एनपीसीआई इन्टरनेशनल र एनसीएचएलले सुरू गरे नेपाल र भारतबीच पी२पी रेमिट्यान्स भुक्तानी

0
Shares

काठमाडौं । भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) तथा नेपालको प्रमुख भुक्तानी पूर्वाधार संस्था – नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) लाई इन्टिग्रेट गरी भारत र नेपालबीचको अन्तरदेशीय डिजिटल भुक्तानीको शुरुवात भएको छ । यो साझेदारीसँगै नेपाल र भारतबीच हुने क्रसबोर्डर रेमिट्यान्स अब रियल टाइम, सुरक्षित र कम मुल्यमा गर्न सकिनेछ । भारतमा रहेका भारतीय र नेपाली प्रयोगकर्ता तथा नेपालमा रहेका भारतीय प्रयोगकर्ताहरुले सहजै व्यक्ति – व्यक्तिबीच (पी२पी) फण्ड ट्रान्सफर गर्न सक्नेछन् ।
हाल केहि बैंकहरुमा उपलब्ध रहेको उक्त सेवा क्रमिक रुपमा अन्य बैंकहरुमा पनि पहुँच विस्तार गरिनेछ । युपीआई–एनपीआई बीचको इन्ट्रिग्रेसनलाई वित्तीय समावेशीकरण, बलियो आर्थिक र डिजिटल सम्बन्धलाई बढावा दिने महत्वपूर्ण कोशेढुङ्गाको रूपमा लिइएको छ । क्रस बोर्डर भुक्तानीलाई सहज तथा पहुँचयोग्य बनाउने जी२०को उद्देश्य अनुरुप यस इन्टिग्रेशनले दुवै देशको फास्ट पेमेन्ट सिस्टमबीच अन्तरआबद्धता स्थापना गर्दै यसले भारत र नेपाल बीचको दीर्घकालिन सामाजिक, संस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप मजबुद बनाउने अपेक्षा गरिएको छ ।
भारतीय तथा नेपाली प्रयोगकर्ताहरुले आफ्‌नो मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट अड्रेस (भीपीए) मार्फत नेपालमा रकम पठाउन सक्नेछन् । त्यस्तै भारतीय प्रयोगकर्ताहरुले नेपालबाट आफ्‌नो यूपीआई आइडी प्रयोग गरी भारतमा रकम पठाउन सक्नेछन् । यस प्रक्रियाले संवेदनशील बैंक खाताको विवरणहरु आदान प्रदान गर्नुपर्ने आवश्यकता हटाउँदै प्रयोगकर्ताहरुलाई सरल, सुरक्षित तथा सुविधाजनक अनुभव प्रदान गर्नेछ ।
यस साझेदारीका सम्बन्धमा एनपीसीआई इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले यस पहल सँगै नवीनतम प्रविधिको उपयोग गर्दै ग्लोबल समुदायको बदलिँदो आवश्यकतालाई पूरा गर्ने प्रतिबद्धता समेत उनले गरे । ‘क्रस बोर्डर रेमिट्यान्सका लागि रियल टाइम, कम मुल्य तथा सुरक्षित माध्यम निर्माण गर्दै हामीले दुवै देशको रेमिट्यान्सलाई सरल बनाउनका साथै वित्तीय समावेशीतालाई पनि प्रोत्साहन हुने अपेक्षा गरेका छौं’ उनले भने ।
उक्त नवीन सेवामार्फत, युपीआई–एनपीआई बीचको इन्ट्रिग्रेसनले कारोबारहरु रियल टाइममै सम्पन्न हुनेछ जसले रेमिट्यान्समा निर्भर हुने लाखौं परिवारहरुलाई विशेष सहयोग पुग्नेछ । परम्परागत क्रसबोर्डर रेमिट्यान्स प्रणालीसँग सम्बन्धित लागतलाई कम गर्दै यो नयाँ सेवाले क्रसबोर्डर रकम पठाउने व्यक्ति तथा परिवारहरुलाई पारदर्शी तथा प्रभावकारी सेवा उपलब्ध गराउने छ ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले नेपाल र भारत बीचको सहकार्य मार्फत रियल टाइम र सुविधाजनक रियल टाइम क्रस बोर्डर फण्ड ट्रान्सफर सुरुवातले दुवै देशका लाखौं व्यक्ति तथा व्यवसायहरुलाई समावेश गरिएको बताए । उनले भने,‘नवीनतम प्रविधि तथा थप सेवाहरु विस्तार गर्दै दुवै देशका लाखौं व्यक्ति तथा व्यवसायहरुलाई समावेश गर्नुका साथै पहुँच बढाउन सहकार्य गर्न प्रतिवद्ध छौँ ।’
एनपीसीआई इन्टरनेशनल र एनसीएचएलबीचको यस सहकार्यले भारत–नेपालबीचको आर्थिक करिडोरलाई थप सशक्त बनाउनुका साथै डिजिटल पेमेन्टको क्षेत्रमा एक महत्वपूर्ण कदमको सुरुवात भएको छ ।
यस पहलले दुवै देशको वित्तीय प्रणालीलाई दिगो र सुद्दढ गर्नुका साथै सुरक्षित र पारदर्शी गर्दै लानेछ । यो सहकार्यमार्फत भारत र नेपालले अन्तरआवद्ध, रियल टाइम भुक्तानी प्रणालीको एक प्रभावकारी मोडल निर्माण गरेको छ जसलाई अन्य देशहरुले पनि अनुसरण गर्न सक्ने अपेक्षा गरिएको छ ।