अमेरिका र चीनबीच एआईको प्रतिस्पर्धामा प्रविधिभन्दा सस्तो बिजुलीले तय गर्नेछ विजेता

63
Shares

एजेन्सी । कृत्रिम बुद्धिमत्ता (एआई) को विश्वव्यापी प्रतिस्पर्धा उत्कृष्ट सफ्टवेयर वा स्मार्ट मशिनमा मात्र सीमित रहेन ।

यो प्रतिस्पर्धा अब कसले सस्तो र सुलभ ऊर्जा उपलब्ध गराउन सक्छ भन्ने बिन्दुमा आइपुगेको छ । हालै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले प्रत्येक अमेरिकी नागरिकलाई एआई कम्पनीहरूको हिस्सेदार बनाउने जुन घोषणा गरेका छन्, त्यो सुन्दा उदार लागे पनि वास्तवमा यो चीन विरुद्धको एक रणनीतिक प्रतिरक्षात्मक कदम हो । अमेरिकाले वर्षौंदेखि एआई क्षेत्रमा कायम राखेको आफ्नो वर्चस्व चीनले खोस्न लागेको डरका बीच यस्ता योजनाहरू अघि सारिएका हुन् ।

एआई हाल संसारकै सबैभन्दा मूल्यवान् व्यवसाय त हो, तर यो सबैभन्दा बढी घाटा बेहोर्ने उद्योग पनि बनिरहेको छ ।

उदाहरणका लागि, ओपन एआईले मात्रै यस वर्ष १४ अर्ब डलर गुमाउने प्रक्षेपण गरिएको छ । एउटा एआई मोडललाई तालिम दिन बिजुलीको बिल बाहेक पनि अर्बौं डलर खर्च हुने गर्छ ।

सामान्य व्यावसायिक दृष्टिकोणबाट हेर्दा यति धेरै घाटा हुने उद्योग धराशायी हुनुपर्ने हो तर यहाँ ठ्याक्कै उल्टो भइरहेको छ । अमेरिकी सरकार र राजनीतिज्ञहरू यस क्षेत्रमा लगानी गर्न तम्सिएका छन् । रोचक त के छ भने, दक्षिणपन्थी ट्रम्प र कट्टर वामपन्थी बर्नी स्यान्डर्स जस्ता विपरीत ध्रुवका नेताहरू पनि एआईमा सरकारी स्वामित्व हुनुपर्ने कुरामा सहमत देखिएका छन् ।

यी दुई कट्टर विरोधी नेताहरूलाई एउटै बिन्दुमा ल्याउने मुख्य कारण एआईलाई चाहिने अदृश्य इन्धन अर्थात् बिजुली नै हो । एआईका लागि चाहिने ठूला डेटा सेन्टरहरूले एउटा सानो शहर बराबरको बिजुली खपत गर्छन् ।

अमेरिकामा अहिले पैसा वा मशिनको अभाव भन्दा पनि विद्युत् आपूर्तिको ठूलो समस्या देखिएको छ । तथ्यांक अनुसार, अमेरिकामा एउटा डेटा सेन्टरलाई विद्युत् ग्रिडमा जोड्न ४ देखि १० वर्षसम्म लाग्ने गरेको छ ।

पूर्वाधारको यही सुस्त गतिका कारण अमेरिकाले यस वर्ष योजना बनाएका आधा एआई केन्द्रहरूको काम सुरु हुनुअघि नै रोकिएका छन् ।

ठ्याक्कै यही मोडमा चीनले अमेरिकालाई गम्भीर चुनौती दिइरहेको छ । ऊर्जा उत्पादनमा चीनले अमेरिकालाई धेरै पछाडि पारिसकेको छ । चीनले अमेरिकाको तुलनामा दोब्बर बिजुली उत्पादन गर्छ र गत वर्ष मात्रै अमेरिकाको भन्दा आठ गुणा बढी नयाँ उर्जा क्षमता विस्तार गरेको छ ।

नतिजास्वरूप, चीनमा एउटा डेटा सेन्टरले तिर्ने बिजुलीको महसुल अमेरिकाको तुलनामा आधा भन्दा पनि कम छ । चिनियाँ सरकारले यस खर्चलाई अझ घटाउन अनुदान दिइरहेको छ जबकि अमेरिकामा बिजुलीको मूल्य मुद्रास्फीति भन्दा तीव्र गतिमा बढिरहेको छ ।

एआई प्रविधि पानी जस्तै हो । यो सस्तो र प्रचुर ऊर्जा भएको ठाउँतर्फ स्वतः बग्ने गर्छ । एआईको मस्तिष्क अमेरिकामा भए पनि त्यसलाई चलाउने इन्धन अर्थात् बिजुलीको स्रोतमा चीन बलियो हुँदै जाँदा अमेरिकामा चिन्ता बढेको हो । बिजुली बिना जतिसुकै शक्तिशाली मशिन पनि काम नलाग्ने हुन्छ ।

अमेरिकाले यसलाई बजारको भरमा मात्र छोडिदियो भने सस्तो ऊर्जाका कारण चीनले यो दौड जित्ने निश्चित छ । एआईको क्षेत्रमा पराजित हुनु भनेको एउटा उद्योग मात्र गुमाउनु नभई पूरै शताब्दीको नेतृत्व गुमाउनु हो । यो अमेरिकाका लागि स्वीकार्य छैन ।

त्यसैले अहिले अमेरिकी सरकारले यी कम्पनीहरूमा राज्यको बलियो जग बसाल्न खोजिरहेको छ । सेयर लिने, पुँजी उपलब्ध गराउने र आणविक ऊर्जा प्लान्टहरूसँग सम्झौता गर्ने जस्ता काम भइरहेका छन् ।

नागरिकलाई एआईको हिस्सेदार बनाउने ट्रम्पको योजनाले भविष्यमा एआईका कारण रोजगारी गुमाउने लाखौं मानिसहरूको आक्रोशलाई शान्त पार्ने लक्ष्य राखेको छ । अर्कोतर्फ, सरकारले कम्पनीमा शेयर लिँदा नाफा मात्र पाउँदैन । उसले कम्पनीको निर्णय प्रक्रिया र दिशानिर्देश गर्ने शक्ति पनि प्राप्त गर्छ । यो मुनाफाको कुरा मात्र नभई राष्ट्रिय नियन्त्रणको विषय हो ।

एआई अब एउटा कम्पनीको मात्र मामिला रहेन । यो राष्ट्रको भविष्यसँग जोडिएको छ । विगतमा तेल र आणविक ऊर्जामा जस्तै अहिले एआईमा पनि राज्य साझेदार बन्न पुगेको छ ।

विडम्बनाको कुरा त के छ भने अमेरिकाले वर्षौंसम्म चीनलाई निजी क्षेत्रमा राज्यले हस्तक्षेप गरेको भन्दै आलोचना गर्थ्यो तर आज चीनलाई नै पराजित गर्न अमेरिका आफैं त्यही चिनियाँ मोडल अपनाउन बाध्य भएको छ ।