
एजेन्सी । अमेरिकाको लस एन्जलसको सोफी स्टेडियममा सोमबार राति इरान र न्युजिल्यान्डबीचको खेल २–२ को रोमाञ्चक बराबरीमा सकिएको छ । तर, खेलको नतिजाभन्दा बढी चर्चा इरानी खेलाडीहरूको गोल सेलिब्रेसन र उनीहरूले भोगेको प्रशासनिक सास्तीले पाएको छ ।
अमेरिका र इरानबीचको तनावपूर्ण सम्बन्ध, भिसाको समस्या र अन्तिम समयमा मेक्सिकोमा तालिम क्याम्प सार्नुपर्ने बाध्यताका बीच मैदान उत्रिएको इरानका लागि मोहम्मद मोहेबी र रामिन रेजाइनले गोल गरे । तर, गोलपछिको उनीहरूको इशारालाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ ।
६४औं मिनेटमा बराबरी गोल गरेपछि मोहम्मद मोहेबीले आफ्नो दाहिने हातमा देब्रे हातका दुईवटा औंला राखेर हावामा हल्लाएका थिए । धेरैले यसलाई बन्दुकको इशारा वा युद्धको सन्दर्भका रूपमा बुझे । तर, खेलपछि मोहेबीले यसलाई स्पष्ट पार्दै भने, ‘मैले यो केवल लस एन्जलसमा आएका इरानी फ्यानहरूका लागि गरेको हुँ । गोल गरेपछिको त्यो क्षणमा जे दिमागमा आयो, त्यही गरें । यो एउटा सामान्य खुसीयाली मात्र हो, यसलाई अन्यथा नलिइदिनुहोला ।’
मोहेबीले आफ्नो इशारालाई सामान्य भने पनि अर्का गोलकर्ता रामिन रेजाइनले भने फरक कुरा बताए । गोल गरेपछि आफ्नो जर्सीले मुख छोपेका उनले यो कार्य राजनीतिक भएको स्वीकार गरे ।

उनले भने, ‘यो राजनीतिक कुरा हो । म यस विषयमा धेरै बोल्न चाहन्नँ । हामी यहाँ फुटबलका प्रश्नहरूको जवाफ दिन आएका हौं । हाम्रा मानिसहरूबीच कुनै समस्या छ भने त्यो हाम्रो आन्तरिक कुरा हो ।’
इरानी टोलीका धेरै स्टाफ र अधिकारीहरूलाई अमेरिकाले भिसा नदिएपछि टोली पहिले नै दबाबमा थियो । यस्तो अवस्थामा पनि खेलाडीहरूले मैदानमा उत्कृष्ट खेल देखाए । अब इरानले आगामी आइतबार बेल्जियमसँग र त्यसपछि इजिप्टसँग खेल्नेछ ।











प्रतिक्रिया