
काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भारत भ्रमणलाई अनावश्यक आशंका र शंकाको दृष्टिले हेर्न नहुने बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले बदलिँदो विश्व परिस्थितिमा नेपालको परराष्ट्र नीतिका प्रमुख आधार भूराजनीति र भूअर्थनीति हुने बताउँदै सत्ताधारी दलका सभापतिको भारत भ्रमणलाई सकारात्मक ढंगले बुझ्नुपर्ने बताएका छन्।
‘बदलिँदो विश्व परिस्थितिमा हाम्रो परराष्ट्र नीतिका निर्णायक पक्ष भूराजनीतिक र भूआर्थिक नै हुनेछन्। त्यस अर्थमा सत्ताधारी दलका सभापतिको भारत भ्रमणलाई अनावश्यक आशंकाभन्दा सकारात्मक ढंगले नै बुझ्नु उपयुक्त हुन्छ,’ भट्टराईले लेखेका छन्।
उनले कूटनीतिक सम्बन्ध सुदृढ बनाउन राजनीतिक नेतृत्व, राज्य संयन्त्र र नागरिक समाजबीच समन्वय आवश्यक रहेको पनि बताएका छन्।
गाउँले किसानको उदाहरण दिँदै उनले राजनीतिक नेतृत्वले नयाँ पहल गर्ने, राज्य संयन्त्रले त्यसलाई कार्यान्वयन गर्ने र नागरिकले सहयोग गर्ने वातावरण बनेमा कूटनीतिमा राम्रो परिणाम प्राप्त गर्न सकिने धारणा व्यक्त गरेका छन्।
भट्टराईले नेपालको उत्तरी छिमेकी सँगको सम्बन्धमा ध्यान दिन सरकार र सत्ताधारी दललाई सुझाव दिँदै वर्तमान बहुध्रुवीय विश्व व्यवस्था र नेपालको भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै क्रमशः भारत, चीन, अमेरिका लगायत प्रमुख शक्ति राष्ट्रहरूसँग सन्तुलित र सुमधुर सम्बन्ध कायम राख्ने नीतिमा सरकार दृढ रहनुपर्ने बताएका छन्।









प्रतिक्रिया