सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र

49
Shares

सिन्धुली । ‘सिन्धुली सम्पदा संरक्षण र दिगो पर्यटन श्वेतपत्र-२०८३’ जारी गरिएको छ ।

सिन्धुलीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय सम्पदाको दिगो संरक्षण तथा व्यवस्थापनका लागि नागरिक स्तरबाट तयार गरिएको श्वेतपत्र आइतबार सिन्धुलीमाढीमा आयोजित उच्चस्तरीय गोलमेच संवादका बीच जारी गरिएको हो ।

उक्त श्वेतपत्र तथा नीतिगत मागपत्र प्रमुख सम्पदाप्रेमी भीम विक्रम थापाले सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य आषिश गजुरेललाई हस्तान्तरण गरेका हुन् ।

श्वेतपत्र ग्रहण गर्दै सांसद गजुरेलले सिन्धुलीको ऐतिहासिक सामरिक पहिचान र पर्या-पर्यटनलाई राष्ट्रिय नीति एवं बजेटमा समेट्न आफूले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

श्वेतपत्रमा सिमेन्टकरण र व्यापारीकरणमा पूर्ण रोक लगाउन माग गरिएको छ । सिन्धुलीगढी, हरिहरपुरगढी र ऐतिहासिक ढुङ्गेबजार क्षेत्रमा पुरातात्विक मर्यादा विपरीत भइरहेका आधुनिक भौतिक निर्माण र जथाभाबी सिमेन्टको प्रयोगलाई तत्काल रोक्नुपर्ने विषय त्यसमा समेटिएको छ । पुराना बङ्कर, कोतघर, मन्दिर तथा रैथाने काठे बार्दलीहरूलाई ‘जस्ताको तस्तै’ संरक्षण गर्ने प्रतिबद्धता श्वेतपत्रमा जनाइएको छ ।

त्यस्तै, इतिहासविद्हरूको तथ्यका आधारमा सिन्धुलीगढी युद्धको वास्तविक विजय तिथिलाई नै आधिकारिक रूपमा स्थापित गरी आगामी वर्षदेखि भव्य रूपमा ‘विजय दिवस’ मनाउन पालिकाहरूले नीतिगत निर्णय गर्नुपर्ने सङ्कल्प पारित गरिएको छ । श्वेतपत्रमा सुनकोशीमा अवैध क्रसर दोहन रोकी साहसिक राफ्टिङ र माझी समुदायको डुङ्गा सफारी सञ्चालन गर्ने, मरिणमा दनुवार हस्तकलाका लागि ‘डिजिटल क्राफ्टिङ ल्याब’ स्थापना गर्ने, चुरेमा चरा अवलोकन ट्रेल बनाउने र बीपी राजमार्गमा बिचौलिया-मुक्त ‘स्मार्ट हाटबजार’ सञ्चालन गर्ने विषयलाई बजेटमा समेट्न पालिकाहरूलाई आग्रह गरिएको छ ।

कार्यक्रममा होटल एसोसिएसन सिन्धुलीका अध्यक्ष चन्द्र देश श्रेष्ठले जिल्लाका सम्पदाहरूको संरक्षण गर्दै दिगो पर्यटन विकास र ग्रीन हस्पिटालिटीका लागि वर्षैभरी सञ्चालन गरिने विशेष पर्यटन प्रवर्द्धन कार्यतालिका बनाएर काम अघि बढाउने घोषणा गरे ।

सिन्धुलीको प्रवर्द्धनका लागि वर्षैभरी विभिन्न कार्यक्रम गर्ने तालिका अघि सारिएको छ । जस अनुसार असोज १५ मा सिन्धुलीगढी विजय उत्सवमा ‘ग्रीन हस्पिटालिटी’ अभिमुखीकरण र परम्परागत तथा आदिवासी माझी र दनुवार खानाका परिकारहरूको देशव्यापी प्रवर्द्धन गरिनेछ ।