
एजेन्सी । विश्वको सर्वाधिक लोकप्रिय मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई मध्यनजर गर्दै एउटा नयाँ फिचर सार्वजनिक गरेको छ ।
यसअघि फोटो र भिडियोका लागि मात्र उपलब्ध रहेको ‘भ्यू वन्स’ सुविधालाई अब सामान्य टेक्स्ट मेसेजमा पनि विस्तार गरिएको छ । यो नयाँ फिचरको आगमनसँगै प्रयोगकर्ताले पठाएका सन्देशहरू प्राप्तकर्ताले एक पटक पढेपछि च्याट बक्सबाट स्वतः र स्थायी रूपमा मेटिनेछन् ।
यसले विशेषगरी गोप्य र संवेदनशील जानकारीहरू सुरक्षित रूपमा आदानप्रदान गर्न चाहने प्रयोगकर्ताहरूलाई ठूलो राहत दिने देखिएको छ ।
यो फिचरको मुख्य विशेषता भनेको यसमा रहेको कडा सुरक्षा प्रणाली हो । ह्वाट्सएपका अनुसार, ‘भ्यू वन्स’ मुडमा पठाइएका टेक्स्ट मेसेजहरूलाई प्राप्तकर्ताले फर्वार्ड गर्न, कपी गर्न वा सेभ गर्न पाउने छैनन् ।
अझ गोपनीयतालाई थप सुदृढ बनाउन यस्ता मेसेजहरूको स्क्रिनसट लिन समेत नमिल्ने बनाइएको छ । प्रयोगकर्ताले कुनै मेसेज टाइप गरिसकेपछि ‘सेन्ड’ बटनलाई केही बेर थिचेर यो विशेष विकल्प छनोट गर्न सक्नेछन् । यो प्रक्रियाले गर्दा पठाएको जानकारी एक पटक हेरिसकेपछि सुरक्षित रूपमा नष्ट हुने सुनिश्चित गर्दछ ।
मेटाको स्वामित्वमा रहेको ह्वाट्सएपले यो फिचर विशेषगरी बैंकका पासवर्ड, व्यक्तिगत ठेगाना वा अन्य निजी विवरणहरू पठाउनका लागि उपयोगी हुने बताएको छ ।
डिजिटल सुरक्षाको बढ्दो चुनौतीका बीच ह्वाट्सएपले ल्याएको यो अपडेटलाई प्रयोगकर्ताको गोपनियता जोगाउने एउटा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ ।
यो नयाँ सुविधा एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्मका प्रयोगकर्ताहरूका लागि चाँडै नै पूर्ण रूपमा उपलब्ध हुनेछ, जसले गर्दा भविष्यमा च्याट हिस्ट्रीमा संवेदनशील कुराहरू रहिरहने डर समाप्त हुनेछ ।









प्रतिक्रिया