इटहरीमा ४ हजार क्षमताको कन्भेन्सन सेन्टरसहितको रिसोर्ट बन्ने, दक्षिण एशियाली पर्यटक लोभ्याउने

168
Shares

इटहरी । कोशी प्रदेशको उदाउँदो सहर इटहरीमा एकैपटक ४ हजार मानिस अटाउने क्षमताको भव्य ‘एबी हस्पिटालिटी’ (विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर) निर्माण हुने भएको छ ।

अन्तर्राष्ट्रिय स्तरको यस सम्मेलन केन्द्र निर्माणसँगै पूर्वी नेपाल मात्र नभई सिङ्गो देशकै पर्यटन र आतिथ्यता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुने र यसले दक्षिण एशियाली देशहरूका लागि समेत उत्कृष्ट गन्तव्य प्रदान गर्ने विश्वास गरिएको छ ।

पायेनियर होटल व्यवसायीका रूपमा परिचित देशबन्धु बस्नेत (अजित) को ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको यस परियोजनाका लागि आवश्यक वित्तीय व्यवस्थापनको काम सम्पन्न भइसकेको छ ।

एभरेष्ट बैंक लिमिटेडको नेतृत्वमा रहेको यस वित्तीय व्यवस्थापनमा मुक्तिनाथ विकास बैंकले सहकार्य गरेको छ । काठमाडौंमा मर्क्योर र इटहरीमै रमडा बाई विन्धम जस्ता पाँचतारे होटलहरू सञ्चालनमा ल्याइसकेका बस्नेतको नेतृत्वमा अघि बढ्न लागेको यो तेस्रो अन्तर्राष्ट्रिय स्तरको परियोजना हो ।

यो परियोजनाले पूर्वी नेपाललाई पर्यटन, व्यावसायिक कार्यक्रम, वेडिङ डेस्टिनेशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनीको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । यसबाट इलाम, कन्चनजङ्घा, कोशी टापु, भेडेटार र बराहक्षेत्र जस्ता गन्तव्यको विश्वस्तरमा प्रचार हुनुका साथै नयाँ पर्यटकीय क्षेत्रको विकासमा समेत योगदान पुग्ने देखिन्छ ।

विशेषगरी भारतीय पर्यटकहरूलाई लक्षित गर्दै निर्माण हुन लागेको यो सेन्टरले छिमेकी देशहरू भारत, भुटान र बंगलादेशबाट हुने अन्तर्राष्ट्रिय समारोह र सम्मेलनहरूका लागि उपर्युक्त थलो प्रदान गर्नेछ ।

विराटनगर–इटहरी–धरान आर्थिक तथा पर्यटन कोरिडोरलाई नेपालकै प्रमुख गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन सोच अनुरुप यो परियोजना अघि बढाइएको हो ।

अध्यक्ष बस्नेतले यो परियोजना केवल एउटा होटल वा कन्भेन्सन सेन्टर मात्र नभई पूर्वी नेपालको आर्थिक विकास, रोजगारी सिर्जना र पर्यटन उद्योगको समग्र रूपान्तरणको आधारस्तम्भ बन्ने विश्वास व्यक्त गरेका छन् ।

परियोजना सञ्चालनमा आएपछि हजारौंले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाउनेछन् भने स्थानीय उत्पादनको खपत बढ्न गई स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ ।

प्रोजेक्टका परिकल्पनाकार तथा व्यवस्थापक प्रभात कार्कीका अनुसार पूर्वी नेपाललाई दक्षिण एशियासँग जोड्ने पर्यटन तथा व्यावसायिक प्रवेशद्वारका रूपमा विकास गर्ने अभियानमा एबी हस्पिटालिटी एउटा कोसेढुङ्गा साबित हुनेछ ।

सुधार हुँदै गएको पूर्वाधार र बढ्दो पर्यटकीय सम्भावनाले यस क्षेत्रलाई दक्षिण एशियाकै नवीनतम् पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार गरेको छ ।