
काठमाडौं । ओलिज स्टोर प्रालिको व्यापार १३ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १३.१९ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ३१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२५ मा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ८५ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ५२ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा ८३ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् २०१० देखि विभिन्न प्रकारका ग्याजेट तथा एक्सेसोरिजको कारोबार गर्दै आएको यस कम्पनीले फोन, ल्यापटप, क्यामरा, ड्रोन आदि आयात गरी नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ । कम्पनीले एप्पल इन्कका उत्पादन (प्रोडक्ट) आयात गरी कारोबार गर्दै आएको हो । देशभर १५ वटा खुद्रा पसल रहेको यस कम्पनीमा चेतनप्रसाद ओलीको ५० प्रतिशत र लोकेश ओलीको ५० प्रतिशत स्वामित्व छ ।
कुल सञ्चालन आम्दानी पछिल्ला तीन आर्थिक वर्षहरूमा निरन्तर सुधार हुँदै गएको छ । कम्पनीको कारोबार सन् २०२२ मा ८५ करोड ४० लाख रुपैयाँबाट बढेर गत आवमा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँ पुगेको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा ४४ प्रतिशतले घटेको थियो । नेपाल सरकारले अप्रिल २०२२ देखि सन् २०२२ को डिसेम्बरसम्म ६ सय अमेरिकी डलरभन्दा माथिका मोबाइल फोनसहित विलासी तथा गैर–आवश्यक वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको थियो । जसले गर्दा व्यापारमा कमी आएको कम्पनीको भनाइ छ ।
त्यसैगरी, कम्पनीले पछिल्ला पाँच वर्षमा कम्पनिको नाफा मार्जिन करिब १ प्रतिशतदेखि ३ प्रतिशतसम्म खुद नाफा कमाएको छ । गत आवमा कम्पनीले १.३९ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा ३.२३ प्रतिशत खुद नाफा कमाएको थियो ।
चेतनप्रसाद ओली अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ करोड ८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६८ करोड ९१ लाख रुपैयाँको रेटिङ गराएको हो ।









प्रतिक्रिया