विश्वकप: जर्मनीको सुखद् सुरूवात, कुरासाओ पराजित


काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुरासाओलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भरखरै सम्पन्न समूह इ को खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । जर्मनीले पहिलो हाफमा तीन गोल गर्यो भने खेलको दोस्रो हाफमा चार गोल थप्यो । जर्मनीका लागि काई हाभाट्र्जले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन र डेनिज उन्डाभले समान एक–एक गोल गरे ।

एनमेचाले खेलको छैटौं मिनेटमै गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको २१ औं मिनेटमा कुरासाओका लिभानो कोमेनेन्सियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि जर्मनीका निको स्लोटरबेकले खेलको ३८औं मिनेटमा गोल गर्दै खेललाई २–१ को अग्रता बनाए ।

त्यसपछि खेलको पहिलो हाफको अत्तिरित्त समयमा हाभाट्र्जले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अग्रता दिलाए । त्यसैगरी मुसिएलाले खेलको ४७औं मिनेटमा गोल गर्दा ब्राउनले खेलको ६८औं मिनेटमा अर्को गोल थपे । त्यस्तै खेलको ७८ औं मिनेटमा उन्डाभले गोल गरे भने काई हाभाट्र्जले खेलको ८८ औं मिनेटमा अर्को गोल थपे ।
यस जितसँगै जर्मनीले शीर्ष तीन अंक जोडेको छ ।