सिमानाबारे प्रधानमन्त्रीको विवादास्पद टिप्पणीविरुद्ध श्रम संस्कृति पार्टी सडकमा, माइतीघरमा खबरदारी सभा

42
Shares

काठमाडौं। नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको हालैको अभिव्यक्तिलाई लिएर श्रम संस्कृति पार्टीले शनिवार राजधानीको माइतीघर मण्डलामा उत्रिएर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ।

प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति राष्ट्रिय अखण्डता र हित विपरीत रहेको ठहर गर्दै पार्टीले उक्त भनाइ तत्काल फिर्ता लिन माग गरेको हो।

प्रदर्शनकारीहरूले ‘नेपाली माटोको रक्षा गरौं’, ‘राष्ट्रको सम्मान जोगाऔ’ र ‘गैरजिम्मेवार अभिव्यक्ति बन्द गर’ जस्ता चर्का नाराबाजी गर्दै प्लेकार्डहरू प्रदर्शन गरेका थिए।

खबरदारी सभालाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको तहबाट सदन जस्तो गरिमामय ठाउँमा तथ्यहीन र गैरजिम्मेवार कुरा आउनु दुःखद भएको बताए।

उनले भने, ‘विश्वका धेरै देशहरूमा सीमा सम्बन्धी समस्या हुन सक्छन्, तर सीमा विवाद हुनु र सिमाना मिच्नु पूर्णतः फरक कुरा हुन्। आफ्नै देशलाई दोषी देखाउने प्रधानमन्त्रीको तर्क स्वीकार्य छैन।’

सांसद राईले राष्ट्रियताको सवालमा आफूहरूले सदन र सडक दुवै ठाउँबाट कडा अडान लिने चेतावनी समेत दिए। विरोध कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।