवकाशको उमेर नजिक पुगिरहेका छन् र त्यसैले उनीहरूले आफ्ना व्यवसायहरू के गर्ने भन्ने निर्णय गर्नुपर्नेछ ।

भविष्यको अवकाशलाई ध्यानमा राख्दै ट्रिसिया साल्सिडोले आफ्नो व्यवसाय कर्मचारीहरूलाई बेचेकी छिन्।

व्यावसायिक परामर्शदाता फर्म ‘म्याकिन्से’को यस वर्षको रिपोर्टका अनुसार करिब ६० लाख अमेरिकी साना र मझौला कम्पनीका ‘बेबी बुमर’ मालिकहरू अहिलेदेखि सन् २०३५ को बीचमा अवकाश लिनेछन् । केही टिप्पणीकारहरूले यसलाई ‘सिल्भर सुनामी’को संज्ञा दिएका छन् ।

म्याकिन्से यो ठूलो संख्याको अवकाशले ‘स्वामित्व हस्तान्तरणको पुस्तामा एक पटक आउने लहर’ ल्याउने बताउँछन् ।

हार्वर्ड बिजनेस स्कूलका एसोसिएट प्रोफेसर एथान रुएन भन्छन्, ‘मलाई लाग्दैन कि कुनै हप्ता यस्तो बित्छ जहाँ म आफ्नो व्यवसाय बेच्न खोजिरहेका मालिकसँग कुरा गर्दिन ।’

उनी थप्छन् कि उनीहरूका वयस्क छोराछोरीहरू अक्सर पारिवारिक उद्यम सम्हाल्न इच्छुक हुँदैनन् ।

रुएन र उनका हार्वर्डका सहकर्मीहरू कर्मचारी स्वामित्वमा परिवर्तन हुनुले धेरै फर्महरूलाई बाँच्न मद्दत गर्न सक्छ, र यस्तो कदम प्रायः ती मालिकहरूका लागि आकर्षक हुन्छ जसले आफ्ना कर्मचारीहरूको धेरै ख्याल राख्छन् र ठूला कम्पनी वा निजी इक्विटी फर्मलाई बिक्री गरेपछि के होला भनेर चिन्ता गर्छन् भन्ने मान्छन् ।

विलियम स्टकवेलको मामलामा पनि त्यस्तै भएको थियो, जसले १९१९ मा उनका पजिजुले सुरु गरेको औद्योगिक पुर्जाहरूको निर्माता फिलाडेल्फियास्थित ‘स्टकवेल इलास्टोमेरिक्स’ को भविष्य जोगाउन चाहन्थे ।

अन्य फर्महरू बाहिरबाट खरिद गरिएपछि के भयो भन्ने देखेपछि स्टकवेलले आफ्ना कर्मचारीहरूलाई बेच्ने निर्णय गरे । ‘नयाँ (बाह्य) स्वामित्वले व्यवसाय सार्न सक्छ, बन्द गर्न सक्छ, वा अन्य तरिकाले ठूलो परिवर्तन गर्न सक्छ, र बाँकी रहेका मानिसहरू अलपत्र पर्छन्,’ उनी भन्छन् ।

अमेरिकामा कार्यशक्तिले आफ्नो कम्पनी किन्न सक्ने धेरै फरक योजनाहरू उपलब्ध छन्। सफ्टस्टार सुजमा उनीहरूले एम्प्लोई ओनरशिप ट्रस्ट प्रयोग गरे ।

ईओटी अन्तर्गत एउटा ट्रस्ट (गुठी) स्थापना गरिन्छ, जसले कर्मचारीहरूको तर्फबाट व्यवसायको स्वामित्व लिन्छ, जसले गर्दा कर्मचारीहरूले आफ्नै खल्तीबाट व्यवसाय किन्नुपर्ने आवश्यकता पर्दैन ।

त्यसपछि ट्रस्टले पूर्व मालिकलाई व्यवसायको सहमत बिक्री मूल्य भविष्यको नाफाको हिस्साको रूपमा किस्ताबन्दीमा तिर्छ ।

यसको अर्थ साल्सिडोले आफ्नो पैसा पाउनुअघि प्रतीक्षा गर्न प्रतिबद्ध हुनुपरेको छ, जसमा जोखिमको तत्व पनि छ—उनलाई व्यवसाय सफल भइरहनु आवश्यक छ ।

‘मैले जोखिम उठाउँछु, किनकि यदि केही भयो भने, मैले पैसा पाउँदिन,’ उनी भन्छिन्। तर उनलाई आफ्नो टोलीले प्रतिफल दिनेछ भन्ने विश्वास छ । उनीहरूले वार्षिक नाफाको हिस्सा पनि पाउँछन् ।

स्टकवेल, जो अहिले स्टकवेल इलास्टोमेरिक्सका लागि आंशिक समय काम गर्छन्, उनले कर्मचारीहरूलाई स्वामित्व हस्तान्तरण गर्ने थोरै फरक तरिका रोजे—एम्प्लोई स्टक ओनरशिप प्लान वा ईएसओपी ।

यसमा पनि व्यवसायलाई ट्रस्टको स्वामित्वमा राखिन्छ, तर कर्मचारीहरूले वार्षिक नाफा बाँड्नुको सट्टा सेयरहरू पाउँछन् जुन उनीहरूले कम्पनी छोड्दा मात्र नगदमा साट्न सक्छन्।
यसैबीच, अवकाश लिने मालिकले पनि आफ्नो पैसाको लागि पर्खनुपर्छ । ‘मैले १० वर्षसम्म भुक्तानी स्वीकार गरिरहेको छु,’ स्टकवेल भन्छन्, जसले आफूले ‘अल्पकालीन वित्तीय त्याग’ गरिरहेको स्वीकार गर्छन् ।

अमेरिकामा फर्महरू कर्मचारीलाई हस्तान्तरण गर्ने ईएसओपी सबैभन्दा प्रचलित तरिका हो। २०२३ को पछिल्लो तथ्यांक अनुसार यस्तो स्वामित्व संरचना अन्तर्गत ६,६०९ कम्पनीहरू थिए। यिनीहरूले १०.९ मिलियन मानिसहरूलाई रोजगारी दिएका थिए र यिनीहरूसँग २ ट्रिलियन डलरभन्दा बढीको कुल सम्पत्ति थियो ।

कर्मचारीहरूले स्वामित्व लिने तेस्रो तरिका कामदार सहकारीको सिर्जना हो, जसमा कामदारहरूले व्यवसायको सेयर किन्छन् ।

हार्वर्डका रुएन कर्मचारी स्वामित्वले धेरै वर्ष लगाएर आफूले निर्माण गरेको कुरा जोगाउन खोज्ने वृद्ध संस्थापकहरूलाई मात्र आकर्षित नगर्ने बताउँछन् । परम्परागत, असमान कर्पोरेट संरचनाहरूबाट ‘मोहभंग’ भएका युवा कामदारहरू पनि यो मोडेलप्रति आकर्षित छन्।
‘यस देशमा वास्तवमै धन सिर्जना गर्ने एक मात्र तरिका पूँजीको स्वामित्व हो। र यो त्यसलाई लोकतान्त्रीकरण गर्ने एउटा तरिका हो,’ उनी भन्छन् ।

यद्यपि, ईओटी र ईएसओपी योजनाहरू निस्सन्देह व्यवसायको साधारण, परम्परागत बिक्री भन्दा स्थापना गर्न बढी जटिल छन्, जसले केही मालिकहरूलाई निरुत्साहित गर्न सक्छ। आफ्नो पैसाको लागि लामो प्रतीक्षा र बढेको जोखिमले पनि यसो गर्छ ।

यी योजनाहरू अवस्थित छन् भन्ने बारे सचेतनाको कमीले गर्दा पनि यसको अवलम्बनमा बाधा पुगेको छ । सफ्टस्टार सुजकी साल्सिडो भन्छिन्, ‘यसको बारेमा कसैले सुनेकै छैन।’

मध्य पेन्सिलभेनियामा पल सिल्भिस आफ्नो उत्पादन व्यवसाय ‘सिल्कोटेक कर्पोरेसन’ आफ्ना कर्मचारीहरूलाई बेच्ने प्रक्रियामा छन् । आफूले सही निर्णय गरेकोमा उनी विश्वस्त छन्।
७१ वर्षीय सिल्भिस भन्छन्, ‘म कुनै बिन्दुमा सुखद अवकाशको तयारीमा छु।’

स्टकवेल आफ्ना कर्मचारीहरूले स्वामित्व लिन चाहने अवकाश लिने व्यवसाय मालिकहरूले वर्षौं लाग्न सक्ने प्रक्रियाको लागि चाँडै योजना बनाउन सुरु गर्नुपर्नेमा सतर्क छन् ।
‘यो यस्तो कुरा होइन जुन तपाईंले अवकाश लिन चाहेको वर्षमा सुरु गर्न चाहनुहुन्छ,’ उनी भन्छन् ।

रुएन सौभाग्यवश, वाशिंगटनमा अहिले कर्मचारी स्वामित्वको प्रक्रियालाई सरल बनाउन राजनीतिक इच्छाशक्ति रहेको र अमेरिकी सरकारले यसलाई प्रोत्साहन गर्न थालेको बताउँछन्।

श्रम विभागसँग नयाँ ‘कर्मचारी स्वामित्व पहल’ छ, जसको उद्देश्य यस अभ्यासलाई प्रवर्द्धन गर्ने र सल्लाह दिने दुवै हो ।

उनी थप्छन्, कांग्रेसमा पनि ‘व्यवसाय मालिकहरूका लागि [कर्मचारीहरूलाई बेच्ने कार्य] सजिलो र बढी यथार्थपरक विकल्प बनाउने उपायहरू खोज्न’ द्विपक्षीय समर्थन छ । नतिजा स्वरूप, ‘मेरो अनुमान छ कि हामीले आगामी केही वर्षहरूमा थप सफल कर्मचारी स्वामित्व रूपान्तरणहरू देख्नेछौं ।’

बीबीसीबाट

Skip This