२ रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु: अर्थमन्त्री वाग्ले

231
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिएका छन् ।

बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र बदनाम गर्ने प्रयास गरेको भन्दै उनी समितिमा भावुक सुनिए ।

‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु,’ अर्थमन्त्री वाग्लेले भने, ‘यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरूमा छ ?’

बैठकमा सांसदहरूले करको दर हेरफेरबारे सूचना चुहाएर ५ हजारभन्दा बढी गाडी आयात हुँदा अर्बौं राजश्व हिनामिना भएको बताएका थिए ।

समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले ५ हजारभन्दा बढी गाडी आयात हुँदा अर्बौं राजश्व हिनामिना भएको बताएकी थिइन् ।

आर्थिक विधेयकमा करको दर हेरफेर भएको र करका देर हेरफेरको सूचना चुहावट गरेको विषयमा जवाफ माग्दै उनले भनिन्,‘७/८ सिटको गाडीलाई ११ सिटको कायम गरी त्यसमा फोल्डिङको अमान्य सिटहरूलाई पनि मान्य गरी ७/८ सिटको लागि लाग्ने ३० प्रतिशतको भन्सारको सट्टा ११ सिटका लागि लाग्ने १० प्रतिशत भन्सार कायम गरी २० प्रतिशत भन्सार हिनामिना गरेको पाइएको छ ।’

यस्तै ११ देखि १४ सिटको लागि १० प्रतिशत भन्सार रहेकोमा यस्ता सवारीमा पनि अमान्य सिटहरूलाई मान्य गरी १५ देखि देखि १८ सिट कायम गरी १ प्रतिशत भन्सार लिएर ९ प्रतिशतको राजश्व हिनामिना भएको उनले बताइन् ।